१८ औँ एसियाड : अनि कसरी जोगियोस् लाज !

- पवन आचार्य

इन्डोनेसियामा भएको १८ औँ संस्करणको एसियाली खेलकुद नेपालको लागि खुसी कम र विस्मय ज्यादा बोकेर बिदा हुने भएको छ । विस्मात यस अर्थमा कि नेपाललाई पदकविहीन हुनबाट जोगाउने प्याराग्लाइडिङतर्फ पुरुष क्रसकन्ट्री टिमलाई सरकारको कुनै आड भरोसा थिएन । खेलाडी आफ्नै खर्चमा इन्डोनेसिया पुगे र मुलुकलाई पदकविहीन हुनबाट जोगाए । राष्ट्रले नचिनेको खेलले जकार्तामा नेपालको नाक जोगाइदियो ।

१८ औँ एसियाडको १२ औँ दिनसम्म पुग्दा पदकविहीन भएको नेपालले १३ भदौमा रजत पदक हात पार्‍यो । एसियाडमै पहिलोपटक सहभागी भएको प्याराग्लाइडिङले नेपालको पदक खडेरी समाप्त गरिदिएको हो । एसियाडमा २० वर्षपछि रजत दिलाउने क्रममा प्याराग्लाइडिङको पुरुष क्रस कन्ट्री विधामा नेपाल स्वर्णबाट २७ अंकले पछि परेको थियो । स्वर्ण विजेता जापानले कुल ११ हजार ३ सय ९१ र नेपालले ३ सय ६४ स्कोर गरेको थियो ।

अन्तिम दिन पाँचौँ राउन्डमा नेपाली ग्लाइडरले उत्कृष्ट प्रदर्शन गरे । विमल अधिकारीको कप्तानीमा रहेको नेपाली टिमबाट विजय गौतम, युकेश गुरुङ, विशाल थापा र सुशील गुरुङले उत्कृष्ट प्रदर्शन गरे । युकेश टोलीका कान्छा सदस्य हुन् । उनी मात्र १७ वर्षका भए । यसअघि विश्व च्याम्पियनसिपमा पनि नेपाली ग्लाइडरहरूले राम्रो प्रदर्शन गरेपछि एसियाडमा उनीहरूको सहभागिता सुनिश्चित भएको थियो ।

नेपाली टोलीका प्रशिक्षक योगेश गुरुङ स्वर्णबाट केही अंकले पछि परेकोमा दु:खी भए । एसियाडमा इतिहास रच्ने योजना तुहिएकोमा उनले दुखेसो पोखे । पोखराका केही पर्यटन व्यवसायीको पहलमा मुलुक भित्रिएको यो खेललाई एसियाडमा मात्रै सरकारले सहयोग गरेको हो । यसअघि सबै अन्तर्राष्ट्रिय सहभागितामा व्यवसायीले रकम उठाएर खेलाडीलाई सहयोग गर्दै आएका थिए । यसअघि नेपालले एसियाडमा सन् १९९८ मा रजत हात पारेको थियो । तेक्वान्दोकी सविता राजभण्डारीले थाइल्यान्डको बैंककमा भएको एसियाडमा रजत जितेकी थिइन् ।

एसियाडमा डेब्यु गरेको खेल नेपालका लागि सदैब वरदान साबित हुँदै आएको छ । नेपालले अहिलेसम्म पदक जितेका खेलहरू तेक्वान्दो, कराँते र बक्सिङ सबैमा डेब्युमै पदक जितेको छ । एसियाडमा हरेक नयाँ खेल थपिँदा नेपालले पदक हात पार्ने गरेको छ । सन् १९९६ मा दक्षिण कोरियाको सियोलमा भएको एसियाडमा तेक्वान्दो र बक्सिङ थपिँदा नेपालले दुवै खेलमा पदक जितेको थियो । सन् १९९४ को जापानको हिरोसिमामा भएको एसियाडमा बक्सिङ थपियो । त्यहाँ पनि नेपालले पदक थाप्यो ।

त्यसबाहेक अन्य खेलबाट पदकको आश गरिए पनि प्रतियोगिताको समापनसम्म आइपुग्दा त्यो निराशामा परिणत हुन पुग्यो । त्यसबाहेक सधैँझैँ १८ औँ एसियाड पनि विभिन्न विवादमा मुछिन पुग्यो । (हेर्नोस् बक्स)

जकार्ता जानुअघि राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टको दाबी थियो– नेपालले कम्तीमा २ रजत र ६ कास्य पदक जित्छ । प्रतियोगिताको उद्घाटनपछिका २ दिनसम्म उनको बोली परिवर्तन भएन । तर, जसै दिनहरू बित्दै गए, विष्टको बोलीमा पनि व्यापक परिवर्तन भयो । पदकको आशा गरिएको तेक्वान्दो र कराँतेले निराशाजनक प्रदर्शन गरेपछि जकार्तामा पत्रकार सम्मेलन गरेर विष्टले भने, “हाम्रो तयारीले एसियाली स्तरमा पदकको आश गर्नु नै बेकार रहेछ ।”

