आवरण कथा : को–पाइलटको निसाना कता ?

  • लामो मौनता अनि चलखेल

- माधव बस्नेत

एउटै हेलिकोप्टरमा जनकपुर पुगेका थिए, प्रधानमन्त्री केपी ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ २ भदौमा । त्यस दिन प्रधानमन्त्री ओलीको प्रदेश २ संसद्लाई सम्बोधन गर्ने कार्यक्रम थियो । खासगरी धनुषाको बर्मझियामा २४ वर्षअघि हत्या गरिएका माओवादी नेता रामवृक्ष यादवको स्मृतिसभालाई सम्बोधन गर्न गएका थिए प्रचण्ड । प्रदेशसभालाई सम्बोधन गरिसकेपछि ओली पनि बर्मझिया पुगेर यादवको स्मृतिसभामा सहभागी भए । त्यहाँ ओलीले प्रचण्डको प्रशंसामा केही शब्द पनि खर्चिए । उनले भने, “प्रचण्डजी परिआए युद्ध गर्न पछि नपर्ने, फेरि आवश्यकता अनुसार शान्तिमा पनि आउन सक्ने बहादुर नेता हो ।”

प्रचण्डलाई पुलकित बनाउने शब्दको फूलवर्षा गरेको एक साताभित्रै ओली किन तिक्तता साँध्ने तहसम्म पुगे ? सत्ताराजनीतिको वरपर हिजोआज यही जिज्ञासा सुरु भएको छ । किनभने, ११ भदौमा बालुवाटार पुगेका सम्पादकहरूसँग ओलीले भनेका थिए, “माओवादीले हिजो यो राजतन्त्रविरुद्ध ‘हामी होइन क्यारे’ भन्दै दरबारमा मान्छे पठाएर साँठगाँठ गरेकै थियो । सेनाविरुद्ध हामी छँदैछैनौँ भनेर विभिन्न जर्नेलहरूसँग साँठगाँठ थियो । ती माओवादी खुल्ला हुनेबित्तिकै मनोनीत सांसद हुन पुगेका पनि थिए । जर्नेल हुँदाखेरि ती मान्छे नेपाली सेनाको जागिर खाएर माओवादी नेतालाई बोकेर कुद्थे गाडीमा । त्यसकारण लिंकेज कसको, कहाँ भनेर भन्न गाह्रो छ । अहिले पनि म व्यक्त गर्दिनँ यो । जहाँ न पहुँचे कवि, वहाँ पहुँचे पत्रकार † तपार्इंहरू जान्नुहुन्छ, मेरो त्यत्रो धेरै एक्सेस छैन ।’

त्यसको ९ दिनपछि अध्यक्ष प्रचण्डले ‘मन्त्रिपरिषद् पुनर्गठन हुन सक्छ । पुनर्गठन गर्दा यो वा त्यो समूह हेरिन्न’ भनेका भए पनि बुझ्न कठिन छैन– उनको असन्तुष्टि प्रधानमन्त्री ओलीमाथि नै हो । मन्त्रीलाई कस्तो निर्देशन दिने, कसरी काम लगाउने सबै जिम्मेवारी प्रधानमन्त्रीकै हो । प्रधानमन्त्रीले दिएको निर्देशन मानेन भने मात्र मन्त्री दोषी हुन्छ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डले जनताले प्रत्याभूत गर्ने गरी योजनाको खाका बनाएर मन्त्रीलाई काम/निर्देशन दिएकै छैनन् । फेरि प्रचण्डले प्रस्टै बुझिने भाषामा भनिरहेका छन्, “जोसुकै परून्, सरकार असफल हुने, पार्टीलाई असफल पार्ने र जनतालाई निराश पार्ने खालका गतिविधि देखिए भने अब हामीले कुनै न कुनै स्टेप चाल्नैपर्छ ।”

