विद्यार्थीको विदेश मोह

- विजयराज खनाल

१२ कक्षाको परीक्षाफल निस्कियो गत साउनमा । परीक्षाफल निस्कनुअघिदेखि नै अस्ट्रेलिया अध्ययनका लागि तयारी कक्षा आईएलटीएस लिन परामर्शदाताकहाँ धाइरहेकी थिइन् चाँगुनारायण, भक्तपुरकी वर्षा बिसंखे । ३.२१ देखि ३.६० जीपीए ल्याउन सफल ११ हजार २ सय २१ जनामा बिसंखे पनि परिन् । भन्छिन्, “परामर्शदाताले विदेश अध्ययन गर्न जाने हो भने कम उमेरमै सजिलो हुन्छ भनेपछि आईएलटीएसको परीक्षा दिएकी छु ।”

नेपाली विद्यार्थी अध्ययनका लागि विश्वका ७० वटा देशसम्म पुग्ने गरेको मन्त्रालयको तथ्यांकले देखाउँछ । अस्ट्रेलिया, जापान, अमेरिका, भारत, पोल्यान्ड, चीनलगायतका देशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीको चाप बढी छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्यांक अनुसार गत आर्थिक वर्ष ०७४/०७५ मा ५८ हजार ७ सय ५८ वटा ‘नो अब्जेक्सन लेटर’ जारी भएको छ । विदेश अध्ययन गर्न जारी हुने ‘नो अब्जेक्सन लेटर’ को संख्यामा हरेक वर्ष औसतमा २५ प्रतिशत वृद्धि भइरहेको छ । आव ०७२/७३ मा ५ प्रतिशत वृद्धि भएर ३२ हजार ४ सय ८९ यस्तो पत्र जारी भएकामा त्यसपछिको वर्ष एकैपटक ५५ प्रतिशत वृद्धि भएको थियो ।  गत आवमा भने करिब १६ प्रतिशत मात्र यसमा वृद्धि भएको छ ।

शिक्षामा अर्बौ बाहिरिँदै

यस वर्ष नियमिततर्फ कक्षा १२ को परीक्षा दिएका २ लाख ९९ हजार र आंशिकबाट सहभागी १ लाख १७ हजारमध्ये उत्तीर्ण ३५.२ प्रतिशत विद्यार्थीलाई लक्षित गर्दै स्वदेशी कलेजहरूले प्रचारप्रसार सुरु गरिसकेका छन् । स्नातकमा अध्ययन हुने विभिन्न विषयमा उनीहरूले जानकारी दिइरहेका छन् । तर, पछिल्लो समय उच्च शिक्षा अध्ययनका लागि विदेश जाने क्रम नघटेकाले देशबाट वार्षिक अर्बौं रुपैयाँ बाहिरिएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत आवमा मात्रै विदेश अध्ययनका लागि ३८ अर्ब ८ करोड रुपैयाँ बाहिरिएको छ । १० वर्षको अवधिमा यो रकममा तीन गुणा वृद्धि भएको हो । १० वर्षअघि १२ अर्ब १२ करोड रुपैयाँ बाहिरिएको थियो । विकासप्रति सरकारी उदासीनता र साथीभाइको देखासिखीले पनि धेरै युवालाई विदेश मोहले तान्ने गरेको छ । विद्यार्थीका रूपमा विदेश जानेमा धेरैको उद्देश्य पढाइसँगै नोकरी गर्ने र त्यहीँको आवासीय भिसा प्राप्त गर्ने मनोकांक्षा हुन्छ ।

“हेर्ने हो भने नेपाली विद्यार्थी विदेशका ‘ए स्टार कलेज’ मा पढ्न सकिरहेका हुँदैनन् । त्यहाँ पढ्ने कलेजकै स्तरका यहाँका कलेजमा पढ्दा ५० प्रतिशत कम शुल्क लाग्छ,” आईएसटी कलेजकी प्रिन्सिपल सम्झना बस्न्यात भन्छिन्, ‘‘तर, पैसा कमाउने भित्री उद्देश्यले नै विदेश जाने परिपाटी धेरैमा छ ।”

