[आत्मालाप] हजारौँ इच्छाहरू

- जीवन क्षत्री

तिहारको साँझ, ०७४ । पक्की बाटोको किनारबाट एकनास हिँडिरहेको छु । बाटोका दुवैतिरका घरहरु बत्तीले झिलीमिली पारिएका छन् । काँधमा यही दसैँमा किनिएको क्यामेरा झुन्डिइरहेको छ । बाटोको झिलीमिली हेर्दा लाग्छ– दुनियाँमा दु:ख, निराशा, कुण्ठा, अपमान र घृणा भन्ने कुरै छैन । मानौँ, मानव जातिका आँखा खुलेर अब संसार आन्तोन चेखवले कल्पना गरेझैँ उज्यालो र प्रेममय भएको छ । तर, यथार्थ त्यस्तो छैन । घरका पिँढीहरुमा एक नजर घुमाउनासाथ मलाई प्रस्ट हुन्छ, घरहरु झकिझकाउ छन्, मानिसका पेट भरि छन्, शरीरमा नयाँ र सुकिला लुगा छन् । तैपनि, न मनको मैलो पखालिएको छ, न त मानिस खुसी हुनुपर्ने यथेष्ट कारण भेट्न सकिरहेका छन् ।

जहाँ देखिने समस्या र संकट छैनन्, त्यहाँ पनि व्यक्तिका अपेक्षा, आकांक्षा र उत्कण्ठाहरुले खुसीको बाटो छेकेका छन् । मानिसलाई भविष्यको चिन्ता लिने फुर्सद छ, अहिलेको सुखका लागि खुसी हुने फुर्सद छैन । चाडबाडको यो रमझम र झकिझकाउ वातावरणले पनि तिनको मन उज्यालिन सकेको छैन ।

टीका ११ बजेपछि भएकाले बिहानैदेखि खाली खाली थिएँ । अरु बेला एक मेलो काम भ्याइसकिन्थ्यो । क्याराभानको लामो आलेख पढेँ । शीर्षक थियो, ‘ड्रग डिल्स’ । नरेन्द्र मोदीको सरकार आएसँगै अमेरिका र त्यहाँका ठूला औषधी कम्पनीलाई खुसी पार्ने ध्याउन्नमा सस्ता ‘जेनेरिक’ औषधीको विश्व राजधानी मानिने भारतले कसरी थाहै नदिई आफ्ना नीति परिवर्तन गर्दै थियो । कसरी विश्वभरका करोडौँ बिरामी जीवनदायी औषधीबाट वञ्चित हुँदै गइरहेका थिए भन्नेबारेमा अघिल्लो वर्ष छापिएको जानकारीमूलक र मर्मस्पर्शी आलेख थियो त्यो । नियम र कानुनको चस्मा लगाएर हेर्दा त्यो एउटा सैद्धान्तिक विवादजस्तो देखिन्छ । तर, जीवन र मृत्युको दोसाँधमा रहेका मानिसका आँखाबाट हेर्दा त्यो विवाद अर्कै देखिन्छ । एउटा राज्यले लिने यो वा त्यो नीतिले उनीहरुलाई जीवन र मृत्युमध्ये एक रोज्न बाध्य पार्छ । 

टीकापछि सिनेमाको पालो थियो । हंसल मेहताको अलिगढ २०१५ मा सबैभन्दा राम्रो समीक्षा पाउने केही भारतीय सिनेमाहरुमध्ये एक थियो । समलिंगी पुरुष पात्रमा केन्द्रित यो सिनेमा हेर्न म किन पनि इच्छुक थिएा भने १९९६ को दीपा मेहता निर्देशित चलचित्र फायर असाध्यै मन परेको थियो । बहुसंख्यकको सत्यलाई सबैको सत्य मानिने समाजमा आम मानिसभन्दा फरक यौनिकता हुने अल्पसंख्यक कसरी प्रताडित हुन्छन् र उनीहरुका पीडा र भावना हामीलाई कसरी मानव जातिलाई समग्रतामा बुझ्न सघाउँछ भन्ने फायर हेर्दा महसुस गरेको थिएँ । 

अलिगढमा चित्रित समलिंगी प्राध्यापकको पीडा जति गहिरो थियो, भारतलाई छोप्दै गरेको अनुदारवादको लहरका कारण त्यहाँका समलिंगी र अन्य अल्पसंख्यकहरुको वास्तविक पीडा अहिले त्यसभन्दा पनि निकै गहिरो छ । अलिगढको सार्थकता भनेकै आम दर्शकलाई त्यस्ता अल्पसंख्यकको भावना बुझ्न र कदर गर्न सिकाउनु हो ।

