नुनमाथि नहर

- जे पाण्डे/नेपालगन्ज

सिँचाइ मन्त्रालय र विभागका इन्जिनियर तथा प्रमुखहरूले गिलासमा नुन, चिनी र पानी घोलेर होइन, नुनिलो माटोमाथि पानीको नहर नै बनाएर पैसाको प्यास मेट्ने माध्यम बनाए, तराईको सिक्टा सिँचाइ आयोजनालाई ।

आयोजना, विभाग र मन्त्रालय तीन तहका इन्जिनियरलाई थाहा थियो, ‘स्वीट्स एन्ड साल्टी स्वायल’ (गुलियो र नुनिलो माटो) मा पानीको थोपो पर्नु हुँदैन । नुन र चिनी पानी पर्नासाथ पग्लिने वस्तु हुन् । तर, जानाजान त्यस्तै घुलनशील माटोमा नहर बनाउने र त्यसमा राप्ती नदीको ५० क्युमेक्स पानी छाड्ने योजना कार्यान्वयन गरे । कमजोर नहर निर्माण गर्दा भत्किँदै जाने र मर्मत सुधारमा बजेट थपेर दुरुपयोग गर्ने नियत देखिन्छ सिक्टामा ।

यस्तो तथ्यसहितको रहस्य त्यतिबेला खुल्यो, जब पहिलो पटक आयोजना अन्तर्गत झिझरी खोलामा नहर फुट्यो, १४ असार ०७३ मा । पानी परीक्षण गर्ने बेला नहर भताभुंग हुनुको प्रमुख कारण हो, ‘साल्टी स्वायल’ माथि नहर बनाउनु । कतिपय प्राविधिक स्वीट्स स्वायलमा निर्माण गरेकाले नहर भत्केको दाबी गर्छन् ।

५० क्युमेक्स पानीको बहाव थाम्ने क्षमता हुुनुपर्ने नहरको संरचना २५ क्युमेक्स पानी छाड्दा नै भत्किएपछि साल्टी स्वायलमा पानीको नहर निर्माण गर्ने नीतिगत भ्रष्टाचार सतहमा देखिएको हो । संघीय संसद्मा त्यसको विरोध भयो । गुणस्तरहीन कामको प्राविधिक छानबिन गरी सम्बन्धितलाई कारबाही गर्न सांसदले माग गरे । मन्त्रालय र विभागका प्रमुखहरूले छानबिन टोली पठाएको भन्दै अलमल्याए । भत्केको नहरलाई टालटुल पारियो । छानबिन त्यसै तुहियो ।

३ वर्षपछि ४ क्युमेक्स पानी परीक्षण गर्दा अर्को ठाउँ चंगाई खोलानजिकै नहर फुट्यो, ७ साउन राती ९ बजे । फेरि अनेकथरी छानबिन समिति बनेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धेरै पटक सिक्टामा हात हालिसक्यो । तर, एकपटक पनि कारबाही गरिएको छैन । साउने झरीमा आयोग तात्ने अनि सेलाउने कारण खोजीको अर्को विषय बनेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आफ्नो कमजोरी आफैँले खोज्ने भन्दै सहसचिव सुशीलचन्द्र तिवारीको संयोजकत्वमा पठाएको छानबिन टोली भत्केको नहर टालटुल पारेको १ महिनापछि अर्थात्, ३ भदौमा बल्ल पुग्यो । विभागले आयोजना निर्देशक रमेश बस्नेतलाई तानेर कृष्ण नेपाललाई सिक्टामा पठाएको छ । तर, मुख्य कारण र दोषी पत्ता लगाउनेतिर कसैले ध्यान दिएका छैनन् ।