यसमा विद्यार्थीको मात्रै दोष भने छैन । विद्यार्थी संख्याको तुलनामा विश्वविद्यालयले तोक्ने सीमित सिटले गर्दा पनि विदेसिने नेपाली विद्यार्थीको संख्या घट्न नसकेको एभरेष्ट कलेजका प्रमुख कार्यकारी अधिकृत विष्णुहरि पाण्डे बताउँछन् । भन्छन्, “हामीले त नारा नै बनाएका छौँ– शिक्षा सबैका लागि, स्वदेश होस् वा विदेशमा ।” कतिपय विषयको नेपालमा स्नातकोत्तर अध्यापन नहुने, भएकामा पनि निकै कम सिट उपलब्ध हुनेजस्ता समस्याले विद्यार्थी विदेसिन बाध्य छन् ।

अन्तर्राष्ट्रिय मान्यताका कलेज

मुलुकमा अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गर्ने कलेजको संख्या करिब एक सय हाराहारी पुगेको मन्त्रालयको तथ्यांकले देखाउँछ । बेलायत, अस्ट्रेलिया, मलेसिया, स्वीट्जरल्यान्ड, थाइल्यान्ड, भारत, सिंगापुर, जर्जिया, अस्ट्रिया, अमेरिकालगायत मुलुकका विश्वविद्यालयबाट नेपालका कलेजहरूले सम्बन्धन लिएका छन् । सम्बन्धन लिएका धेरैले स्नातक तह कार्यक्रम सञ्चालन गरिरहेका छन् । कतिपयमा स्नातकोत्तरको समेत अध्यापन हुँदै आएको छ ।

ए लेभल, हस्पिटालिटी म्यानेजमेन्ट, इन्फर्मेसन टेक्नोलोजी, इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी एन्ड कम्युनिकेसन, फेसन एन्ड रिटेलिङ, व्यवस्थापनलगायतका विषयगत कार्यक्रम यी संस्थाले सञ्चालन गरिरहेका छन् ।

“अन्तर्राष्ट्रिय सम्बन्धन प्राप्त संस्थाबाट उत्तीर्ण विद्यार्थीले सम्बन्धन दिने विश्वविद्यालयमै पढेका विद्यार्थीसरह मान्यता पाउँछन्,” ब्रिटिस कलेजका मार्केटिङ एन्ड कम्युनिकेसन प्रमुख सुमन श्रेष्ठ भन्छन् । यसले गर्दा अन्तर्राष्ट्रिय रोजगार बजारमा समेत नेपाली विद्यार्थीको प्रतिस्पर्धी क्षमता बढेको उनको दाबी छ ।

हस्पिटालिटी म्यानेजमेन्ट (बीएचएम) अन्तर्गतको स्नातक तह अध्ययनले पनि विद्यार्थीको प्रतिस्पर्धी क्षमता बढाउनमा योगदान पुर्‍याइरहेको छ । “होटल म्यानेजमेन्ट वा हस्पिटालिटी अध्ययन गरेका विद्यार्थीले नेपालमै जागिर पाइरहेका छन्, विदेशका पाँचतारे होटलमा समेत हाम्रा विद्यार्थीले काम पाएका छन्,” आयाम इन्टरनेसनल कलेजका अध्यक्ष तथा प्रिन्सिपल कृष्णचन्द्र झा भन्छन् ।

मुलुकमा पछिल्लो समय होटल तथा रेस्टुराँ संख्यामा वृद्धि भइरहेको तथ्यांकले देखाउँछ । पाँच लाखभन्दा धेरैलाई रोजगारी दिने गरी यो क्षेत्रमा २ खर्ब ५० अर्बभन्दा बढी लगानी भइरहेको होटल एसोसिएसन अफ नेपाल (हान) ले उल्लेख गरेको छ । केही समयमै सात पाँचतारे, चार चारतारे र केही तीनतारे होटल सञ्चालनको तयारीमा रहेकाले पनि नेपालमा होटल तथा हस्पिटालिटी म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीका लागि पर्याप्त रोजगारीका अवसर रहेको सरोकारवाला बताउँछन् ।

“पहिले हाम्रा विद्यार्थी मुलुकभित्र ३० प्रतिशत र बाहिर ७० प्रतिशतको दरमा खपत हुने गर्थे । अहिले भने यो अनुपातमा निकै फेरबदल आएको देखिएको छ”, कान्तिपुर इन्टरनेसनल कलेजका कार्यकारी निर्देशक प्रतापराज जोशी भन्छन् । बीएचएम अध्ययन आफैँमा लगभग पूर्ण रहेको र थप अध्ययन आवश्यक नरहेकाले पनि स्वरोजगार हुने जमातको संख्या बढेको जोशीको तर्क छ ।