अहिले त्यो चलचित्र फेरि एकपल्ट किन पनि सान्दर्भिक भएको छ भने भारतको सर्वोच्च अदालतले अगस्त २०१७ को एउटा ऐतिहासिक फैसलामार्फत यौनिकतासमेत व्यक्तिको नितान्त निजी मामला भएको र त्यसका आधारमा विभेद र अपमान गरिनु मानवीय मर्यादाको खिलाफ भएको फैसला गरेको छ । यसअगाडि समलिंगीलगायतका अप्राकृतिक यौन सम्बन्धलाई अवैध ठहर्‍याउने भारतीय संविधानको धारा ३७७ मा अंकुश लगाउने दिल्ली उच्च अदालतको सन् २००९ को फैसला, जस अनुसार वयस्क समलिंगी सम्बन्ध अवैध हुँदैनथ्यो, त्यसलाई सर्वोच्च अदालतले ०१३ मा उल्ट्याउादै त्यस्तो सम्बन्धलाई फेरि अवैध बनाइदिएको थियो । ०१७ को पछिल्लो फैसलाले ०१३ को फैसलालाई प्रत्यक्ष उल्ट्याएन । तर, नौ जना न्यायाधीशको पूर्ण इजलासको यो फैसलापछि धेरै विभेदकारी प्रावधान उल्ट्याउन बाटो खुलेको भन्दै अधिकारवादी आशावादी छन् ।

अलिगढ हेरिसकेपछि क्यामेरा लिएर म गन्तव्यहीन भएर निस्केँ । मनमा अझै समलिंगी प्रोफेसरको भूमिका खेलेका मनोज वाजपेयीको अभिनयको बारम्बार झझल्को आइरहेको थियो । साँझ पर्दा म नारायणी किनारमा थिएँ । नदी–किनार यस्तो ठाउँ हो, जहाँ मानिसले भीडमा पनि केही खुलापन महसुस गर्छ । साँझका केही तस्बिर खिचेर एकछिन बरालिएपछि म सधैँ कामबाट घर फर्कने बाटो पैदलै लागेँ । 

                                                                                       ...

म अलिकति महत्वाकांक्षी नै छु । जुन दिन गायक बनूँला, त्यस दिन सुरुमा शंकर महादेवनको ‘ब्रेथलेस’ नै गाउनुपर्ला भनेर फोनमा उनको गीतको अडियो–भिडियो र काराओके धुन बोकेरै हिँड्ने गर्छु । सुरुमा उनको गीत बज्छ, सके जति ताल मिलाएर गाउँछु, सायद समग्र गीतको ५ प्रतिशतजति । 

केही पटक गाएर हार खाएपछि अगाडि बढेको पंकज उदासको ‘चाँदी जैसा रंग हैं तेरा’ भन्ने गीतको धुन आउाछ । यसका शब्द राम्रैसँग आउने हुँदा बाटो वरपरका मानिसले समेत सुन्ने गरी गाउँछु । यसै पनि भैलोको होहल्लामा मेरो गीत सुन्ने फुर्सद पो कसलाई छ र ! सुनेर कसैले गुनासो गरे पनि मैले त्यो सुन्ने गुञ्जायस नै थिएन । 

त्यसपछि आउँछ जगजीतकै अर्को गजल, जसको सुरुआती धुन सुन्दासुन्दै वरिपरिका सबै दृश्य पग्लिएलान् र समयको अन्त होलाजस्तो हुन्छ । अहो, संगीतको शक्ति ! अहिलेका मानिसलाई निर्वाणको सबैभन्दा नजिक पुर्‍याउने कुनै माध्यम छ भने त्यो संगीत नै हो । कानमा सारंगीको एकल स्वर यसरी गुन्जिन्छ कि त्यसको झंकार मनको कुनाकुनासम्म पुगेर गहिरो मिठास छाडेर विलीन हुन्छ । अनि, मधुर स्वरमा जगजीत गाउँछन् :

दिल ही तो हे, न संग–ओ–खिस्त दर्द से भर न आए क्यूँ

रोएँगे हम हजार बार, कोई हमें सताए क्यूँ । 

अर्थात्, यो ढुंगा वा इाटा होइन, मन हो, आखिर किन नरोओस् । सन् १७९७ देखि १८६९ सम्म बाँचेका विख्यात उर्दू कवि मिर्जा गालिबको जीवनमा आधारित गुलजारको १९८८ को टेलिशृंखला मिर्जा गालिबमा आबद्ध छ यो विख्यात गजल । फेरि एकपल्ट आफ्नो नवजात शिशुको मृत्युपछि विक्षिप्त बन्न पुगेका गालिबको (उनका सातमध्ये सातै नवजात शिशु खेर गएका थिए) भूमिकामा रहेका नसिरुद्धिन शाहले यो गजल गाउँछन् :

कैद–ए–हयात–ओ–बंद–ए–गम, असल में दोनों एक हैं

मौत से पहेले आदमी, गम से निजात पाए क्यों । 

अर्थात्, जीवनको जेल र पीडाको बन्धन एउटै कुरा हुन् । आखिर, मृत्युभन्दा अगाडि मानिसले पीडाबाट मुक्ति कहाँ पाउन सक्छ र ! 

