नबिर्सिने बिमस्टेक

- नेपाल संवाददाता

बिमस्टेक सम्मेलन भर्खरै सम्पन्न भयो । नेपालमा यस्ता अन्तर्राष्ट्रिय सम्मेलन भइरहनु राम्रो पनि हो । समापन हुँदा सबै नेताहरुले भने, ‘बिमस्टेक सम्मेलन स्मरणीय हुनेछ ।’ सम्मेलनमा नेताहरुले बोलेका अरु जम्मै कुरा झुट लागे पनि यो एउटा कुरा भने सत्यजस्तो लाग्यो । किनभने, मलाई पनि यही लागिरहेको छ, बिमस्टेक सम्मेलन स्मरणीय हुनेछ । यो सम्मेलनलाई स्वयं सहभागी मुलुकका नेताहरुले बिर्से पनि म भने बिर्सिने छैन । 

अफिस जान लाग्दा गाडी थिएन । सोध्दा भनियो, आज बिजोर नम्बरको गाडी मात्रै चल्ने रे, त्यसैले गाडीको अभाव छ । पानीमा भिझ्नसम्म भिजेर कार्यालय गएको त्यो दिन म बिर्सिने छैन । फर्किंदा गाडीमै जाउँ भनेर पर्खेको । 

२ घन्टा पर्खिंदा पनि गाडी नआएर हैरान भएको त्यो क्षण पनि बिर्सिने छैन ।

भोलिपल्ट छिमेकी ठूलबालाई अस्पताल लानुपर्ने भएछ । बल्लबल्ल एउटा गाडी पाएर त्यसैमा राखेर लगियो । तर, बीच बाटोमै सवारी छ भनेर २ घन्टा कुर्नुपर्‍यो । अस्पताल पुग्दा अलिकतिले मात्रै ढिलो हुन पाएन । ठूलबाका छोराहरुले त्यो पल बिर्सने कुरै भएन । 

मामाकी छोरी त्यही दिन अमेरिका उड्न लागेकी थिइन् । भीआईपी उडान छ भन्दै जम्मै फ्लाइट ढिलो उडाइयो । अब दुबईमा कनेक्टिङ फ्लाइट छुट्ने भो भन्दै छोरी विमानस्थलमै रोएको घडी माइजूले बिर्सने छैन । 

यसरी हेर्दा मलाई पनि हो जस्तै लाग्यो– बिमस्टेक सम्मेलन वास्तवमै स्मरणीय रहनेछ । बिर्सन चाहे पनि बिर्सन सक्ने छैन । 

 

प्रकाशित: भाद्र २५, २०७५