अनिदो जिन्दगी

- विभु लुइटेल

काठमाडौँका प्रकाश आचार्य, ३४, लाई बिहान हुने बेला बल्ल निद्रा लाग्ने गरेको वर्षौं भइसक्यो । रातीको मीठो निद्रा अतीतमा सीमित भइसकेको छ उनका लागि । “मेरो मात्र त्यस्तो समस्या हो कि भन्ने लाग्थ्यो पहिले । धेरैको यस्तै समस्या रहेछ,” उनी सुनाउँछन्, “मध्यरातपछि, मेसेन्जर हेर्छु, आधाभन्दा ज्यादा साथी अनलाइनमै हुन्छन् । इन्स्टाग्राम हेर्छु, दर्जनौँ पोस्ट राती नै आउँछन् । ट्वीटरमा पनि धेरैको अपडेट राती नै आउने ।”

कसैलाई राती समयमै निद्रा लाग्दैन र कसैलाई लागिहाले पनि पर्याप्त लाग्दैन । विज्ञानको भाषामा यो इन्सोम्नियाको प्रारम्भिक लक्षण हो । राती समयमै निद्रा नपरेपछि दिउँसो झुपझुप हुनु, काममा ध्यान केन्द्रित गर्न नसक्नु, शारीरिक रूपमा कमजोर महसुस गर्नु, साना–साना कुरामा झिँझो–झर्को लाग्नु स्वाभाविकै भइहाल्यो । यसले जरो गाड्दै गएपछि मानिस कि यसमै अभ्यस्त हुन्छ कि त डिप्रेसन र एङ्जाइटीजस्ता मनोरोगग्रस्त ।

कतिपय सिर्जनशील मानिसलाई भने सुरु–सुरुमा इन्सोम्निया वरदानजस्तो लाग्छ । आफ्नै अनलाइन पोर्टल चलाइरहेका सानोठिमी, भक्तपुरका नयन श्रेष्ठ भन्छन्, “दिउँसो अफिसको काम गर्छु, राती अनलाइन पोर्टलको । मज्जाले सोच्न पनि समय पुग्छ । अनि, अतिरिक्त आयआर्जन पनि हुन्छ ।” मानसिक रूपमा उनले आफूमा खासै समस्या देखेका छैनन् । तर, केही समययता पाचन प्रक्रियामा गडबडी, बेलाबेला रिँगटा लाग्नेजस्ता समस्या भने भोग्दै आएका छन् ।

दिउँसोको समयमा मानिस कुनै न कुनै काममा व्यस्त हुने हुँदा जीवनबारे गहन सोचविचार गर्ने समय पाइरहेको हुँदैन । राती अनिदो बस्दा अतीतका तीतामीठा भोगाइ, भविष्य कस्तो हुने हो भन्ने चिन्ता र सामाजिक जिम्मेवारीबोधले अधिकांशलाई सताउने बताउँछन् धुलिखेल अस्पतालका मानसिक परामर्शदाता, पारस अधिकारी । भन्छन्, “पहिले त धेरै आउँदैनथे, धेरैलाई यो ठूलो समस्या हो जस्तै लाग्दैनथ्यो । अहिले मनोरोगबारे धेरै सचेत हुँदै गएकाले परामर्शका लागि आउनेको संख्या बढ्दै छ ।”

यसै क्रममा उनले आफूकहाँ आएका केही बिरामीको अनुभव साटे । कसैलाई पारिवारिक समस्याले पिरोलेर निद्रा नलाग्ने त कसैलाई सम्बन्धविच्छेदका कारण । कतिपय त स्मार्टफोन चलाएर बस्दाबस्दै समय बितेको अत्तोपत्तो नपाउने पनि रहेछन् । सहरी परिवेशमा इन्सोम्नियालाई बढावा दिन ‘नाइट लाइफ’ को पनि ठूलो भूमिका देखिन्छ । संसारभर राती अबेरसम्म पार्टी गर्ने चलन बढ्दै गएको छ । यो संस्कृति नेपालका ठूला सहरमा पनि बढ्दै गएको छ । यस्ता पार्टीले समाजमा घुलमिल हुन मद्दत गरे पनि युवा पुस्तालाई भने यसले इन्सोम्नियाक बनाइरहेको छ । काठमाडौँकी प्रतिष्ठा बस्नेत, २२, पार्टी गर्न सहरका विभिन्न बार तथा लाउन्ज पुग्ने गर्छिन् । “राती अबेरसम्म पार्टी गर्छु । अनि, बिहान हुने बेला घर फर्कंदा कलेज जाने समय भइसकेको हुन्छ,” आफ्नो अनिदोपनको कारण आफैँ रहेको दिक्दारी पोख्छिन् प्रतिष्ठा ।