मुलुकभित्र अन्तर्राष्ट्रिय सम्बन्धन लिने संस्थाको संख्या बढिरहे पनि त्यो पर्याप्त नभएको गेट कलेजका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत खेम लकाईको भनाइ छ । भन्छन्, “सबै विषय अध्यापन गराउने विद्यालयमा पनि विशिष्टीकृत विषय अध्यापनका लागि सम्बन्धन दिइएको छ, यसले आउँदा दिनमा गुणस्तरमा भने समस्या आउन सक्छ ।”

हुन त, नेपालमा व्यवस्थापन विषय अध्यापन हुन थालेको निकै वर्ष भइसकेको छ । अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट मान्यता लिएरसमेत यो विषयको अध्यापन नेपालमा भइरहेको छ । नेपालमा यो विषय अध्यापन गर्ने अन्तर्राष्ट्रिय स्तरका कलेज भए पनि सोही स्तरको जनशक्ति, प्रविधि र सीपको विकास पर्याप्त नभएकाले विदेशमा विद्यार्थी जाने क्रम रोक्न नसकिएको नोबेल कलेजका निर्देशक शंकर श्रेष्ठ बताउँछन् । भन्छन्, “विकासप्रति सरकार उदासीन बन्दै आएको छ । नेपाली विद्यार्थीले विदेशी मुलुकसँग नेपालको तुलना गर्छन्, त्यसैले पनि नेपालमा उनीहरू टिक्न सकिरहेका छैनन् ।”

नयाँ विषय

पछिल्लो समय विद्यार्थीको आईटी (सूचना प्रविधि) विषयमा आकर्षण बढ्दो छ । समाजमा प्रविधि प्रयोगमा भएको वृद्धिले पनि यो क्षेत्रमा रोजगारीका नयाँनयाँ अवसरसमेत सिर्जना गरेको छ ।

“नेपालमा पनि पछिल्लो समय मोबाइल एप निर्माण, रोबोटिक्स, डिजिटल सेक्युरिटीलगायतका काम हुन थालेका छन् । यसले विद्यार्थीलाई रोजगारीको अवसर सिर्जना गरिरहेको छ,” नयाँ आयाम मल्टिडिसिप्लिनरी इन्स्टिच्युट (नामी) कलेजका प्रमुख कार्यकारी अधिकृत पवन पोखरेल भन्छन् । प्रविधिमा आधारित रोजगारीका लागि सबै क्षेत्रमा भौतिक उपस्थिति आवश्यक नपर्ने हुँदा पनि नेपालमै बसेर विदेशका लागि समेत काम गर्न सकिने पोखरेलको भनाइ छ ।

सबै क्षेत्रमा प्रविधि प्रयोगमा भएको वृद्धिले विषयहरूबीच पनि समायोजनको आवश्यकता बढ्दै गएको छ । यही कारण अहिले मुलुकमा पनि प्रविधि, व्यवस्थापन र साहित्य विषयलाई समायोजन गरेर कार्यक्रम तयार भइरहेको छ । त्रिभुवन विश्वविद्यालयले यसै शैक्षिक सत्रबाट कम्प्युटर एप्लिकेसनमा स्नातक तह (बीसीए) को कार्यक्रम सार्वजनिक गरेको छ । विश्वविद्यालय मातहतका ६ वटा कलेजले ३५ सिटको दरमा विद्यार्थी अध्यापन गराउन सक्ने भएका छन् । पूर्वाञ्चल र पोखरा विश्वविद्यालयले समेत यी विषयको कार्यक्रम तयार पारेका छन् ।

“यसअघि मानविकी संकायमा व्यवस्थापनका कुनै विषय हुँदैनथ्यो । तर, यस कार्यक्रमले साहित्य, व्यवस्थापन र आईटी सबै विषयलाई गाभेको छ,” नेपाल मेगा कलेजका कार्यक्रम निर्देशक मधुकर पाण्डे भन्छन् । तर, यसै वर्षबाट मात्र यो विषयको अध्यापन सुरु हुन थालेकाले विद्यार्थीमा यसको जानकारी पुग्न नसकेको काठमाडौँ कलेज अफ सेन्ट्रल स्टेटका प्रिन्सिपल रमेश घिमिरे बताउँछन् । भन्छन्, “यस विषयमा यो वर्ष पूर्ण क्षमतामा विद्यार्थी भर्ना हुने सम्भावना कम छ । विद्यार्थीले पर्याप्त जानकारी पाई नसकेकाले यस्तो स्थिति देखिएको हो ।”

प्रकाशित: भाद्र २४, २०७५

ट्याग: शिक्षा