घरबाटै घात

- गोकर्ण गौतम

‘बलात्कार महिलालाई डरको अवस्थामा राखिरहन पुरुषले अपनाउने सुझबुझपूर्ण प्रक्रियाभन्दा कम वा बेसी केही होइन ।’

अमेरिकी पत्रकार सुसन ब्राउनमिल्लरले आफ्नो पुस्तक अगेन्स्ट आवर विलमा यस्तो निष्कर्ष निकालिन्, ४३ वर्षअगाडि । सदाबहार ‘बेस्टसेलर’ मानिने यस पुस्तकले पश्चिमा समाजमा बलात्कारलाई हेर्ने दृष्टिकोणमै बदलाव ल्यायो । तथ्यांकहरू भन्छन्, हामीकहाँ पछिल्ला तीन वर्षमा तीन हजार बलात्कारका उजुरी दर्ता भए । प्रहरीसम्म नआउने घटना त कत्ति हो कत्ति ! उजुरीलाई नै आधार मान्दा पनि प्रत्येक दिन तीन चेली बलात्कृत भइरहेका छन् । बालिका, वृद्धा र अपांग अझ प्रताडित छन् ।

वास्तविकता यति भयावह छ । बलात्कारविरोधी आन्दोलन हुन्छन्, नाराजुलुस हुन्छन् तापनि किन घट्नुको साटो बढिरहेको छ । “बलात्कारप्रतिको हाम्रो आधारभूत बुझाइ नै गलत छ,” यौन हिंसाका दर्जनौँ घटना र पीडितलाई नजिकबाट नियालेकी मनोविज्ञ गंगा पाठक भन्छिन्, “बलात्कारको घाउ मुटुमा छ । तर, हामी हातको अप्रेसन गर्न खोजिरहेका छौँ । र, भन्छौँ, जति उपचार गरे पनि निको भएन ।”

त्यसो भए, मुटुको घाउ के हो ? यसको जवाफचाहिँ सुसनको निष्कर्षमा छ । त्यो भनेको, बलात्कृत महिलालाई हेप्ने, प्रतिशोध साँध्ने र शक्तिको प्रयोग गर्ने प्रधान अस्त्र हो, न कि पुरुषमा हुने यौन चाहना पूर्ति गर्ने माध्यम । त्यसो हुन्नथ्यो भने केटीले किन बलात्कार गर्दैनन् ? जबकि, केटाभन्दा केटीमा यौन चाहना बढी हुने विभिन्न अध्ययनहरूले देखाएका छन् । समाजशास्त्री मीना उप्रेती भन्छिन्, “केटीलाई आँटै हुन्न किनभने शारीरिक र सामाजिक रूपमा म कमजोर छु भन्ने लघुताभास हुन्छ । तर, केटा दम्भले भरिएको हुन्छ । त्यसैले यौनको माध्यमबाट केटीमाथि आफ्नो शक्ति र नियन्त्रण सिद्ध गर्न खोज्छ ।”

अन्य शारीरिक आक्रमणबाट पनि पुरुषले रिस, बदला वा कथित पुरुषत्व देखाउन नसक्ने होइन । तर, किन बलात्कारमै उन्मुख हुन्छ ? यसको पनि जवाफ छ उप्रेतीसँग, “बलात्कारलाई सामाजिक र सांस्कृतिक रूपमा सबैभन्दा तुच्छ स्तरको बेइज्जती मानिन्छ । त्यसैले टाउको फुटाएर वा हातखुट्टा भाँचेर होइन, यौन आक्रमणमार्फत ‘आजीवन’ यातना दिएर सन्तुष्टि खोज्छ पुरुष ।”

तर, सवाल यहीँ सकिन्न । यस्तो निर्दयी पुरुष उत्पादन हुने कारखाना कहाँ छ ? यो कसरी उत्पादन हुन्छ ? यसभित्रको कथा लामो छ, हामीले नजरअन्दाज गरेको तर जानी/नजानी दिनदिनै भोगिरहेको । जति आधुनिक र शिक्षित भनियोस्, हाम्रो समाज पितृसत्तात्मक सोचले अभिशप्त छ ।

