केलाई मान्ने समाजवाद ? [पुस्तक समीक्षा : समाजवादको यात्रा]

पुस्तक : समाजवादको यात्रा युटोपियादेखि चौथो आयामसम्म | लेखक : डम्बर खतिवडा | प्रकाशक : साङ्ग्रिला बुक्स | पृष्ठ : ३१२ | मूल्य : रु ३९५

- माधव बस्नेत

'नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौम सत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवादउन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो ।’ संविधानको धारा ४ उपधारा १ मा उल्लेख वाक्यांश हुन् यी । तत्कालीन वाम गठबन्धनले संघीय र प्रदेशसभा निर्वाचन प्रचारप्रसारका बेला आफ्नो नेतृत्वमा सरकार बनेपछि साधारणजनको घर–आँगनमै समाजवाद ल्याइदिने वाचा गरेको थियो । त्यही वाचाको अत्तर छर्केको घोषणापत्र पनि तयार भयो । घोषणापत्रमा ‘लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समाजवादको अभ्यास गर्ने’ उल्लेख छ । लेखिएको छ, ‘आजको समाजवाद आजकै विशेषतामाथि आधारित भएर मौलिक ढंगले मात्र निर्माण गर्न सकिन्छ र गर्नुपर्छ । प्रतिस्पर्धात्मक बहुदलीय राजनीतिक प्रणाली र लोकतान्त्रिक मूल्य–मान्यता नेपाली समाजवादका विशेषताका रुपमा रहनेछन् ।’ शब्दमा मात्रै सही, समाजवादउन्मुख राज्य व्यवस्थामा जिइरहेका छौँ हामी ।

बृहत् नेपाली शब्दकोशका अनुसार समाजवादको अर्थ ‘समाजमा रहेको आर्थिक विषमता हटाई समता ल्याउनुपर्छ भन्ने र देशको सम्पूर्ण सम्पत्तिमा कसैको एकलौटी अधिकार हुन नदिई सबैले मिलेर परिश्रम गर्दै उत्पादन र उपभोक्ताका साधनमा समाजको साझा अधिकार रहनुपर्छ भन्ने राजनीतिक सिद्धान्त’ हो । त्यही बाटोमा उन्मुख छौँ त ?

पछिल्ला दिनमा समाजवादको नारा लगाउनेहरुले नै भन्न थालेका छन्, समाज यति धेरै व्यक्तिवादी अनि भौतिक सुख प्राप्तिको चिन्तनमा निर्लिप्त भयो कि मानवतावादी सोच हराउँदै गएको छ । सामाजिक परम्परा, मूल्य–मान्यता, एकता र सामूहिकता दिनानुदिन कमजोर बनिरहेको छ । शब्दकोशमा भएको व्याख्याविपरीत जनताको जन्मसिद्ध अधिकारसँग गाँसिएको गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा, रोगजारसमेत पहुँच, पैसा र भनसुनमा निर्धारण हुन थालेको छ । अझ हाम्रो मुलुकको हकको मात्र कुरा गर्ने हो भने धनी र गरिबबीचको खाडल इतिहासमै सबैभन्दा फराकिलो बनेको छ । प्रश्न उठ्छ– नेपाली विशेषतासहितको समाजवाद भनेको विभेद नै विभेदले भरिपूर्ण समाज हो ? मानवता, सामूहिक हितका लागि भन्दा व्यक्तिगत स्वार्थमा निर्लिप्त हुनु नै समाजवादको आधुनिक परिभाषा हो ?

समाजवादका विषयमा बहस हुन थालेको सयौँ वर्ष भयो । यसको व्याख्या गर्ने अनेक चिन्तक, दार्शनिक जन्मिए । समाजवादमाथि केन्द्रित भएर हजारौँ पुस्तक लेखिए । यिनैमध्ये पछिल्लो छिमलको पुस्तक हो, समाजवादको यात्रा । २१औँ शताब्दीको समाजवादको सम्भावना, चुनौती, गन्तव्यबारे संसारभर र नेपालमा समेत अनकानेक बहस भइरहेका बेला त्यही विषयमा केन्द्रित भएर डम्बर खतिवडाले पुस्तक ल्याएका हुन् । पुस्तकले समाजवादको यात्राको प्रीतिकर र कारुणिक दुवै पक्ष खोतल्ने गहकिलो जमर्को गरेको छ । समाजवादमाथि अनेकौँ बहस भए पनि, हजारौँ पुस्तक लेखिए पनि व्यवहारमा त्यो कस्तो हुन्छ, कसरी लागू हुन्छ ! कसैले निचोड प्राप्त गर्न सकेका छैनन् । समाजवाद केलाई मान्ने भन्ने सवाल पनि आ–आफ्नै व्याख्यामा सीमित छ। लामो समय कम्युनिस्ट शासन आगालेको रुसले आफ्नो देशमा समाजवाद आइसकेको दाबी गर्ने गरेको थियो । भलै उसका विरोधीहरुले रुसी साम्राज्य भन्ने गरेका थिए । सन् १९९० कै दशकमा रुसमा कम्युनिस्ट शासन ढल्यो । शासनै ढलेपछि समाजवाद रहने कुरै भएन ।

अहिले पनि कम्युनिस्ट शासन चलाइरहेको चीनले समाजवादको बाटोमा हिँडिरहेको र समाजवाद कार्यान्वयनको दाबी गरिरहेको छ । उसका विरोधीहरुले निरंकुश शासन भनेर उछितो काढिरहेका छन् । खतिवडा लिखित समाजवादको यात्रा यावत् विषयमा केन्द्रित छ ।

समाजवाद, साम्यवाद भन्नेबित्तिकै माक्र्सको नाम नजोडी सुखै छैन । हेगेलको द्वन्द्ववाद, लुडविग फायरवाखको भौतिकवादको विकासबाट प्रभावित हुँदै हुर्किएका माक्र्स र एङ्गेल्सले कम्युनिस्ट घोषणापत्र सार्वजनिक गरेपछि नै समाजवाद, साम्यवादको आधुनिक व्याख्या, यसका सबलता, सीमाबारे बहस घनीभूत हुन थालेको हो, जो आजपर्यन्त कायमै छ । पुस्तकको सीमा के भने एउटै विषयमा मात्र केन्द्रित छैन, अलि बहकिएको छ । सन्दर्भसामग्री उल्लेख गरिएको छैन । निबन्ध शैलीको प्रस्तुति छ, जसलाई लेखकले समेत स्वीकारेका छन् । संसारमा विभिन्न समयमा दार्शनिकहरु कसरी जन्मिए, दर्शनको विकास कसरी भयो जस्ता विषय समेटिएको छ, पुस्तकमा । विभिन्न दर्शन अध्ययन नगरेकाहरुका लागि राम्रो सामग्री बन्नेछ, यो पुस्तक ।

प्रकाशित: भाद्र २०, २०७५