[निबन्ध] बुढेसकाल बेचेर खाल्डो किन्छन्

- नवराज पराजुली

१४ इन्चको ब्ल्याक एन्ड ह्वाइट टीभीमा शनिबार दिउँसोको फिलिम हेर्दाहेर्दै कहिलेकाहीँ ब्याट्री सकिँदै जान थाल्थ्यो, अनि टीभीभित्रको मान्छे झन् सानोसानो हुँदै हल्लिँदै–हल्लिँदै, झिर्र भएर सक्किन्थे । त्यतिन्जेल हिरो सानै हुन्थ्यो अनि हिरोका बाआमालाई गुण्डाले खुब हेपेका हुन्थे । म सोच्थेँ, यो हिरो ठूलो हुन्छ र आफ्ना बाआमालाई दु:ख दिनेसँग बदला लिन्छ । म सोच्थेँ, म ठूलो हुन्छु अनि हलो र चुलोसँग बदला लिन्छु किनकि मेरा बाआमालाई यिनैले दु:ख दिएका छन् । तर, फिलिम हेर्दाहेर्दै ब्याट्री सकिँदै जान थालेपछि टीभीभित्रको मान्छे झन् सानोसानो हुँदै हल्लिँदै–हल्लिँदै, झिर्र भएर सक्किन्थे । 

म डराउँथेँ । मलाई लाग्थ्यो, त्यो हिरो ठूलो हुनै पाएन । म कहिल्यै ठूलो हुन्न । मलाई लाग्थ्यो, हिरोका बाआमालाई गुण्डाले हेपिरहे । चुलो र हलोले मेरा बाआमालाई सधैँ हेपिरहने छन् । स्कुलमा भोलिपल्ट साथीहरुले हिरो ठूलो भएर गुण्डासँग बदला लिएको कुरा अनि उसका बाआमालाई हिरोले खुसी राखेको कुरा सुनाउँथे । तर, म केही गरी पत्याउन्नथेँ । 

मलाई लाग्थ्यो, अरुको गाउँको टीभीमा पनि हिरो सानै रह्यो, अरुका गाउँका टीभीका बाआमालाई हिरोले केही गर्न सकेन । आज मेरा केही साथी सहर वा विदेशमा बसेका छन्, जसका बाआमा गाउँमा एक्लै  छन् । ती साथीहरु मलाई भन्छन्, “म आज ठूलो भएको छु, पैसा कमाएको छु अनि गाउँमा बसेका आफ्ना बाआमालाई सुख दिइरहेको छु ।” आज म केही गरी पत्याउन्नँ । मलाई लाग्छ, गाउँमा बाआमालाई चार्ज सक्किएको ब्याट्रीजस्तो गरी छाडेर सहर वा विदेशमा बस्ने हामीहरु बाआमाले हेर्दाहेर्दै, टाढा हुँदैहुँदै झन् सानोसानो हुँदै, हल्लिँदै–हल्लिँदै, झिर्र भएर सक्किदैछौँ ।

आज मोबाइलमै टीभी छ, हजारौँ हिरोहरु मेरो मोबाइलमै सुत्छन्, उठ्छन् । गाउँमा बस्ने मेरी आमालाई आफ्नो हिरो हेर्न मन लाग्छ । भिडियो कल नाम गरेको जिनिस पनि त छ । कहिलेकाहीँ हामी आमाछोरा भिडियोमा हेर्दै बोल्छौँ । तर, त्यसबाट बोल्दा मेरी आमा मेरो दाह्री मुसार्न खोज्नुहुन्छ, मोबाइलको स्क्रिनभित्रको दाह्री छुन मिल्दैन भन्ने आमालाई थाहा छ । तर, मिल्दैन भन्ने थाहा भएको कुरामा स्वास अडिादो रहेछ । आमा भन्नुहुन्छ, “बरु नाम अलि कमै होस्, पैसा अलि कमै होस् । तर, साँझ छोरासँगै बसेर खाना खान मिल्ने काम गर्न मिल्दैन, छोरा ?” 