समाज अध्येता विश्वभक्त दुलाल ‘आहुति’ का अनुसार यस्तो सामाजिक संरचनाले महिलालाई तीन ढंगले व्याख्या गर्छ । पहिलो, महिला शारीरिक र बौद्धिक रूपमा कमजोर हुन्छन् । दोस्रो, महिला पुरुषको भोग्य वस्तु हुन् । तेस्रो, महिला सुन्दर प्रजाति हुन् । आहुति भन्छन्, “हरेक पुरुष यही सोचबाट प्रशिक्षित भएकाले जब यौन वा अन्य चाहना महिलाले अस्वीकार्छन्, तब बलात्कार गर्न उद्यत भइहाल्छन् ।” सुन्दा सैद्धान्तिक वा कठोर लागे पनि तीतो सत्य यही हो । जसको प्रादुर्भाव अन्त होइन, परिवारबाटै हुन्छ ।

जस्तो : छोरालाई बच्चैबाट खुला वातावरण प्रदान गरिन्छ । यौनांग देखाउँदासमेत अभिभावकले गाली गर्दैनन्, बरु हाँसेर हौसला दिन्छन् । यही काम छोरीले गर्दा सातो लिइन्छ । छोराले गल्ती गर्दा माफी पाउँछन्, ढाकछोप गरिन्छ । छोरी सधैँ गालीका भागीदार हुन्छन्, निश्चित घेरामा रुमल्लिनुपर्छ । फलत: छोरामा ‘म बलशाली हुँ’ भन्ने घमन्ड पैदा हुन्छ, ‘मेल इगो’ जन्मिन्छ । तर, छोरीले आफू निर्धो ठान्छे । समाजशास्त्री उप्रेती भन्छिन्, “सन्तान हुर्काइ पद्धतिमा रहेको यही विभेदले बलात्कारलाई प्रश्रय दिन्छ । किनभने, देख्दा यौन हिंसा मात्र लाग्छ तर बलात्कार महिलामाथिका तमाम दुव्र्यवहार र अपमानको सार हो ।”

विभेदको भुमरी छँदैछ, उचित अभिभावकत्व र सामाजिकीकरणबाट वञ्चित, बाल्यकालमा दुव्र्यवहार भोगेका/देखेका पुरुष अझ हिंस्रक हुने र महिलामाथि खनिने विभिन्न घटनाले देखाएका छन् । अर्थात्, छोराछोरीबीचको भेद घरबाटै प्रारम्भ हुन्छ । नतिजा बलात्कारजस्ता घटनाको अचानोमा पर्नुपर्छ, हुर्काइमै विभेदको सिकार भएकी छोरी ।

जिल्ला अदालत रौतहटले तीन बच्चीको बलात्कारपछि हत्या गरेको अभियोग ठहर गर्दै बालकिशोर चौरसिया, ३०, लाई ५२ वर्ष कैद सजाय फैसला गर्‍यो, ५ जेठ ०७५ मा । साइकल चोरीको अभियोगमा डेढ वर्ष जेल बसेर छुटेको केही महिना नबित्दै चौरसिया ‘सिरियल’ बलात्कारी र हत्यारा बने । बोली प्रस्ट नबुझिने  उनलाई परिवारले समेत छाडेको थियो । बाँकी सबैले हेप्ने भइहाले । अर्थात्, एकपछि अर्को अपमानको सिकार भइरहे बालापनबाटै । न जेलमै सही मार्गनिर्देशन पाए । परिणामत: क्रूर हुँदै गए र कलिला बालिकामाथि जाइलाग्न थाले । अनि, एकातिरबाट उत्पन्न रिस, आवेग, आक्रोश अर्कातिर पोख्न थाले । मनोविज्ञ पाठक भन्छिन्, “देख्दा व्यक्ति मात्र दोषी लाग्छ तर त्यस्तो होइन । समाजकै भूमिका हुन्छ । समाजको रुखो व्यवहारले संवेदना हराउँछ र हिंस्रक बनाउँछ ।”