असनटोल, काठमाडौँकी सुमन श्रेष्ठ, २५, लाई चिन्ता केहीको छैन । तर, राती निद्रा भने फिटिक्कै लाग्दैन । कारण, मोबाइल फोन । सुनाउँछिन्, “पहिले मोबाइलमा मिनी मिलिसिया खेल्थेँ, अहिले पब्जी खेल्छु । समय बितेको कहिल्यै पत्तै नहुने ।” मोबाइल चलाउँदै बस्ने र थोरै समय मात्रै सुत्ने उनी मात्र होइनन् । अहिलेका धेरै युवामा यो समस्या व्याप्त छ । त्यसलाई बढावा दिने काम गरेका छन्, सामाजिक सञ्जाल र मोबाइल गेमले ।

अमेरिकाको हार्वर्ड विश्वविद्यालयले गरेको एक अनुसन्धानले मोबाइल फोनलाई इन्सोम्नियाको प्रमुख कारक घोषित गरेको छ । यसले पैदा गर्ने ब्लु एलईडी (नीलो विकिरण) ले आँखाको भित्री भागमा हुने कोषलाई सक्रिय राख्ने काम गर्छ । निद्रा लाग्न ती कोष निष्क्रिय हुनैपर्छ, जसका लागि कम्तीमा दुईदेखि तीन घन्टा लाग्ने यो अनुसन्धानले देखाएको छ ।

इन्सोम्निया अचानक आइपर्ने समस्या होइन । यो चरणबद्ध रूपमा विकास हुँदै जान्छ । यसका तीन चरण छन् : क्षणिक, गम्भीर र दीर्घकालीन । क्षणिक इन्सोम्निया एक साताभन्दा कम समय मात्र रहन्छ । मानिसलाई केही दिन समयमा निद्रा लाग्दैन । तर, यो आचरण बदल्न चाहेमा उसलाई पुरानै दिनचर्यामा फर्कन पनि समय लाग्दैन । महिना दिनसम्म अनिदो बनाउनेचाहिँ गम्भीर इन्सोम्नियाले हो । यो समस्या देखिन सुरु भएपछि परामर्शदाताको सुझाव लिनु उपयुक्त हुन्छ ।

समयमै निद्रा लाग्न छाडेको एक महिनाभन्दा बढी भए त्यो दीर्घकालीन इन्सोम्निया हो । यसले शरीरमा हर्मोन उत्पादन तलमाथि गर्ने गरेको पाइन्छ । दृष्टि कमजोर हुँदै जानु, रक्तचापमा गडबडी हुनु, मुटुमा समस्या देखापर्नु, सास फेर्न गाह्रो हुनु यसका लक्षण हुन् ।

डिप्रेसन इन्सोम्नियाको कारण र परिणाम दुवै हो । कतिपय अवस्थामा डिप्रेसनका कारण मानिसमा अनिदोपन देखिने गरेको छ । र, अन्य अवस्थामा ननिदाएर डिप्रेसन । इन्सोम्नियाको उपचार गर्दा सुरुमा रोगीमा डिप्रेसन रहे–नरहेको जाँच गर्ने मनोविज्ञ बताउँछन् । डिप्रेसन देखिए उपचारका लागि कदम चलाइन्छ । औषधी र परामर्शले काम नगरे ईसीटी (टाउकोमा विद्युत् प्रवाह गरेर उपचार गर्ने पद्धति) विधि अपनाउनुपर्ने केही अवस्था पनि देखिने गरेका छन् ।

अत्यधिक कार्बोहाइड्रेट र रक्सी सेवन गरेर निद्रा लाग्ने उपाय खोज्ने पनि थुप्रै छन् । त्यस्ता विधिले तत्कालीन रूपमा अनिदोपन हटाए पनि दीर्घकालीन रूपमा भने स्वास्थ्यमा गम्भीर समस्या हुने गरेको पाइएको छ । अधिकांश अवस्थामा स्वास्थ्यमैत्री उपाय मनोविज्ञ तथा परामर्शदाताबाट मात्र प्राप्त हुन्छन् । उचित चिकित्साविधि अपनाउन बिरामीले आफ्ना समस्या परामर्शदाताद्वारा अध्ययन गराउनुको अरू कुनै विकल्प नै रहन्न ।

मोबाइल प्रयोग र निद्रामा पर्ने त्यसको असरबारे भएका दर्जनौँ अनुसन्धानको एउटै निचोड छ, रातीको समयमा विकिरण पैदा गर्ने मोबाइल तथा अन्य उपकरण प्रयोग गर्ने मानिसको निद्रा बिग्रिएर दीर्घकालीन रोगसमेत लाग्छ । यीबाट बच्ने एउटै उपाय हो, नीलो विकिरणबाट पर बस्नु । तर, अहिलेका मान्छेलाई मोबाइल फोनबाट टाढा राख्न गाह्रै पर्छ । परामर्शदाता अधिकारी समाधान दिन्छन्, “नीलो विकिरण छेक्ने चस्मा मात्र होइन, मोबाइल एप्लिकेसन पनि पाइन्छन् । हामीले तिनको प्रयोगमा जोड दिनु जरुरी छ ।” अत्यावश्यक काम परेका खण्डमा मात्र इलेक्ट्रोनिक उपकरण प्रयोग गर्न उनको सुझाव छ ।

प्रकाशित: भाद्र २४, २०७५

ट्याग: समाज