नांगो गोपनीयता

- सुरेश किरण

नेपाल सरकारले हालै ल्याएका नयाँ कानुनमध्ये एउटा चर्चित कानुन हो, गोपनीयता सम्बन्धी हकको कानुन । अहिले बजारमा जहाँ गए पनि यही कानुनको चर्चा छ । मिडिया क्षेत्रमा त चर्चा मात्र होइन, हैरानी पनि छ । 

यो ऐन आएपछि अब कसैले कसैको गोप्य कुरा बाहिर ल्याउन पाउँदैन । अझ विशेषगरी सरकारी व्यक्तिहरुको गोप्य कुरातिर त आँखा पनि लगाउन पाइँदैन । बाहिर ल्याउने त कुरै छाड्नोस् । मानी लिऊँ, कुनै सरकारी पदाधिकारीको शैक्षिक प्रमाणपत्र नक्कली छ । छ भने छ । त्यसलाई बाहिर ल्याउन पाइँदैन । ल्याए गोपनीयता भंग गरेको कानुन लाग्नेछ । त्यस्तै, कुनै मन्त्रीज्यूका दुइटी श्रीमती छन् । एउटा खुल्ला, अर्को गोप्य । खुल्ला त खुल्ला भइहाल्यो, गोप्यवालीको कुरा पनि बाहिर ल्याउन पाइँदैन । ल्याए गोपनीयता भंग गरेको कानुन लाग्नेछ । घुस, कमिसन, भ्रष्टाचार सबै गोप्य रुपमा गरिन्छ । अब त्यसलाई पनि बाहिर भन्न पाइँदैन । भने गोपनीयता भंगको ऐनले समाउनेछ ।

यो यस्तो ऐन हो, जसले व्यक्तिको गोपनीयताको पूरै रक्षा गर्छ । व्यक्तिको गोपनीयताको यति साह्रो रक्षा गर्ने कानुन नेपालमा न कहिले बनेको छ, न त कहिले बन्छ नै । अब यहाँसम्म त ठीकै हो । तर, अचम्मलाग्दो कुरो के छ भने गोपनीयताको रक्षा गर्ने यस्तो ऐन पनि सरकार भने पूरै नांगो शैलीमा लागू गर्दैछ ! ऐन त यो गोपनीयताको रक्षा गर्नलाई ल्याएको हो । तर, यसले सरकारलाई भने पूरा नांगो बनाइदिएको छ । नपत्याए हेर्नुस्, गोपनीयताको ऐनले सरकारलाई कति नंग्याइसक्यो । 

अब साथसाथै विडम्बना पनि हेर्नुस्, ऐनले त सरकारलाई नंग्याई नै दियो । तर, त्यही ऐनले ‘सरकार नांगो छ’ भन्न बर्जित पनि गरिदियो । जुन सरकार यति नांगो शैलीमा गोपनीयताको कानुन ल्याउँछ, अब त्यो सरकारको के पो कुरा गोप्य छ र !   

प्रकाशित: भाद्र १९, २०७५