सरकारप्रति आम उत्साहको पारो झर्दै गरेको चर्चा हुँदै गर्दा यता प्रचण्डमा बेचैनी सुरु भएको छ । प्रचण्डले सरकारको जुन तहबाट बचाउ गर्न सक्थे, त्यो तहबाट नगर्नुका पछाडि यही विश्लेषण नै कारक हो । यही बेला उनले भारत र चीन भ्रमणको हतारो देखाउनु, सरकारको बचाउमा लोसे पाराले ‘सक्रिय’ हुनु, निकटस्थहरूसँग सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउनुले के संकेत गर्छ ? सार्वजनिक रूपमा समेत सरकारको कामबारे गम्भीर समीक्षा सुरु भइरहेको छ भन्नुजस्ता दृष्टान्तले प्रधानमन्त्रीको कुर्सीमा विराजमान हुन प्रचण्ड ओलीको असफलताको पखाईमा छन् भन्ने पुष्टि हुन्छ । बाहिर जे प्रचार गर्न चाहे पनि प्रचण्डको भारत भ्रमण पनि सन्देहको घेराबाहिर छैन । २१–२६ भदौसम्मको भारत भ्रमण उनले ओलीकै सल्लाहमा दुई दिन छोट्याएका छन् । भारतबाट फर्केको चार दिनपछि ३० भदौमा प्रचण्ड चीन जाँदैछन्, जहाँ उनको चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट हुनेछ ।

प्रधानमन्त्री ओलीले ११ भदौमा बालुवाटारमा करिब एक दर्जनभन्दा बढी सम्पादक निम्त्याएर पोयो फुकाएको नवौँ दिन प्रचण्डले पनि आफ्नो निवास खुमलटारमा केही थान पत्रकार डाकेर बह पोखे । उनले सरकारको प्रतिरक्षा गर्नुको साटो आफ्नै सत्तारोहणका लागि उचित मौका कुरेको आरोप लाग्दै गर्दा सायद सार्वजनिक खपतका लागि बोल्न जरुरी ठाने होलान् । त्यसैले प्रसंगवश भन्दिए, “एउटा पक्षको मन्त्रीलाई छुँदा अर्को पक्षको भनेजसरी सोचिएको छैन । जनतामा बढ्न थालेको निराशा हेर्दा जोसुकै होस्, कदम चाल्नुपर्छ भन्नेतिर नै हाम्रो छलफल केन्द्रित छ ।”

प्रचण्डको सदावहार स्वभाव छ– आफ्ना उकुसमुकुस पोख्नुपर्दा ‘मैले अहिले धेरै बोल्ने परिस्थिति छैन जस्तो लाग्छ, धेरै बोल्ने बेला भएको छैन’ भन्दाभन्दै निकै कुरा ओकल्ने । खुमलटारमा पनि प्रचण्डले पुरानै स्वभाव दोहोर्‍याए । र, स्वीकारे, “दुई अध्यक्षका बीचमा अहिले गम्भीर ढंगले छलफल गर्ने प्रक्रिया सुरु भएको छ । बीचमा ३/४ महिना अलि त्यस्तो गरिएको थिएन । अहिलेचाहिँ चाहे गोविन्द केसीको अनशन होस् या महिला हिंसाका घटनामा कुराकानी सुरु भएको छ ।” दुवै शीर्षस्थको सल्लाहमा छिट्टै कुनै कदम चालिन सक्ने उनको संकेत थियो । कुरो बुझियो, वास्तवमा दुई नेताबीच राम्ररी कुरै भएको रहेनछ ।

यसअघि दुई अध्यक्षबीचको सम्बन्धमा थोरै नै सही, चिसोपन पसेको प्रसंग निस्कँदा नेकपाका नेताहरूले अस्वीकार गरिरहेका थिए । जति बेला प्रचण्ड खुमलटार निवासमा आफूलाई लागेका कुरा बोलिरहेका थिए, त्यही बेला संघीय संसद्मा चाहिँ ओली सरकारको प्रतिरक्षा गर्दै थिए । जानिफकारहरू भन्छन्, दुई को–पाइलटबीच सम्बन्ध न्यानो छैन ।