मानसिक रूपमा विक्षिप्त प्राय: यस्तै कुकृत्यमा संलग्न हुन्छन् । हालत यस्तो, अनि सजाय तोकेर मात्र बलात्कार रोकिन्छ त ? मनोविज्ञदेखि समाजशास्त्रीसम्म यही प्रश्न सोधिरहेका छन् । कैयौँ बलात्कारका घटना अनुुसन्धान गरेका प्रहरी उपरीक्षक (एसपी) गणेश रेग्मी भन्छन्, “जबर्जस्तीकरणी समाजकै उत्पादन हो । महिलालाई दोस्रो दर्जाको नागरिक ठान्ने र हेप्नुपर्छ भन्ने मानसिकता अन्त्य नभएसम्म बलात्कार रोकिन्न ।”

शरीर ढाक्ने पहिरन लगाउँदा बलात्कार हुन्न थियो भने बुर्का लगाउने मुस्लिम महिला, बालिका र वृद्धा किन सबैभन्दा ज्यादा सिकार हुन्छन् ? समुद्री तटमा बिकिनी लगाउने युवती किन बलात्कृत हुँदैनन् ?

–आहुति

त्यसो त, बलात्कार यही कारणले हुन्छ भनेर ठोकुवा गर्न सकिन्न । व्यक्तिको स्वभाव, मनोविज्ञान र प्रकृतिमा भर पर्छ । यत्तिचाहिँ हो, आवेगमा कहिल्यै बलात्कार हुन्न । पहिलेदेखि पहिचान गरेर, कमजोरी पत्ता लगाएर योजनाबद्ध ढंगले नै महिलामाथि आक्रमण हुने गर्छ । जब पहिलो बलात्कारको प्रयास सफल हुन्छ, केटीले विरोध जनाउँदिनन् वा सामसुम पारिन्छ, अपराधीले फेरि त्यही ‘ट्रिक’ अपनाउँछ र पटक–पटक बलात्कार गरिरहन्छ । बलात्कारपछि मार्ने नै योजना नहुन सक्छ । तर, एउटा गल्तीलाई ढाकछोप गर्ने क्रममा अर्को अपराध हुन्छ, आवेग बढ्दै जान्छ र त्यो हत्यासम्म पुग्छ । अध्ययनहरूले यस्तै देखाएका छन् ।

केही दिनअगाडि आफ्नै प्रेमीबाट बलात्कृत एक युवती मनोविज्ञ पाठककहाँ आइन् । प्रेमीले जन्मदिन मनाउने भन्दै उनलाई बाहिर लगे र कोकमा ‘ड्राउजी’ नामक औषधी हालेर झुक्काएर खुवाए । अनि, बलात्कार गरे । त्यसअगाडि यौन प्रस्ताव अस्वीकारेको झोँकमा प्रेमी यो हदसम्म पुगेको रहस्य खुल्यो । मतलब, उनले लामो तयारीपछि बलजफ्ती करणी गरेका हुन् । मनोविज्ञका अनुसार बलात्कार गर्ने सोच आएपछि भोलि के होला, कस्तो सजायको भागीदार हुनुपर्छ भन्ने सोच्दै–सोच्दैनन् । वर्तमानमै रमाउँछन् र आफ्नो अभीष्ट पूरा गर्छन् ।

