पूर्वी ढोकामा अवैध प्रवेश

- पर्वत पोर्तेल/काँकडभिट्टा

अवैध रूपमा नेपाल छिरेका एक चिनियाँ नागरिक झापाको बिर्तामोडबाट पक्राउ परे चैत ०७३ मा । भोलिपल्टै एक अमेरिकी दक्षिण झापाको बनियानीबाट समातिए । त्यसअघि ३० असोज ०६८ मा गैरकानुनी रूपमा नेपाल छिरेका चार तिब्बती पूर्वी सीमा नाकाबाटै समातिएका थिए ।

अध्यागमन कार्यालय काँकडभिट्टाका अनुसार भीसा अवधि सकिएपछि पनि अवैध रूपमा नेपाल बस्दै आएका बुर्किनाफासोका नागरिक १६ वैशाख ०७४ मा काँकडभिट्टाबाट पक्राउ परेका थिए । “भिसा सकिए पनि अवैध ढंगले बसिरहेको अवस्थामा उनलाई समातिएको हो,” अध्यागमन प्रमुख पवन गुप्ता भन्छन्, “जरिवाना तिराएर छाडियो ।”

सन् १९५० को नेपाल–भारत मैत्री सन्धिको धारा ७ अनुसार नेपाली भारततिर र भारतीय नेपालतिर खुला रूपमा आउजाउ, व्यापार व्यवसाय र बसोबास गर्न पाउने प्रावधान छ । सोही प्रावधानका कारण भारतीयलाई वारि आउन र नेपालीलाई पारि जान अप्ठेरो पर्दैन । तर, खुला सीमाको फाइदा भने अन्य मुलुकका नागरिकले उठाउँदै आएका छन् ।

पूर्वी नाकाको फितलो सुरक्षाका कारण जुनसुकै विदेशी नागरिक पनि सहज रूपमा नेपाल प्रवेश गर्न सक्छन् । झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल दाबी गर्छन्, “विदेशीको अवैध प्रवेश र अन्य अवाञ्छित गतिविधि नियन्त्रण गर्न नाकामा कडाइ थालेका छौँ ।”

बंगलादेशी, भुटानी, तिब्बती र श्रीलंकाली नागरिकको समेत यो नाकाबाट अवैधानिक आगमन हुने गरेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा गत वर्ष अवैध रूपमा नेपाल प्रवेश गर्न लागेका पाँच श्रीलंकालीलाई सीमावर्ती सहर पानीटंकीबाट नियन्त्रणमा लिएपछि उनीहरूको अवैध आगमनको रहस्य खुलेको थियो ।

भारतीयसँग भाषा र रूपरंग मिल्दोजुल्दो हुने भएकाले सबभन्दा बढी बंगलादेशी अवैध रूपमा नेपाल छिर्ने गरेको पाइएको छ । उनीहरू भारत पनि अवैध बाटो भएर आउँछन् । यद्यपि, वैधानिक बाटोबाट नेपाल आउने र फर्किहाल्ने बंगलादेशीको संख्या पनि यो नाकामा उल्लेख्य छ ।

अध्यागमन कार्यालयका अनुसार चालू आर्थिक वर्षको पहिलो चौमासिकमा ६ सय ६६ बंगलादेशी नेपाल प्रवेश गरेका छन् । यस्तै, ३ श्रीलंकाली र ५ पाकिस्तानी पनि आएका छन् । तर, अध्यागमनसँग तिब्बतीको तथ्यांक छैन । उनीहरू अवैध रूपमा प्रवेश गर्ने भएकाले अध्यागमनको तथ्यांकमा नदेखिएको हुन सक्ने अनुमान कार्यालयको छ ।

मुम्बई बमकाण्डपछि बंगलादेशीलाई भारतले ‘ट्रान्जिट’ भिसामा कडाइ गरेको थियो । त्यसयता नेपाल आउने बंगलादेशीको संख्यामा गिरावट आएको छ । “भारतले भिसा नदिँदा उनीहरूको अवैध प्रवेश बढेको हुन सक्छ,” अध्यागमन स्रोत भन्छ ।

भारतीय बंगाली र बंगलादेशीको रूपरंग मिल्दोजुल्दो छ । भाषा पनि लगभग उस्तै बोल्छन् । पहिचान गर्न सक्ने संयन्त्र नहुँदा अध्यागमन कर्मचारी र प्रहरी उनीहरूको अवैध आगमनबारे बेखबर बन्ने गरेका छन् ।

अवैध रूपमा भारत प्रवेश गरेका बंगलादेशीलाई भारतीय सुरक्षाकर्मीले पटक पटक नियन्त्रणमा लिँदै आएका छन् । उनीहरू अवैध रूपमै नेपाली नागरिकता लिएर विभिन्न आपराधिक क्रियाकलापमा सक्रिय हुने र नेपाली नागरिक बनेर विदेशसमेत उड्ने गरेका छन् ।

भारतीय प्रहरी स्रोतका अनुसार पश्चिम बंगालको दक्षिण दिनाजपुरस्थित भारत–बंगलादेश सीमा क्षेत्र हिली र बंगलाबन्धलगायतका नाकाबाट बंगलादेशीको अवैध प्रवेश हुने गर्छ । भुटानी र तिब्बती नागरिक भने सिक्किमे नागरिक भन्दै अवैध रूपमा नेपाल छिर्ने गर्छन् ।

भुटानीको नेपालीसँग भाषा, अनुहार मिल्ने हुँदा उनीहरूको अवैध नेपाल प्रवेश सहज हुने गरेको छ । खोटाङको धार्मिकस्थल हलेसी दर्शनका लागि यो नाका उनीहरूले प्रयोग गर्दै आएका छन् । अध्यागमन कार्यालय प्रमुख गुप्ताका अनुसार चार महिनामा ५ सय भुटानी वैध बाटोबाटै नेपाल भित्रिएका छन् ।

प्रकाशित: भाद्र १७, २०७५