खुमलटारमा पत्रकारसँग भेटेको भोलिपल्टै प्रचण्ड सिन्धुलीका दुई र मकवानपुरको एक कार्यक्रममा सहभागी भए । तर, ती तीनवटै कार्यक्रममा उनले खुलेर सरकारको बचाउ गरेनन् । बरु आफैँ प्रधानमन्त्रीको कुर्सीमा भए जसरी वा छिट्टै त्यो कुर्सीमा पुग्न लागेजस्तो गरी ‘म काठमाडौँको धूलो–धूवाँ तीन महिनाभित्रै निमिट्यान्न पारिदिन्छु’ भन्न भ्याए ।

साता–दस दिनभित्रैमा प्रचण्डमा देखिएको छटपटी, ओली–प्रचण्डले एकअर्कालाई ‘काउन्टर’ दिने गरी पत्रकारसँग गरेका भेटघाट, सुस्तसुस्त घोचपेचका परिदृश्यबाट उनीहरूबीच के खिचडी पाक्दैछ, छर्लंग हुन्छ । प्रधानमन्त्री ओलीको काम गराइसँग प्रचण्ड सन्तुष्ट नभएकाले सरकारको रक्षामा खुलेर नबोलेको नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको दाबी छ । त्यसलाई पत्याउने हो भने पछिल्ला दिनमा नेता नेपाल, झलनाथ खनाललगायतको साथ लिएर प्रचण्ड सत्तारोहणको तानाबाना बुन्ने चाँजोपाँजोमा लागेका छन् । त्यसका लागि एकातिर उनले नेपाल, खनाललगायतसँग सम्बन्ध सुमधुर बनाउन दिनहुँजसो फोन/भेट गरिरहेका छन् ।

ओली सरकारको अलोकप्रियताले कुनै उत्कर्ष छोएको दिनको प्रतीक्षामा छन्, प्रचण्ड । “ओली सरकारले राम्रो काम गर्न सकेन । अब स्थिति सम्हाल्न आपैँmले अग्रसरता देखाउनुपर्छ भन्ने प्रचण्डजीको बुझाइ देखिन्छ”, माधव नेपाल निकट नेकपाको उच्च स्रोत बताउँछ ।

भूमिकाहीन को–पाइलट

३ जेठको पार्टी एकता समारोहमा ओलीले नेकपा टेम्पो नभई जेट भएकाले त्यसलाई उडाउन दुई जना पाइलट हुने तर्क पेस गरेका थिए । यस अर्थमा सरकार सञ्चालनमा होस् वा पार्टीमा, प्रचण्ड विमानका एक चालक हुन् । पार्टी एकीकरणको ‘हनिमुन पिरियड’ अर्थात्, एक सय दिन बितिसकेको छ । यस अवधिमा तल्ला कमिटीहरूको मिलान हुनै सकेको छैन भने सरकारको बचाउ ओली एक्लै गरिरहेका छन् ।

जसै पार्टी एकीकरणको मधुमास सकिँदैछ, प्रचण्डले पाइलटको भूमिका भने कम निर्वाह गर्न थालेको देखिन्छ । विगतमा हरेक दिन, हरेक घटनामा बोल्दा प्रचण्डबाट राजनीतिक रंगमञ्चमा कुनै न कुनै तरंग उत्पन्न हुने गरेको थियो । पछिल्लो समय प्रचण्डको प्रस्तुतिमा त्यसले प्राथमिकता पाउन छाडेको छ । सरकारको समर्थन तथा रक्षामा प्रचण्डले जति ‘इनर्जी’ खर्चिन सक्थे, त्यति गरिरहेका छैनन् । पछिल्ला दिनमा प्रचण्डले आफू र सरकारलाई भित्री मनदेखि सहयोग नगरेको गुनासो ओलीले गर्न थालेका छन् । “प्रचण्डले जुन तहबाट सरकारलाई सहयोग, प्रतिरक्षा गर्न सक्थे । उनले त्यसरी प्रतिरक्षा गरिरहेका छैनन् भन्ने निष्कर्षमा प्रधानमन्त्री ओली पुगेका छन्,” प्रधानमन्त्री निकट एक नेता भन्छन्, “ओलीले निकटहरूसँग यो गुनासो सुनाउन पनि थालेका छन् ।”