आज चुलोले आमालाई हेप्दैन, दाउराको धूवाँले गर्दा स्वास फेर्न गाह्रो नहोस् । आमाको छाती नदुखोस् भनेर म सिलिन्डर ग्यास किन्ने पैसा पठाइदिइरहन सक्छु । तर, त्यही ग्यासमा पकाएको फर्सीको मुन्टा खाएर राती सुत्ने बेला आमा बुबालाई भन्नुहुँदो रहेछ, “काले, फर्सीका मुन्टा भनेपछि हुरुक्कै हुन्थ्यो ।” म बसेको सहरमा फर्सीको मुन्टा किन्न पाइन्छ भन्ने कुरा आमालाई थाहा छ । तर, किन–किन आमालाई लाग्दो रहेछ, यहाँको तरकारी बेच्ने ठाउँमा फर्सीको मुन्टालाई अरु कुनै तरकारीले छेकेको वा छोपेको हुन्छ अनि आफ्नो छोरोले देख्दैन र अरु नै तरकारी किनेर लान्छ ।

आज हलोले बुबालाई हेप्दैन, गाउँमा ट्याक्टर आएको छ । म ट्याक्टरलाई तिर्ने पैसा पठाइदिन सक्छु । तर, धान बेचेर हातभरि पैसा भएको दिन बुबालाई आफ्नो छोरालाई पाँच रुपैयाँ दिन मन लाग्दो रहेछ । अनि, आमालाई भन्नुहुँदो रहेछ, “नबुलाई पाँचको नोट खुब मन पर्छ, आजभोलि हजार–हजार कमाउँछ, उसलाई पाँचको नोट मन पर्न छाड्यो होला है ?”

अब शनिबार दिउँसो फिलिम हेर्न इन्डियन लाहुरे तामाङ बाकोमा जानुपर्दैन, ब्याट्री चार्ज गर्ने भनेर फिलिम हेरेको एक रुपैयाँ तिर्नुपर्दैन, अहिले घरमा रंगीन टीभी पनि छ । दर्जनौँ च्यानलहरुमा फिलिम आउँछन् । हाम्रो घर आफूलाई एकदमै अभागी ठान्दो हो, पहिले ऊसँग छोराछोरी थिए तर फिलिम थिएनन् । त्यसैले परिवार सँगै भएन, अहिले  ऊसँग फिलिमहरु छन् तर छोराछोरी छैनन्, त्यसैले परिवार सँगै भएन ।

मेरो घरले म हुर्केको त देख्यो तर मेरा छोरी हुर्केको देखेन, सायद देख्दैन । मेरो घरले मलाई छोरो मान्थ्यो भने उसले आफ्नी नातिनी हुर्केको नदेख्ने भयो । बूढो घर मेरी एक वर्षकी छोरीसँग क्या मीठो गरी जिस्किन्थ्यो होला है ! तर, यस्तो नहुने भयो । घरका भित्ताले म एक वर्षको हुँदा मैले गरेको चकचक आज मेरी एक वर्षकी छोरीलाई क्या शानले  सुनाउँथ्यो होला है ? म सानो हुँदा, भित्ताहरु पनि त जवान नै थिए नि । अहिले म जवान छु, भित्ताहरु बूढा भए । अब मेरो घरमा छोरीको तोतेबोली गुन्जने छैन । बिस्तारै–बिस्तारै गाउँका घरहरुले बालभाषा बिर्संदै छन्, बिस्तारै–बिस्तारै गाउँका बूढाबूढीले बालभाषा बिर्संदै छन् । 

बच्चा हुन बिर्सेको बूढो मान्छे खतरनाक हुन्छ ।

मेरो बुबाले तत्काल बनाउँदै, थप्दै बनाउँदै, लम्ब्याउँदै सुनाउने कथा मेरी छोरीले सुन्न नपाउने भई । मेरी छोरीले आमाले सुनाउने केराको पातका गीतहरु सुन्न नपाउने भई । मेरी छोरीले बूढाबूढीको भाषा सुन्न नपाउने भई ।

बूढो भाषा नसुनेका केटाकेटीहरु खतरनाक हुन्छन् ।

हामीमध्ये कतिका आमाहरुलाई अरु बेला हामी बसेको ठाउँमा ल्याउन हामीलाई एकदमै गाह्रो हुन्छ । हामी व्यस्त हुन्छौँ, पैसा पुग्दैन, के–के हो के–के ! भनिसाध्य छैन । तर, जब सुत्केरी स्याहार्ने एक जना अनुभवी मान्छे चाहिन्छ, तब हामी एक्कासि फुर्सदिला हुन्छौँ अनि आमालाई हामीकहाँ ल्याउने पैसा पनि पुग्छ । आफ्नो बच्चा हुर्केपछि फेरि एक्कासि हामी खपिनसक्नु व्यस्त हुन्छौँ अनि पैसाको पनि अभाव हुन थाल्छ । त्यसपछि हाम्रा छोराछोरीलाई आमाले मोबाइल नाम गरेको टीभीमा देख्न थाल्नुहुन्छ । गाउँमा रहेका हाम्रा आमाबुबाले नातिनातिनालाई टीभीको स्क्रिनमा हेर्दाहेर्दै किनकिन बिस्तारै आफ्नो टीभीको स्क्रिन झन् ठूलो, झन् ठूलो भएको देख्न थाल्नुहुन्छ ।

कहिलेकाहीँ त बुबाआमा झुक्किनुहुन्छ, कि त्यो टीभीभित्रको बच्चा आफ्ना नातिनातिना हुन् या टीभीको कार्यक्रमका केटाकेटी !

