स्कुले हजुरआमाहरू

- दुर्गालाल केसी

दाङ– बिहान ११ बज्न लाग्दा विद्यालय जाने हतारो हुन्छ, घोराही–१८ रझेनाकी भावना अधिकारी, ७३, लाई । कापी, किताब, झोला, टिफिनको तयारी गर्नैपर्‍यो । तर, यो तयारी नातिनातिनाका लागि होइन, आफ्नै लागि हो ।

१३ वर्षमै विवाह बन्धनमा बाँधिएकी अधिकारीको ५ छोराछोरीलाई हुर्काइ–पढाइसकेपछि बल्ल स्कुले पालो आएको छ । उनी अहिले ६ कक्षा पढ्छिन् । बिहानै उठेर चण्डी पाठ गर्छिन्, मोबाइल चलाउँछिन्, कविता लेख्छिन् ।

सानैदेखि उनलाई धार्मिक ग्रन्थका कथा सुन्न मन लाग्थ्यो । तर, पढ्न नसक्ने भएकाले रहर मारेरै बस्नुपरेको थियो । मनमनै कविता रचना गरेकी थिइन् । तर, लेख्न सकेकी थिइनन् । भन्छिन्, “लेख्न नसिकेको भए मेरा कविता यत्तिकै खेर जान्थे । अब पुस्तक नै बनाएर छाप्ने हो ।”

रझेनाकै बसुन्धरा गौतम, ६०, पनि वैशाखदेखि विद्यालय जान थालेकी छन् । “आजसम्म आफ्नो नाम लेख्न सकिएको थिएन । बल्ल आफैँ लेख्न पाइयो,” उनले भनिन्, “मोबाइल नम्बर हेर्न, फोन गर्न, रुपैयाँ चिन्न सजिलो भएको छ ।”

भावना र बसुन्धराजस्ता घोराहीका ७८ गृहिणी अहिले नियमित विद्यालय जान्छन् । बाल्यकालमा पढ्न नपाएका गृहिणीलाई दृष्टिगत  गरी ०६६ मा स्थापना भएको चेतना अनौपचारिक प्रौढ विद्यालय उनीहरूको दिनभर सिक्ने थलो भएको छ । बिहान खाना पकाउने, लुगा धुने र बालबालिका विद्यालय पठाउने काम सकेर ११ बजे विद्यालय सुरु हुन्छ भने अपराह्न बालबालिका विद्यालयबाट फर्कने समय पारेर ३ बजे बन्द हुन्छ । यो अवधिमा विभिन्न उमेर समूहका आमा र हजुरआमाहरू अक्षर सिक्छन् ।

घोराही–१३ बडहराकी केशरा पोख्रेल, ५५, कक्षा ४ मा पढ्छिन् । पढाइले उनको जीवन धेरै सहज भएको छ । “बसमा यात्रा गर्दा गाडी नम्बर हेर्न सकिँदैनथ्यो । टिकट काट्दा पनि समस्या हुन्थ्यो,” उनी भन्छिन्, “अहिले गाउँघरमा समूहका बैठक बस्दा माइन्युट लेख्न सक्छु ।”

बुटवलकी चेतकुमारी कोइराला, ५७, लाई उपचारार्थ अस्पताल जाँदा साह्रै समस्या हुन्थ्यो । कर्मचारीले यति नम्बर कोठा जाऊ, फलानो डाक्टरलाई भेट, फलानो विभागमा जाऊ भन्थे । पढ्न नजान्ने मान्छेले कसरी भेटाउनु ? भन्छिन्, “पढ्ने कुरा जागिर खानलाई मात्रै रहेनछ । व्यक्तिगत जीवनमा पनि धेरै काम लाग्ने रहेछ ।” अहिले उनी २ कक्षा पढिरहेकी छन् ।

पाका महिलालाई पढाउँदा शिक्षिकाहरू पनि रमाइलो अनुभव गरिरहेका छन् । “बालबालिकालाई पढपढ भन्नुपर्छ । तर, यहाँ केही भन्नुपर्दैन,” प्रधानाध्यापक सुमित्रा सुवेदी भन्छिन्, “एकछिन कक्षामा जान ढिला भयो कि बोलाउन आइहाल्छन् । तर, उमेर धेरै भएकाले एउटै कुरा दोहोर्‍याएर सिकाइरहनुपर्छ ।”

विद्यालयमा सात शिक्षिकाले स्वयंसेवा गरिरहेका छन् । सरकारले दुई सहयोगीलाई खर्च बेहोरे पनि बाँकी विद्यालय आफैँले जुटाइरहेको छ । भाडा तिर्न कठिन भएपछि अहिले रझेना टोल विकास संस्थाको संरक्षणमा रहेको घोराही उपमहानगरपालिकाको ३ कट्ठा जग्गामा भोगाधिकार लिएर स्कुल सञ्चालन भइरहेको छ । विद्यार्थी र सहयोगी गुहारेर बल्ल भवन बनाए पनि फर्निचर, कम्पाउन्डलगायत अन्य संरचनामा ध्यान दिन नसकिएको सुवेदीको गुनासो छ ।

यही स्कुलमा पढेका सात जनाले एसईई उत्तीर्ण गरिसकेका छन् । यहाँ अहिले ६ कक्षासम्म मात्रै पढाइ हुन्छ । प्रधानाध्यापक सुवेदी भन्छिन्, “प्रौढ विद्यालय नै उपयुक्त हुने भएकाले कक्षा बढाउनुपर्‍यो भन्नुभएको छ । क्षमताले भ्याए  बिस्तारै बढाउँदै जाने सोचमा छौँ ।”

प्रकाशित: भाद्र २४, २०७५