लगनखेलमा केही समयअगाडि घटेको घटना अझ आततायी छ । एक किशोरले घरमा काम गर्ने महिलालाई पटक–पटक बलात्कार गर्दा परिवारले ढाकछोप गर्‍यो । ती महिलाले घरै छाडिन् । तर, किशोरको बलात्कार आदत भइसकेको थियो । त्यसैले कोही नभएको मौका छोपेर आफैँलाई जन्म दिने आमामाथि जाइलागे । मनोविज्ञ करुणा कुँवर भन्छिन्, “कामदारमाथि यौन हिंसा गर्दा परिवारले कारबाही वा मनोवैज्ञानिक उपचार गरेको भए ती किशोर हच्किन्थे । विडम्बना ! परिवारको संरक्षणले उनलाई हौसला मिल्यो ।” यो भनेको, उचित अभिभावकत्वको अभाव हो । घरेलु बलात्कारमा प्राय: यस्तै डरलाग्दा पक्षको भूमिका हुन्छ ।

मनोविज्ञ पाठक अर्को घटना सुनाउँछिन् । राजधानीकै एक सम्पन्न परिवारका नातामा अंकल–भतिजी पर्ने १० वर्षका केटाकेटी एउटै बेडमा सुतेर टेलिभिजन हेर्दै थिए । एकले अर्काको शरीर छोए । दुवैमा यौन भावना जागृत भयो । सहमतिमै सेक्स गरे । बिस्तारै दुवैलाई लत लाग्यो, लुकीलुकी नीला फिल्म हेर्न र हस्तमैथुन गर्न थाले ।

पाठकका अनुसार उमेर नपुगी उत्पन्न हुने यौनभावले विचलन पैदा हुन्छ । सेक्स गर्न मन लाग्छ । तर, पाउँदैनन् । सोही कारण यस्ता केटा बलात्कारसम्म पुग्छन् भने केटी सजिलै अरूको यौन फन्दामा पर्छन् । “शारीरिक रूपमा नजिक हुँदा स्वत: यौनभाव जागृत हुन्छ । त्यसैले छोराछोरीलाई निश्चित दूरीमा बस्न सिकाउनुपर्छ । तर, आमाबाबुलाई यसको हेक्कै हुन्न,” मनोविज्ञ पाठक भन्छिन्, “उमेर नपुगी यौनइच्छा आयो भने हस्तमैथुनबाहेक योगा, उसु वा अन्य खेलमा संलग्न गराएर त्यसलाई व्यवस्थापन गर्न सिकाउनुपर्छ ।” तर, हामीकहाँ यौन शिक्षालाई अझै पनि लाजको विषय मानिएको छ । बच्चामाथि परिवारको निगरानी फितलो त छँदैछ, ५–६ कक्षामा नपुग्दै सेक्स भिडियोमा पहँुच पुगेपछि त्यस्तो बच्चाले कस्तो संस्कार सिक्छ ? सवाल पेचिलो छ ।

जति पनि बलात्कारका घटना केलाइयोस्, त्यहाँ व्यक्ति होइन, समाज नै जोडिन्छ ।  जो तनावमा हुन्छन्, काम हुन्न, परिवारप्रति उत्तरदायी हुन्नन्, पत्नी वा प्रेमिकासँग बेमेल हुन्छ, त्यस्ता मानिस बलात्कारतिर उन्मुख हुन्छन् । संक्रमणकालमा यस्तो अस्थिर व्यवहार अझ बढ्छ । अर्कातिर, पुरुषमा कुण्ठित सोच उत्तिकै कारक मानिन्छ । जस्तो : पढेलेखेकै मानिस फेसबुकमा छोटो कपडा लगाएका युवतीको तस्बिर अपलोड गरेर लेख्छन्, ‘यस्तो उत्तेजक भएर हिँडेपछि बलात्कार भइहाल्छ नि ।’

शरीर ढाक्ने पहिरन लगाउँदा बलात्कार हुन्न थियो भने बुर्का लगाउने मुस्लिम महिला, बालिका र वृद्धा किन सबैभन्दा ज्यादा सिकार हुन्छन् ? समुद्री तटमा बिकिनी लगाउने युवती किन बलात्कृत हुँदैनन् ? समाज अध्येता आहुति भन्छन्, “बलात्कार पहिरन वा अन्य कारण होइन, सोचले हुन्छ । त्यसैले नयाँ पुरुष निर्माणको अभियान जरुरी छ । हरेक क्षेत्रमा पुरुष मालिक हुनुपर्छ भन्ने विचारधारा र संरचना अन्त्य हुनुपर्छ ।”