अध्यक्षको औपचारिकता

पार्टी एकता भएयता प्रचण्डले जम्मा चारपटक ओली सरकारको प्रतिरक्षामा समय खर्चिएका छन् । डाक्टर गोविन्द केसीको अनशनमा सरकारमाथि चौतर्फी हमला भएपछि प्रचण्डले सरकारको प्रतिरक्षा गरेका थिए ।

८ साउनमा प्रचण्डले भनेका थिए, “नेपालभित्र कम्युनिस्टहरूले चुनाव जितेको, दुई तिहाइको सरकार बनाएको, शक्तिशाली कम्युनिस्ट पार्टी एकीकरण गरेको उनीहरूलाई पटक्कै मन परेको छैन । त्यसैले हाम्राविरुद्ध कथा बनाएर दिग्भ्रमित पार्ने, बदनाम गर्ने षड्यन्त्र अनुसार संगठित ढंगले मिडिया प्रयोग गरेका छन् ।”

त्यसअघि ३० असारमा उनले ‘सरकारको काममा व्यवधान गर्न वितण्डा मच्चाइँदै छ’ भनेर प्रतिरक्षा गरेका थिए भने त्यसपछि दुईपटक मात्र प्रचण्डले ओली सरकारका लागि आफ्ना शब्द लगानी गरेका छन् । जुन बलबुताका साथ प्रचण्ड सरकारको रक्षामा खट्न सक्थे, उनी किन मौन छन् त ?

नेकपाका केन्द्रीय सदस्य हेमराज भण्डारीका शब्दमा, सरकारको असफलतामा पार्टी पनि जोडिनेमा प्रचण्ड सचेत नै छन् । “पहिले–पहिलेको तुलनामा सार्वजनिक कार्यक्रममा प्रचण्डको व्यस्तता घटेको छ । बरु पार्टी काममा बढी ध्यान दिइरहेका छन् । सार्वजनिक कार्यक्रममै कम सहभागी भएपछि प्रचारमा कमी हुन्छ नै,” भण्डारी भन्छन्, “यसको अर्थ सरकारको प्रतिरक्षा गरिरहेका छैनन् भन्ने होइन । ओली सरकार असफल भएमा पार्टीसमेत असफल हुने हुँदा आफूले सकेको ठाउँबाट प्रचण्डले सरकारको प्रतिरक्षा गर्ने, राम्रा कामका लागि प्रधानमन्त्रीदेखि मन्त्रीसम्मलाई सुझाव दिइरहेका छन् ।” भित्रभित्रै गरिरहेको सहयोग प्रचारमा नआएकाले मात्र भ्रम उत्पन्न भइरहेको भण्डारीको भनाइ छ ।

तर, तथ्यहरूले भण्डारीको जिकिरलाई प्रमाणित गर्दैनन् । जस्तो : ११ भदौमा नेकपाको सर्लाही–काठमाडौँ सम्पर्क मञ्चले गरेको सांसदहरूको सम्मान कार्यक्रममा पनि प्रचण्ड अतिथि थिए । सरकारको समर्थनमा उनी यति मात्र बोले, ‘कतिपय तत्त्व पार्टी एकता र सरकारलाई असफल बनाउने षड्यन्त्रमा लागेका छन् । त्यस्ता षड्यन्त्रलाई एक–एक गरेर परास्त गरिनेछ ।’

पूर्वएमालेको मुखपत्र नवयुगको असार अंकलाई अन्तर्वार्ता दिँदै प्रचण्डले भनेका छन्, ‘सय दिनको सरकारको कामबाट धेरै सन्तुष्ट हुने ठाउँ देखिएको छैन । हामीले चुनावका बेला जनताका अगाडि गरेको सुशासन, स्थिरता र विकासले नयाँ गति लिन्छ, उत्साहपूर्ण ढंगले भयो है भनेजस्तो भएको छैन ।’ त्यसअघि प्रधानमन्त्री ओलीले सम्पूर्ण तागत लगाएर बजेटको बचाउ गर्न पार्टीका नेता/कार्यकर्तालाई निर्देशन दिएका थिए । तर, प्रचण्डले ओलीको निर्देशनविपरीत ३ असारमा भनिदिए, “बजेट चिसो पानी खन्याएजस्तो भयो ।”

