हल्का राहत

- नेपाल संवाददाता

आना शर्मा अभिनीत जेरी हिट भयो । उनको अभिनय र सौन्दर्यले प्रशस्त प्रशंसा कमायो । आशा थियो, उनले अभिनयलाई प्राथमिकतामा राख्नेछिन् । तर, त्यस्तो भएन । अध्ययनका लागि भन्दै दुई वर्ष ‘ब्रेक’ लिइन् । त्यतिबेलासम्म नयाँ हिरोइनको ओइरो लागिसकेको थियो । तैपनि, जेरीकै निर्देशक हेमराज बिसीले ग्याङस्टर ब्लुजमा अभिनय गराए । तर, आनाको ‘कमब्याक’ फलदायी हुन सकेन । फिल्मको व्यापार त नाजुक रह्यो नै, आनाकै अभिनयले समेत वाहवाही बटुल्न सकेन । सोही कारण उनी किनारामा पर्ने आशंका गरिएको थियो । तर, तत्कालका लागि राहत पाएकी छन् । कारण हो, उनी अभिनीत फिल्म द म्यान फ्रम काठमाण्डुको ट्रेलर रिलिज भएको छ । यसमा सहायक भूमिकामा खुम्चिएकी छन् । अन्य फिल्म छैनन् । करिअर उकास्ने दमदार भूमिकाको प्यास कहिले मेटिने हो ? सायद आनालाई भेउ छैन ।

प्रकाशित: भाद्र २५, २०७५