प्रहरी नै अनुदार

पीडित प्राय: गरिब र दलित हुन्छन्, प्रहरीसम्म पुग्ने ल्याकत र पहुँच हुन्न । बल्लतल्ल पुगे पनि प्रहरीको केही अपवादबाहेक रुखो व्यवहारले थप हतोत्साही हुन्छन् । पाँच वर्षदेखि बलात्कारविरोधी अभियानमा सक्रिय सावित्री सुवेदीको गुनासो छ, “प्रहरी कार्यालयमा पुगेपछि छहारी होइन, उल्टै सास्ती, अझ मानसिक बलात्कारको सामना गर्नुपर्छ ।”

सावित्री यसो किन भनिरहेकी छन् भने पीडित महिलाले हवल्दारदेखि माथिल्ला अधिकृतसम्मलाई संवेदनशील अंग देखाउँदै बलात्कारको कथा पटक–पटक सुनाउनुपर्छ । तर, उजुरी दर्ता हुन्न, बरु मिलापत्र गर्न दबाब दिइन्छ । पीडक फलानो नेता वा व्यापारीको नातेदार हो भनेर डर देखाइदिन्छन् । तराईमा यस्तो प्रवृत्ति अझ धेरै छ, बलात्कारमा उजुरी दर्ता गर्नै महाभारत हुन्छ ।

महिला सेल सबैतिर हुन्न । पुरुष प्रहरीलाई बलात्कारको घटना कहनु सजिलो होला र ? त्यसमाथि अनेक अव्यावहारिक र तुच्छ प्रश्नको सामना गर्नुपर्छ पीडितले । नेपालकर्मीले बलात्कारपीडित युवतीकी आमासँग वार्ता गरेको थियो । उनी छोरी लिएर प्रहरी कार्यालय गइन्, व्यथा सुनाइन् । राती साथीको घरबाट आउँदा गाउँकै चिनेको मान्छेले उनको अस्मिता लुटेको थियो, शरीरमा घाउ थिए । तर, प्रहरीबाट सान्त्वना आएन । बरु उल्टै हकारेछन्, ‘राती–राती हिँड्ने हो त ? साँझ परेपछि घरमै बस्नुपर्‍यो नि !’ ती महिलाले गुनासो पोखिन्, “यस्ता प्रहरीबाट कसरी न्यायको अपेक्षा गर्न सकिन्छ ?” कञ्चनपुरमा निर्मला पन्तको बलात्कार र हत्या घटनामा प्रहरीको संलग्नताले अनेकौँ सवाल खडा गरेको छ ।

अर्को लाजमर्दो पक्षचाहिँ, बलात्कारी जोगाएको आरोपमा निलम्बनमा परेका एसपी विद्यानन्द माझी १९ भदौमा प्रबल जनसेवाश्री विभूषणबाट विभूषित भए, राष्ट्रपतिबाट । जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी प्रमुख हुँदा आर्थिक चलखेलका आधारमा बलात्कारी समूहसँग मिलापत्र गर्न पीडित पक्षलाई दबाब दिएकाले गृह मन्त्रालयले उनलाई निलम्बन गरेको थियो । प्रहरी उपरीक्षक गणेश रेग्मी प्रहरी बलात्कारका घटना अनुसन्धानमा उच्च प्राथमिकता दिएको र प्रहरी कार्यालय महिलामैत्री भएको दाबी गर्छन् । “करणी भएपछि अनुसन्धान गर्नु प्रहरीको जिम्मेवारी हो । तर, बलात्कार हुनुमा चाहिँ प्रहरीलाई मात्र जिम्मेवार मान्न मिल्दैन, समाजकै उपज हो,” कानुन शाखाका एसपी रेग्मी भन्छन्, “अनुसन्धान गर्दा कठिनाइ हुन्छ, अनेक सवाल गर्नुपर्छ, त्यसलाई खराब नियत वा दु:ख दिएको रूपमा लिनुभएन ।” उनको भनाइमा, बलात्कारका घटना अनुसन्धान गर्न प्रहरीमा छुट्टै विभाग आवश्यक छैन । महिला सेललाई विस्तार गर्नुचाहिँ जरुरी छ ।

बलात्कार रोक्ने बुटी मृत्युदण्ड !