सरकारको प्रतिरक्षामा अध्यक्ष प्रचण्ड मौन रहेको धारणा यथार्थपरक नभएको बताउँछन्, उनका प्रेस संयोजक विष्णु सापकोटा । “अध्यक्षले आफूले सके/भ्याएसम्म सरकारको बचाउ गरिरहनुभएको छ । उहाँ जति बोलिरहनुभएको छ, सरकारकै डिफेन्सका लागि बोल्नुभएको हो । यहाँभन्दा बढी बचाउ कसरी गर्ने ?” सापकोटा भन्छन्, “प्रचण्ड आफैँ प्रधानमन्त्री बन्ने खेलमा लाग्नुभएको भन्ने पनि बिल्कुल सही होइन ।”

परिवारको पिरलो

पारिवारिक तनाव पनि छ, प्रचण्डलाई । खासगरी ३ मंसिर बिहानै छोरा प्रकाशको असामयिक निधन भएपछि प्रचण्ड दम्पतीमा तनाव थपिएको छ । यद्यपि, प्रचण्डले त्यति धेरै तनावको भारी बोकेजस्तो देखिँदैन । उनले तनावलाई भित्रभित्रै दबाउने प्रयत्न गर्ने र बेलाबेलामा मात्र त्यो प्रकट हुने निकटस्थहरू बताउँछन् । परिवार, सन्तानको साह्रै ख्याल गर्ने नेतामा पर्छन्, प्रचण्ड । सशस्त्र युद्ध सुरु गरेर आफू भारत बस्न थालेसँगै साथमा रहेका दुई छोरी र एक छोरालाई त प्रचण्ड दम्पतीले त्यहीँ झिकाए नै, घरजम गरिसकेकी जेठी छोरी ज्ञानुको परिवारलाई समेत भारतमै लगे । सिक्किमका नारायण प्रधानसँग लगनगाँठो कसिदिएकी कान्छी छोरी गंगालाई शान्ति प्रक्रियामा आएपछि काठमाडौँमा सँगै ल्याएर राखे । प्रधानलाई प्रचण्ड परिवारले यतै डाकेको थियो । तर, उनी ससुरालीमा आश्रित हुन मानेनन् । त्यसपछि गंगा र नारायणको सम्बन्ध नै विच्छेद भयो ।

भारतको पञ्जाबमा घरजम जोडेकी माइली छोरी रेणु र ज्वाइँ अर्जुन पाठकलाई नेपालमै झिकायो प्रचण्ड परिवारले । गिरिजाप्रसाद कोइरालाले आफू राजनीतिमा स्थापित भएपछि जर्मन नागरिक बनेकी छोरी सुजातालाई झिकाएर जिम्मेवारी दिएभन्दा कम थिएन, प्रचण्डको यो शैली । प्रचण्डले छोरीलाई पञ्जाबबाट ल्याएर समानुपातिक सांसद र गत वर्षको स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयर बनाए भने ज्वाइँलाई संसद् सचिवालयको खजान्ची, गणेशमान पुन आपूर्तिमन्त्री हुँदा उनको स्वकीय सचिव बनाए । सांस्कृतिक विचलनका कारण विवादित बनेका छोरालाई पुन: सचिवालयमा भित्र्याए । छोराको निधनपछि हाल बुहारी बिना मगरलाई मन्त्री बनाएका छन् । प्रचण्डकी जेठी छोरीको स्तन क्यान्सरले निधन भयो । अहिले उनले ज्वाइँ सागर केसीलाई सभामुख कृष्णबहादुर महराको प्रमुख स्वकीय सचिव नियुक्त गरेका छन् । विराटनगरका पवन आचार्यसँग दोस्रो घरबार जोडेकी गंगालाई प्रचण्डले आफ्नो स्वकीय सचिवालयमा नियुक्त गरेका छन् ।

