संगीत र प्रविधि

- विभु लुइटेल

भारतको उत्तरपूर्वी सहर सिलाङमा बस्दा पहिलो पटक इलेक्ट्रोनिक प्रविधिसँग साक्षात्कार गर्न पाए, सनुप पौडेलले । फ्ल्याट फाइबर एन्टेना भएको मर्फीको भीमकाय रेडियोमा उनी त्यहाँका स्थानीय एफएम मात्र नभई रेडियो नेपाल पनि सुन्ने गर्थे । कहिलेकाहीँ आर्मी क्याम्पमा रंगीन टिभी हेर्न पुग्थे । त्यो समय सम्भँmदै भन्छन्, “एक दिन त दिनभरि टिभी हेरेर बसेछु । आमाको खुब कुटाइ खाएँ ।” 

सन् २००७ मा बेलायत गएका बेला सनुपले पहिलो पटक मोबाइल फोन देख्न पाए । स्नेक्स गेम भएको नोकियाको उक्त ह्यान्डसेटले उनको मन लोभ्यायो । नेपाल फर्किएर किनेको नोकिया ६२३० आईको तस्बिर उनको मानसपटलमा अझै ताजै छ । भन्छन्, “१६ हजार रुपैयाँ तिरेर न्युरोडमा किनेको । अहिले त त्यतिमा एउटा स्मार्टफोनै आउँछ ।” 

फोटोग्राफीका सौखिन सनुपले अहिलेसम्म जति फोन किने, राम्रा फोटो आउने मात्रै किने । सोनी इरिक्सन सी–९०५, एचटिसी डिजायर, आइफोन ५–एस, स्याओमीका अनेक फोन प्रयोग गरिसकेका उनी अहिले भने एमआई ए–१ प्रयोग गर्छन् । भन्छन्, “यसको पोट्रेट मोडको फ्यान हुँ । तस्बिर निकै सुन्दर आउँछ ।” त्यसले खिचेका राम्रा तस्बिर उनी इन्स्टाग्राममा अपलोड गरिहाल्छन् । 

गीत रेकर्ड गर्ने प्रविधि अहिले एनालगबाट पूर्ण रुपले डिजिटलमा परिणत भइसकेको छ । भारतको दूरदर्शन च्यानलमा दुई दशकअघि प्रसारित हुने एक कार्यक्रमका लागि उनले पहिलो पटक गीत रेकर्ड गराएका थिए । सम्झन्छन्, “स्पुलमा रेकर्ड गराएको थिएँ । अहिले त गुणस्तरीय डिजिटल रेकर्डिङ प्रविधि आइसके ।”

प्रविधिले रेकर्डिङ त सहज बनाइदिएको छ । तर, गीतमा प्रयोग हुने संगीतलाई भने केही प्रतिकूल असर पारेको उनको अनुभव छ । पहिले संगीतकारका औँला सांगीतिक उपकरणमा बेतोड दौडन्थे । अहिले भने धेरैजसोले डिजिटल स्याम्पल साउन्ड नै प्रयोग गर्ने गुनासो उनी पोख्छन् । भन्छन्, “प्रविधिले ल्याएको नकारात्मक पक्ष हो यो । हिजोआजका धेरैजसो गीत पहिलेका भन्दा निरस सुनिन्छन् ।” 

अहिले एसरको ल्यापटप प्रयोग गरिरहेका सनुप छिट्टै आइप्याड र म्याकबुक खरिद गर्न चाहन्छन् । उनले खरिद गर्न चाहने ग्याजेटको फेहरिस्त लामै छ, अधिकांश त गीतसंगीतसँगै सम्बन्धित छन् । जस्तै, टिसी हेलिकनको भोकल प्रोसेसर । ट्रयाकमा नभई ब्यान्डमा गाउन रुचाउनेका लागि यो फलदायी रहने उनको धारणा छ । टेलर बेबी माहोगनीको गिटार र त्यो बजाउँदाको अनुभव सहज पार्ने एम्प्लिफायर पनि उनको ‘विसलिस्ट’ मा छन् ।

प्रकाशित: भाद्र २८, २०७५