के सोचेर हो बुबाआमा आजभोलि टीभीमा पनि कार्टुन हेर्नुहुन्छ !

यता हाम्रा केटाकेटी पनि कार्टुन नै हेर्छन् । तर, आफ्ना हजुरबुबा हजुरआमा देख्दैनन् । कहिलेकाहीँ मात्र मोबाइलको टीभीमा आउने बूढाबूढी हाम्रा केटाकेटीलाई खासै मन पर्दैन किनकि ती बूढाबूढी उनीहरुलाई जहिल्यै एउटै प्रश्न मात्र सोध्छन्, ‘बाबु–नानु, के खायौ ?’ 

पहिले बाआमाले सोचेका थिए होलान्, आज मैले टीभी किनिदिन सकिनँ । त्यसैले छोराछोरी घरबाट टाढा भए । तर, मैले यिनीहरुलाई पढाएको छु, भोलि यिनीहरुले टीभी किन्नेछन् र घरमा सँगै बसेर रामायण हेरौँला ।’ तर, आज हामी छोराछोरी बाआमालाई एउटा टीभी किनिदिएर सिमेन्टको जंगल पसेका छौँ । आज बुबाआमा एक्लै रामायण हेर्नुहुन्छ, जहाँ छोरो बुबाका लागि १२ वर्षलाई वनवासमा जान्छ ।  हेर्दाहेर्दै टीभीमा आफ्नो छोरो देख्नुहुन्छ, जो आफ्ना लागि खोइ कति वर्षका लागि (सायद सधैँका लागि) सिमेन्टको जंगलवासमा जान्छ । 

म टाढा सहरमा बसेर युट्युबमा रामायण हेर्छु अनि जब भरतकी आमा कैकैयीले दशरथलाई भनेर रामलाई वनवास पठाउने खेल खेल्छिन्, जब अलिअलि गर्दै एउटा बूढो हुँदै गरेको बाउ र छोरोलाई सधैँभरिलाई छुट्याउने खेल खेल्छिन्, तब म भिडियो रोकेर कैकैयीको आँखा ‘जुम’ गरेर हेर्छु अनि ती आँखाभित्र एउटा डरलाग्दो भिडियो देख्छु । त्यो भिडियोमा मैले चिनेका तिनै मान्छेहरु देख्छु, जो म सानो भएदेखि अहिलेसम्म टीभीमा मच्चीमच्ची भाषण गरिरहेका छन् । बल्ल बुझ्दैछु, यहाँ एउटा अर्कै मान्छेहरु रहेछन् । ती तब मात्र जिउँदो रहन सक्ने रहेछन्, जब मेरा बुबाआमा र म टाढाटाढै र छुट्टाछुट्टै हुन्छौँ । यहाँ अरु नै मान्छे रहेछन्, जो हाम्रा बाआमा र हामीबीचमा खाल्डो बनाउँछन् । हाम्रा छोराछोरी र उनीहरुका हजुरबुबा–हजुरआमाबीचमा खाल्डो बनाउँछन् । त्यही खाल्डो हामीलाई बेचिरहन्छन् अनि हामी सहर वा विदेशमा जवानी बेचेर त्यही खाल्डो किनिरहन्छौँ । अनि, हाम्रा बुबाआमाहरु गाउँमा बुढेसकाल बेचेर त्यही खाल्डो किनिरहन्छन् । 

हामी दिनदिनै खाल्डो किनेर खाल्डो भइरहेछौँ अनि ती मान्छेहरु दिनदिनै खाल्डो बेचेर पहाड भइरहेछन् !

अझै हामी त्यही खाल्डो किनिरहने ?

कि त्यो खाल्डो पुर्ने ?

त्यो खाल्डो पुर्न खाली ठाउँमा कसलाई हाल्नुपर्छ, तपाईंलाई थाहा छ !

 

प्रकाशित: भाद्र २०, २०७५