सन्तान सबैलाई व्यवस्थापन गराए पनि प्रचण्डको तनाव कम भएको छैन । त्यसको मूल कारण एक्लो छोराको आकस्मिक निधन नै हो । छोराको निधनपछि श्रीमती सीता एकपछि अर्को रोगले थलिएकी छन् । गत असारमा सिंगापुर पुगेर १७ दिनसम्म श्रीमतीको उपचार गराएर फर्किए पनि उनलाई अझै ठीक भइसकेको छैन । त्यसैले पछिल्ला दिनमा श्रीमती सीताको हेरचाहमा प्रचण्डले धेरै समय दिइरहेका छन् । पहिलेको तुलनामा उनको बाहिरी सक्रियता केही हदसम्म कम छ । उनी निकट एक नेता भन्छन्, “तनावले गर्दा प्रचण्डले अलि कडा अभिव्यक्ति दिएका छैनन् । यसले गर्दा सक्रिय भएर सरकारको समर्थन नगरेजस्तो देखिएको हो ।”

बेचैनीका शृंखला

नेकपा अध्यक्ष दाहाल वर्तमान नेतृत्वको सरकारको मात्र प्रशंसा गर्न सक्ने अवस्थामा छैनन् । उनीसमक्ष सबैलाई सन्तुलनमै राख्नुपर्ने बाध्यता छ । किनभने, प्रचण्ड एकपटक एकताबद्ध पार्टीको अध्यक्ष र सम्भावना रहे संविधान संशोधन गरेर कार्यकारी राष्ट्रपति, त्यो नरहे प्रधानमन्त्री नै हुन चाहन्छन् । त्यसका लागि माधव नेपाल, झलनाथ खनाललगायत नेताको साथ जरुरी पर्छ । ओलीको मात्र प्रशंसा गरिरहँदा नेपाल, खनाललगायत नेताहरू बिच्किएलान् भन्ने त्रास छ उनलाई ।

लखनउमा हुने एउटा कार्यक्रममा भाग लिन प्रचण्ड १२ भदौमा भारत जाने कार्यक्रम थियो । तर, ओली सरकारविरुद्ध प्रपञ्च रच्न भारतमा गएको आक्षेप लाग्ने त्रासले प्रचण्डले लखनउ जाने कार्यक्रम रद्द गरे ।

जानकारका अनुसार प्रचण्ड तत्काल ओलीलाई हटाएर आजको भोलि नै प्रधानमन्त्री हुने खेलमा छैनन् । त्यसो गर्दा दुई तिहाइ बहुमतको सरकार बनेको ६ महिनामै षड्यन्त्रमा लागेको भनेर उनीप्रति आरोप लाग्नेछ । त्यसमाथि ओली स्वयंले राजीनामा दिए एउटा कुरा, नत्र दुई वर्षसम्म प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव राख्न नपाउने संविधानमै लेखिएको छ । तर, ओलीप्रति आम असन्तुष्टिको ग्राफ बढोस् भन्ने प्रतीक्षामा उनी देखिन्छन् । त्यस्तो अवस्थामा प्रचण्डले माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमलाई आफ्नो पक्षमा पार्न सके भने ओली केन्द्रीय समितिमै अल्पमतमा पर्न सक्छन् ।

कुनै समय थियो– प्रचण्डले बोल्ने प्रत्येक अभिव्यक्तिले कुनै न कुनै महत्त्व राख्थ्यो । त्यसले निकै ठूलो तरंग ल्याउँथ्यो । पछिल्ला दिनमा प्रचण्डका अभिव्यक्तिले ‘कभरेज’ पाउन छाडेका छन् । यसका दुई कारण छन् । पहिलो, सक्रियतामा कमी । दोस्रो, महत्त्व राख्ने अभिव्यक्ति नदिनु । प्रचण्डले सरकारको प्रतिरक्षा नगर्नुका पछाडि कुन पक्षले काम गरेको होला ? उनी निकट एक नेता भन्छन्, “दुवै पक्षले काम गरेको छ । प्रचण्ड पहिलेजस्तो सक्रिय पनि छैनन् । अर्थपूर्ण अभिव्यक्ति पनि निकै कम दिइरहेका छन् ।”

प्रकाशित: भाद्र २६, २०७५

ट्याग: आवरण