पहिलो पटक नहर फुट्दा आयोजनाको आंशिक सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य तुहेको थियो । तर, दोस्रो पटक फुटेसँगै आयोजनाको १५ किलोमिटर नहर पूरै काम नलाग्ने र असफल पुष्टि गर्ने ‘अति गोप्य’ प्राविधिक प्रतिवेदन पनि फेला परेको छ । सिक्टाले ३ वर्ष पहिले नै जीओ टेक्निकल एन्ड एसोसियट प्रालिलाई नहर भत्किनुको कारण खोजी गर्न जिम्मा लगाएको थियो । विश्वरञ्जन शाहीसहितको प्राविधिक टोलीले नहर क्षेत्रको एकदेखि डेढ मिटर गहिरो जमिनभित्रको माटो प्रयोगशाला जाँचपछिको निष्कर्षमा भनिएको छ, ‘धेरै ठाउँमा मध्यमदेखि उच्च घुलनशील अवस्थाको माटो देखियो । यस्तो माटोमा भएको निर्माणमा पानी चुहिएर, पाइपिङ भएर असफल हुने सम्भावना बढी छ ।’

विज्ञहरूका अनुसार बाँध अथवा अन्य संरचना निर्माण गर्दा पहिले माटोको पहिचान र उपचार नभए कुनै पनि नहर संरचनाको स्थायित्व रहँदैन । रातो, पहेँलो र खैरो रङका माटो निकै घुलनशील हुन्छन् । यस्ता माटोमा निर्मित नहरमा पहिलो पटक पानी भर्दा, छाड्दा र पानीको सम्पर्कमा आउँदा जटिल समस्या उत्पन्न हुन्छन् । यस्तो माटोमा निर्मित नहरमा पानी पर्नासाथ पाइपिङ भएर भित्रभित्रै प्वाल पार्छ । भित्री भागमा सानाठूला छिद्र र भड्खाला बन्छन् । आकाशे वर्षा होस् वा नहरको पानीले पनि बाँधको माथि वा बाहिरी भागमा क्षति पुर्‍याउँदै जान्छ ।

शिक्षा नलिई सिक्टा

डबल हाइड्रो मिटर परीक्षणमा घुलनशील क्षमता ३० प्रतिशतभन्दा कम भएमा माटो सामान्य मानिन्छ । ५० प्रतिशतभन्दा बढी भए निकै खतरनाक । प्राविधिक दृष्टिले घुलनशील माटो भएको निर्माणस्थल नै अयोग्य मानिन्छ । परीक्षणपछि सिक्टाका ६ स्थान नहरका लागि अयोग्य देखिएका छन् । ढकेरी गाउँमा जटिल समस्या देखिएन । ओभरी पुल दक्षिणमा ५५.८८ प्रतिशत । चगाई नालावरपर ५६.४४ प्रतिशत देखियो । झिझरी डाँडामा ५८.७५ प्रतिशत, चाँदीभागरा नालावरपर ६०.६४ प्रतिशत र डुडुवा नालामा ५७.१४ घुलनशील माटो छ ।

नहरमा पर्ने परुवा खोलादेखि डुडुवा नालासम्म १५ किलोमिटर क्षेत्रमा पूरै नुनिलो माटो छ । जमिनभित्र पूरै प्वालैप्वाल र सुरुङ छन् । त्यस्तो जमिनमा नहरका संरचना बनेकाले गत वर्ष झिझरीमा र यसपटक चंगाई नालानजिकै नहर फुटेको प्राविधिक बताउँछन् । कतिपय स्थानका साइफन र पानी खोलामा फाल्ने संरचना फुट्ने अवस्थामा छन् । नहरमा ढलानमुनिको र दायाँबायाँ किनाराको माटो कमजोर छ । बाहिरको पानी र भित्रैबाट पानी रसाएर प्वाल पार्ने हँुदा जहाँ, जहिले पनि टुट्ने, फुट्ने सम्भावना छ । “नुनको मात्रा बढी भएको स्थलमा बनेका नहरका संरचना भत्किन्छन् नै । किनकि, यस्ता माटोको मुख्य शत्रु पानी हो,” डिभिजनल इन्जिनियर वीरसिंह धामी भन्छन्, “सिक्टामा यसप्रति सुरुमै गम्भीर नहुँदा अहिले करोडौँ रकमको लगानी खेर जाने अवस्थामा पुग्यो ।”

