तपसीको जादू

- नेपाल संवाददाता

चस्मे बद्दुरबाट बलिउडमा डेब्यु हुनुअगावै तपसी पन्नु एक दर्जन दक्षिण भारतीय फिल्म खेलिसकेकी थिइन् । तैपनि, तपसीलाई हिन्दी फिल्ममेकरले उतिसारो महफ्व दिएनन्, ‘आउटसाइडर’ जो थिइन् । यो ५ वर्षअगाडिको कुरा हो । अहिले उनी ‘ए’ लिस्टमा दर्ज भइसकेकी छन् । र, यो सबै सम्भव भएको हो, उनको फिल्म चयन र अभिनय कौशलले । तपसीका फिल्म हिट हुँदैनन् मात्र, उनको चरित्रले काफी चर्चा पाउँछन् । दमदार भूमिकामा मात्र देखापर्ने अभिनेत्रीको छवि बनेको छ उनको । उदाहरण अनेक छन् । 

दोस्रो हिन्दी फिल्म बेबीमा भारतीय खुफिया एजेन्सी ‘रअ’ की एजेन्ट बनिन् । भूमिका ठूलो थिएन, अक्षयकुमार, अनुपम खेर, रना दागुबत्तीजस्ता गिनेचुनेका अभिनेताको दबदबा थियो । तर, छोटै भूमिकाबाट तपसी ‘मार्क’ भइन् । यो फिल्म सुटिङ गर्न उनी अक्षयकुमारसँगै नेपाल आएकी थिइन् ।

उनको कामबाट निर्देशक नीरज पाण्डे कतिसम्म प्रभावित भए भने दुई वर्षपछि बेबीको प्रिक्वेल बनाए, नाम शबना । बेबीमा उनको भूमिका कसरी जन्मियो भनेर देखाइएको फिल्ममा सहायक भूमिकामा अरु कोही नभएर अक्षयकुमार थिए । त्यसो त, यसअगाडि नै पिंकबाट बलिउडमा हलचल पैदा गरिसकेकी थिइन् । परिबन्दले बलात्कारमा फसेर न्यायका लागि लडेकी युवतीको प्रभावशाली भूमिकामा थिइन् । यस फिल्मबाट आइफा अवार्डमा ‘वुमन अफ द इयर’ घोषित भइन् । 

सन्  २०१७  तपसीका लागि अझ फलदायी रह्यो । द गाजी एट्याक, रनिङ सादी, जुडुवा २ जस्ता फरक आयामका फिल्म खेल्न पाइन् । यतिबेलाचाहिँ मुल्क र सुर्माबाट सबैका ध्यान तानिरहेकी छन् ।

सकारात्मक समीक्षा बटुलेका दुवै फिल्म व्यावसायिक रुपमा पनि हिट भए । १४ सेप्टेम्बरका अर्को फिल्म मनमर्जियाँ प्रदर्शन हुँदैछ । अनुराग कश्पय निर्देशित यस फिल्ममा उनले स्वतन्त्रताको खोजीमा रहेका आधुनिक भारतीय युवतीको प्रतिनिधित्व गरेकी छन् । प्रकाश झा निर्देशित तड्का र अमिताभ बच्चनसँग स्क्रिन सेयर गरेको बदला पनि रिलिजका क्रममा छन् । अर्थात्, मिहिनेत र इमानदारीले अन्जान बलिउड उद्योगमा तपसीको सफलताको शिखर चुलिँदो छ । विवादबाट टाढा रहने तपसी भन्छिन्, “म मोडलिङमै मस्त थिएँ । फिल्म खेल्ने योजना थिएन तर गर्दै जाँदा यहाँसम्म आइपुगेँ ।”

प्रकाशित: भाद्र २८, २०७५