[तीन किताब] अन्तिम सत्य

- कृष्ण गौतम

हामी सदैव अन्तिम सत्यबारे जान्न उत्सुक हुन्छौँ । वेदान्तीहरूले निर्गुण ब्रह्म र बौद्धमार्गीले शून्य भने । यी दुवै लगभग उस्तै हुन् । सांख्यले अन्तिम सत्य प्रकृतिलाई मान्यो । तर, प्रकृतिको काम पुरुष/आत्मालाई मुक्ति दिनु हो । मान्छेलाई संसार, आयु र भविष्यबारे सोच्न बेलाबेला घचघच्याउँछ ।

केही दार्शनिकले संसारलाई प्रक्रिया मात्र ठानेकाले अन्तिम सत्यतिर लाग्नु उचित सम्झेनन् । तर, फ्रान्सिस फुकुयामाले इतिहास, राजनीति र अर्थशास्त्रमा आफ्नो अन्तिम व्याख्या दिए । उदार प्रजातन्त्र र उदार अर्थतन्त्र नै अहिलेका मान्छेको लक्ष्य हुने उनको निष्कर्ष छ ।

अमेरिकी चिन्तक फुकुयामा परम्परावादी भए पनि उनको चिन्तन उपयोगी छ । इन्ड अफ हिस्ट्री एन्ड लास्ट म्यानमा उनले माक्र्सले जस्तै अन्तिम सत्यबारे जानकारी दिने प्रयत्न गरेका छन् । मान्छेमा इच्छाशक्ति, बौद्धिक शक्ति र पहिचानको चाहना हुन्छ । स्वामीसँगको भिडन्तमा हार खाएपछि सेवकहरुले प्रविधिको विकास गरे । प्रविधिको चरम विकासपछि प्रजातन्त्र आयो । प्रजातन्त्रमा स्वामी र सेवकले आ–आफ्नो पहिचान पाएकाले उच–नीचको भेद समाप्त भयो । अल्छी र अलमस्ती मान्छे नै अन्तिम मान्छे भयो । कीर्तिमानी मान्छेभन्दा मोजमस्तीमा रमाउने मान्छेको बहुलता रहने समाज फुकुयामाले देखेका छन् । प्रलय भयो भने आदिम युगतिर जाला समय । नत्र, प्रजातन्त्रको विकल्प देख्दैनन् फुकुयामा । नदीहरु गएर समुद्रमा मिसिन्छन्, इतिहासहरु गएर प्रजातन्त्र र उदार अर्थतन्त्रमा मिल्छन् । फुकुयामाका सबै कुरा मान्नुपर्छ भन्ने छैन । तर, यस्तो विचार मनन गर्न पाउनु पनि अवसर हो ।

मैले नित्सेलाई विद्यार्थीकालमै पढेको हुँ । तर, मेरो पछिल्लो किताब उत्तरसिद्धान्त लेख्दा फेरि दोहोर्‍याएँ । नित्सेका सबै विचार लागू होला–नहोला । तर, विशाल र गहन चिन्तन गर्न सक्नु आफैँमा महत्वपूर्ण हो । दस स्पेक जराथ्रुस्तमा उनले अतिमानवको दृष्टिकोण ल्याए । उनका किताबमध्ये जिनियालोजी अफ मोरल्स मलाई विशेष लाग्छ । उनका अनुसार नैतिकता भनेको शक्तिशालीले हिँडाएको बाटो हो । अत: नैतिकता, सत्य र न्यायको अन्तिम रुप छैन । अनेक चिन्तन भए पनि शक्तिशालीको लट्ठीबाट निर्देशित छ, इतिहास । र, क्रूर पनि छ । इतिहास भनेको एक प्रकारको वधशाला हो ।

नित्सेले भने– समाजलाई सुपरम्यानले निर्देशन गर्छ । नित्सेको सुपरम्यानकै कारण हिटलरले चल्ने अवसर पाए । मान्छे आफ्नो आधिपत्य चाहन्छ भन्ने मनोवैज्ञानिक एडलरको अवधारणाले पनि हिटलरलाई प्रेरित गर्‍यो भन्ने मान्यता जर्मनीमा छ । अहिलेको नैतिकता बथान या भीडको हो । सिर्जनशील गोठालोले नै भीडलाई मार्गनिर्देश गर्न सक्छ । नित्सेको सुपरम्यान त्यही गोठालो हो । डेरिडा, फुको, डी म्यान आदिका प्रेरक पनि नित्से नै थिए । सनातन पुनरावृत्तिको सम्भावनालाई प्राथमिकता दिँदै चक्रवात सिद्धान्त अगाडि सारे । र, उनले अर्को सिद्धान्त पनि ल्याए– परिप्रेक्ष्यवाद । नित्सेका अनुसार प्रजातन्त्र नोकरहरुको तन्त्र हो ।

स्यामुअल पी हन्टिङटन पनि उच्च कोटिका विद्वान् हुन् । उनको क्ल्यास अफ सिभिलाइजेसन्स एन्ड रिमेकिङ अफ वर्ल्ड अर्डर  चाखलाग्दो छ । शीतयुद्धपछि सभ्यताहरुको द्वन्द्व सुरु भएको र पूर्वमा पनि ज्ञान–विज्ञान विकसित भएको उनको दाबी छ । पश्चिमाले आफ्नो पहिचान–अस्तित्वलाई माया गर्नु जायज छ । तर, पूर्वको चाहनामा दमन गर्नु हुँदैन, औपनिवेशिक दृष्टिले हेर्नु हुँदैन र आधुनिकीकरण भनेको पश्चिमीकरण हो भनी बुझ्नु गलत हुने हन्टिङटनको बुझाइ छ ।

पुख्र्यौली पण्डित परिवारबाट आए पनि मैले अंग्रेजी पढेँ । र, पूर्वीय वाङ्मय र पाश्चात्य दर्शन–साहित्यलाई समानान्तर बढाएँ । विश्वविद्यालयको जागिरका क्रममा मेरो रुचिको अझै विकास भयो । समालोचनातिर लागेपछि सिद्धान्त–दर्शनमा डुबेँ । अध्ययन–यात्रा जारी नै छ ।

प्रस्तुति : गुरुङ सुशान्त

प्रकाशित: भाद्र २८, २०७५

ट्याग: किताब