सहरमा एउटा यस्तो जमात छ, जो बलात्कारीलाई फाँसी दिनुपर्ने चर्को नारा लगाउँछन् । मृत्युदण्डले बलात्कारलाई निमिट्यान्न पार्ने ठोकुवा गर्छन् । संसद्मै बलात्कारीलाई नपुंसक बनाउनुपर्छ भन्नेसम्मका आवाज उठे । साँच्चै मृत्युदण्ड समाधानको बुटी हो त ? समाजशास्त्री, अपराधशास्त्रीदेखि मनोविज्ञसम्म एकै स्वरमा भन्छन्, ‘हुँदै होइन ।’ बरु मृत्युदण्डले प्रतिशोध बढाउने खतरा औँल्याउँछन् । “घरमा ताल्चा लगाएर चोरी रोकिन्न, चोर्ने मानसिकता नै रोक्नुपर्छ । बलात्कारीलाई मारेर होइन, महिलालाई सम्मान गर्ने मानसिकताचाहिँ निर्माण गर्नुपर्छ,” मनोविज्ञ गंगा पाठक भन्छिन्, “कठोर दण्ड छँदैछ तर त्योभन्दा पहिले शिक्षा दिनुपर्छ, सचेत बनाउनुपर्छ ।” उनी रचनात्मक र व्यावहारिक समाधान खोज्नुपर्ने बताउँछिन् ।

बलात्कारविरोधी अभियानमा संलग्नहरू पनि परिणाममुखी आन्दोलन हुन नसकेकामा चिन्ता व्यक्त गर्छन् । तिनैमध्येकी एक हुन्, सावित्री सुवेदी, जसले कपाल मुण्डन मात्र गरिनन्, कालो पेटीकोट लगाएर सांकेतिक विरोधसमेत गरिन् । उनी आफैँ मृत्युदण्ड हुनुपर्ने पक्षमा छिन् । “मर्न सबैलाई डर लाग्छ, त्यसैले मृत्युदण्डले बलात्कार रोकिन्छ । तर, त्यसअगाडि सचेतना जगाउनु आवश्यक हुन्छ,” बलात्कार हुनासाथ घटनास्थलमै पुगेर न्यायका लागि लड्ने गरेकी सुवेदी भन्छिन्, “तर अहिले सस्तो लोकप्रियता कमाउने र राजनीतिकरण गर्ने रबैया देखापर्न थालेको छ । यसो हुँदा बलात्कारको मूल मुद्दा ओझेल पर्छ ।” एकातिर मृत्युदण्डको सुगारटाइ छ, अर्कोतिर एक महिला सांसद संसद्मै सरकार गिराउन बलात्कारका घटना घटाएको भन्दै हाँसोको पात्र बनिन् । नेकपाकी सांसद शशी श्रेष्ठको भनाइ थियो, “कम्युनिस्ट सरकार असफल बनाउन कतै षड्यन्त्र भएको त छैन ? यतातिर पनि सरोकारवालाको ध्यानाकर्षण गराउन चाहन्छु ।” त्यसो त, उनले बलात्कारीलाई फाँसीको सजायसमेत अपुग हुने भन्नसमेत छुटाइनन् । समाजशास्त्री मीना उप्रेती चिन्ता व्यक्त गर्छिन्, “यस्तो पाराले बलात्कार रोकिएला त ?”

प्रकाशित: भाद्र २५, २०७५

ट्याग: समाज