इन्जिनियर धामी सुरुमा सिक्टामा कार्यरत थिए । सुरुआती चरणमा उनलाई नहर छेउमा किसानले चराउन ल्याएका गाईबाख्राले माटो खाएको र चाटेको देख्दा अचम्मै लाग्यो । यसको कारण र रहस्य विभागका इन्जिनियरहरूलाई बुझाउन ६ महिना लाग्यो । धामी भन्छन्, “त्यतिबेलै गम्भीर भएको भए अहिले न राष्ट्रको लगानी खेर जान्थ्यो, न त किसानका खेत सुक्खा रहन्थे ।”

दाबी आ–आफ्नै

२८ साउन ०७४ मा पनि सिक्टाको मूल नहर ठाउँठाउँमा भत्केको थियो । आकाशे वर्षा थेग्न नसक्ने भएकाले धेरै ठाउँमा चिराचिरा परेको थियो । साइफन फुट्दा मधुई र टिकुलीपुरका दर्जनौँ घर बगे । मुस्किलले ज्यान जोगाएका बासिन्दा अझै खतरामुक्त छैनन् । 

१३ वर्षमा मूल बाँध र ४५ किलोमिटर नहर निर्माण त भयो, तर नहर फुट्ने जोखिम भएकाले पानी अझै सञ्चालन भएको छैन । आयोजनाका अनुसार निर्माण कम्पनी कालिका कन्स्ट्रक्सन, व्यवसायी डिजाइन र माटोमा त्रुटि देखाउँदै जिम्मेवारीबाट पन्छिएका छन् । १४ अर्ब लगानी खेर जानुमा तत्कालीन निर्देशक कृष्णराज तिमिल्सिना, माधव बेलबासे, सर्वदेव जयसवाल, दिलीप कार्की, सरोज पण्डित, महेश्वरनरसिंह केसी र रमेश बस्नेत जिम्मेवार देखिन्छन् । उनीहरू आयोजना कस्तो भूधरातलमा छ भन्ने थाहा पाएर पनि मौन रहँदै आएका थिए ।

निर्माणकालदेखि नै सिँचाइ मन्त्रालय र विभागका अधिकारीसँगै प्राविधिकहरू बलियो बनाउने पक्षमा नभएको नहरको कमजोर संरचनाले प्रस्ट परेको छ । नहरको रेखांकनभित्र पर्ने अग्लो ठाउँबाट काटिएको नराम्रो माटो नजिकको होचो ठाउँमा लगेर निर्माणमा प्रयोग गरिएको छ । आयोजनाका एक इन्जिनियर भन्छन्, “स्वीट स्वायल भएको ठाउँमा नराम्रो माटोले पुरेको हुँदा पानी छाड्दा धेरै ठाउँमा भत्कने खतरा छ ।” निर्माणमा प्रयोग भएको धेरैजसो माटो अनुपयुक्त देखिएको छ ।

नहरका संवेदनशील तथा निकै कमजोर स्थानमा माथिल्लो मोटाइको माटो झिकी राम्रो माटो हाल्न सके भत्कने र वस्ती बगाउने जोखिम न्यून गर्न सकिने बताउँछन्, आयोजनाका पूर्वनिर्देशक महेश्वरनरसिंह केसी । तर, नहर क्यानल लाइनिङ स्ल्याबको मोटाइ (१० सेन्टिमिटर) र प्यानलको लम्बाइ (७.५ मिटर) को तुलनामा निकै कम छ ।

आयोजना र ठेकेदार कम्पनी नहरको भविष्यभन्दा आफ्नो बचाउको पक्षमा छन् । निर्माण जिम्मा लिएको सीटीसीई कालिका कन्ट्रक्सनका प्रोजेक्ट म्यानेजर युवराज क्षत्री नहर भत्किनुमा कम्पनी जिम्मेवार नहुने बताउँछन् । भन्छन्, “जस्तो ठाउँमा जसरी बनाउन भनियो र जुन सर्त थियो, त्यही गर्ने हो ।” नहरको पहेँलो र साल्टी स्वायलमा नहर बनाउँदा खतरा हुने भन्दै लिखित जानकारी दिँदा पनि बेवास्ता गरेको उनको दाबी छ ।

प्रकाशित: भाद्र १७, २०७५