लगत्तै लताको सुरिलो सुरमा घन्किन्छ: ‘दिल तो हे, दिल....’ । बाटो कतिखेर कट्यो पत्तै हुँदैन । एकैछिनमा म घर पुग्नेछु र संसारका सबै राम्रा र रमाइला क्षणजस्तै यी श्रुतिमधुर गीत सुन्दै हिँड्ने आनन्दको क्षण सकिनेछ भन्ने कुराले मनमा च्वास्स हुन्छ । 

कानमा अब जगजीतकै अर्को मधुर गीत ‘एक प्यारका नग्मा हैं’ को धुन बज्न थालेको छ र मेरा ओठ थाहै नपाई त्यसमा ताल मिलाएर गाउन थालेका छन् । 

कुछ पाकर खोना हे, कुछ खोकर पाना हैं

जीवनका मतलब तो आना और जाना हैं

दो पलके ए जीवन से, इक उम्र चुरानी हैं,

जिन्दगी और कुछ भी नहीं, तेरी मेरी कहानी हैं,

एक प्यारका नग्मा हैं...

प्लटिङको भित्री सुनसान बाटो सकिएर धुलाम्य मूल सडकमा पुग्नासाथै संगीत सन्ध्याको आनन्द धूलो र हर्नको कोलाहलले स्वाट्टै घट्छ । तबसम्म म अर्को एउटा गीतमा जगजीतसित ताल मिलाएर गाइरहेको हुन्छु : 

हजारों ख्वाहिशें ऐसे, कि हर ख्वाहिश पे दम निकले

बहुत निकले मेरे अरमाँ, लेकिन फिर भी कम निकले । 

अर्थात्, हजारौँ इच्छा छन्, जसमध्ये हरेकका लागि मर्न सकिन्छ । धेरै इच्छा पूरा भए तर ती पनि कमै रहे । मानवीय भावनाका विरोधभासलाई अझ गहिरोसँग उधिन्दै गालिब लेख्छन् :

मुहब्बत में नहीं हे, फर्क जीने और मरने का

उसी को देख कर जीते हैं, जिस काफिर पे दम निकले

कहाा मयखाने की दरबाजा ‘गालिब’ और कहाँ वाइज

पर इतना जानते हैं, कल वह जाता था के हम निकले...

हिँड्दाहिँड्दै पानीका  केही ससाना थोपा हातको नांगो छालामा पर्छन् । आकाशतिर हेर्छु, आध्यारो छ, धर्तीका घरहरुको झिलीमिलीले उसलाई छोएको छैन, संसारै जितेको ठान्ने र पृथ्वीलाई कैयौँ पटक विनाश गर्न पुग्ने आणविक हतियार बोकेर बसेको घमण्डी मानव जातिको के कुरा गर्नु र ! त्यसमाथि आज त औँशीपछिको तेस्रो दिन । एकाएक मेरा खुट्टा दौडन थाल्छन्, कारण: पानी परिहाल्यो भने क्यामेरा रुझ्छ र ज्यान पनि । चिसो मौसममा नभिजेकै राम्रो । 

एकैछिन दौडेको थिएँ । हेर्छु, बाटोमा कुकुर तनक्क ज्यान तन्काउादै मुख बाइरहेको छ । मेरा कदम ढिला हुन्छन् । तर, यो चिनेको बाटोमा चिनेकै कुकुर हो । रातबिरातसम्म यो बाटो लुखुरलुखुर पैदल हिँडिरहने मानिस सायद यहाँ मबाहेक कमै होलान् । एकपट्टिको इअरफोन खोलेर बिस्तारै म कुकुर कटेर अगाडि पुग्छु र फेरि दौडन थाल्छु । 

घर पुग्छु तर पानी पर्दैन । जीवनका अरु मिथ्याजस्तै यो हिउँदमा आउन सक्ने वर्षाको डर पनि मिथ्या थियो । मानिसका अनेक अतृप्त इच्छाजस्तै एकाध थोपा बर्सिएपछि वर्षातले पनि अतृप्तिमै चित्त बुझाएको थियो ।

घरभरि मानिस छन्, तिनका अनुहार नियाल्छु, हजारौँ इच्छा त्यहाँ प्रतिविम्बित छन् । सायद गालिबले ठीकै लेखेका हुन् : हजारों ख्वाहिशें ऐसी...

प्रकाशित: भाद्र २८, २०७५

ट्याग: साहित्य