देश फर्केर...

- नेपाल संवाददाता

आधा शताब्दीपछि नेपाली फिल्म उद्योगमा बल्ल बक्स अफिस लागू भयो, १ साउनबाट । यही बक्स अफिसलाई व्यवहारमा उतार्न अहम् भूमिका रह्यो, मनिष पण्डित, ३८ को । उनी चलचित्र विकास बोर्डमा ‘कन्सल्ट्यान्ट’ नियुक्त भएको दुई महिनामै उपत्यकाभित्र बक्स अफिसले मूर्त रुप पाएको थियो । पण्डित भन्छन्, “सफ्टवेयर परीक्षणदेखि हलसँग समन्वय गर्ने, निर्मातालाई बुझाउनेसम्म काम पूरा गरेपछि मात्र लागू गर्न सम्भव भयो ।”

अमेरिकामा कम्प्युटर इन्फर्मेसन सिस्टम र टेलिकम्युनिकेसन म्यानेजमेन्टमा स्नातक गरेपछि उनी जनरल इलेक्ट्रिक नामक विख्यात कम्पनीमा काम गर्न थाले । कमाइ राम्रो थियो, करिअरले पनि गति लिइरहेको थियो । तर, ‘नेपालमै केही गर्नुपर्छ’ भन्ने भावना घनीभूत हुन थाल्यो । सोही कारण सबथोक छाडेर स्वदेश आए, ९ वर्षअगाडि ।

उद्यममा रुचि भएकाले प्राकृतिक फाइबरका लुगा बनाउन थाले । नेपाली ब्रान्ड प्रचार गर्ने उद्देश्यले ‘हाउस अल्टरनेटिभ अप्यारल’ खोले । लुगा र डिजाइनरको प्रमोसनका लागि ट्रेन्डसेटर्स इभेन्ट सुरुआत गरे र फेसनको दुनियाँमा ख्याति कमाए । फिल्मकर्मीसँग संगत बढ्यो । केही समय नायिका नम्रता श्रेष्ठको म्यानेजर भए । कार्यकारी निर्माताका रुपमा सोल सिस्टरग्याङस्टर ब्लुज बनाए । यसबीच विभिन्न कम्पनीको सफ्टवेयर विभागमा काम गरिरहेकै थिए । यसरी फिल्म र प्रविधि दुवैको ज्ञान भएकाले उनलाई विकास बोर्डले बक्स अफिस लागू गर्न निम्ताएको थियो ।

माघसम्म उपत्यकाबाहिरका सबै हलमा बक्स अफिस लागू गर्ने प्रयासमा छन् पण्डित । उनकै कम्पनीबाट बनेको फिल्म जायरा प्रदर्शनको क्रममा छ । अमेरिका छाडेर दु:ख त लागेको छैन ? पण्डित भन्छन्, “कहिलेकाहीँ उतै भएको भए हुन्थ्यो भन्ने नलाग्ने होइन । तर, पश्चाताप छैन । यहाँ पनि फेसन, फिल्म, आईटी सबै क्षेत्रमा करिअरको ढोका खुल्दैछ ।”

प्रकाशित: भाद्र २६, २०७५

ट्याग: रङ