घरबार त्यागेका सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्त गर्न बोधगया पुग्नुपरेको थियो, राखेप सदस्यसचिव विष्टलाई मुलुकको खेल र खेलाडीको स्तर बुझ्न इन्डोनेसिया । पदक नजित्नुका पछाडि खेलाडीलाई मात्र दोष दिएर उन्मुक्ति नपाउने भनाइ उनले पत्रकार सम्मेलनमा राखे । “देशको साधन स्रोतले दिएजस्तो र खेलाडीलाई उपलब्ध गराइएको सुविधा अनुसार खेलाडीले सक्दो गरेका छन् । पदक नजित्दैमा दोष खेलाडीलाई थोपारिनु हुन्न,” उनले भने । विभिन्न खेलमा पदाधिकारीले पदक जित्ने बाचा गरेकाले आफूले त्यसैका आधारमा सार्वजनिक वक्तव्य दिएको उनको भनाइ थियो ।

खेलाडीले पदक जित्न नसक्नुका पछाडि नैतिक रूपमा जिम्मेवारी आफूले लिने विष्टले बताए । उनले प्रशिक्षणमा पनि नेपाल चुकेको सुनाए । पुरानै ढर्रा र पद्धतिमा नेपालको प्रशिक्षण अघि बढेकाले त्यसमा परिमार्जनको खाँचो उनले औँल्याए । वैज्ञानिक पद्धति र अनुसन्धानमा आधारित प्रशिक्षणमा जोड दिन सकिए मात्र एसियाली स्तरमा पदकको आश गर्नु जायज हुने उनले सुनाए ।

विवाद १

एसियाड अन्तर्गत एथ्लेटिक्सको महिला १० हजार मिटर दौडमा नेपाली धाविका विश्वरूपा बुढा प्रतिस्पर्धा गर्नबाट वञ्चित भइन् । निर्धारित समयमा खेलाडी दर्ता नगरेकाले बुढालाई ट्रयाक एन्ड फिल्डको लेनबाट स्वयंसेवकले हटाएका थिए । दौडका लागि ट्रयाकमा पुगे पनि नाम दर्ता नभएको भन्दै आयोजकले बुढालाई सहभागिता जनाउनबाट वञ्चित गरेको थियो । नेपाली टोलीको प्रशिक्षकमा अमिरी यादव र व्यवस्थापकमा शान्ति सिंह थिए । उनीहरू दुवैले यसबारे कुनै धारणा सार्वजनिक गरेनन् ।

विवाद २

एथ्लेटिक्समै नेपाली धावक यामसाजन सुनार २ सय मिटर दौडमा सहभागी नभई स्वदेश फर्किए । मंगलबार बिहान जेरोला बुंकार्नो रंगशालामा हिट नं ४ को सूचीमा यामसाजनको नाम भए पनि उनी दौडमा सहभागी भएनन् । लेन नं ५ मा उनी उपस्थित हुनु पर्नेमा स्वास्थ्यमा खराबीको कारण देखाउँदै उनी दौडिन गएनन् । उनले अघिल्लो दिन साँझ टिम व्यवस्थापकलाई आफू दौडिन नसक्ने लिखित जानकारी गराएका थिए । तर, नेपाली टोलीका सेभ दि मिसन केशवकुमार विष्टले दौडमा भाग नलिनलाई यामसाजनको ‘गैरजिम्मेवार कार्य’ भनेका छन् । १ सय मिटर दौडमा सहभागी भएका यामसाजनले २ मिटर दौडअघि मांसपेशीमा समस्या आएको भन्ने कारण देखाए पनि त्यसमा विष्ट निश्चिन्त हुन सकेका छैनन् । दोषी पाइए खेलाडीलाई कारबाही गर्ने विष्टले सुनाए ।

विवाद ३

म्याराथनमा नेपालका २ धावकले दौड पूरा गर्न सकेनन् । इन्डोनेसियाको गर्मीका कारण गोपीचन्द्र पार्की र कृष्णबहादुर बस्नेतले म्याराथन पूरा गर्न सकेनन् । उक्त स्पर्धामा २१ खेलाडी रहे पनि १५ खेलाडीले मात्र दौड पूरा गरेका थिए । नेपाली धावक दुवैले ४० किलोमिटरपछि दौड त्यागेका थिए । आयोजक मुलुकको मौसमबारे खेलाडीलाई जानकारी नगराउँदा र स्थानीय वातावरण अनुसार खेलाडीलाई तयार नगराउँदा उनीहरूको मनोबलसमेत गिराउने काम जकार्तामा भयो ।एथ्लेटिक्समा यति भद्रगोल पारा देखिए पनि औपचारिक र आधिकारिक धारणा कतैबाट सार्वजनिक भएको छैन । एकअर्कालाई दोष दिने र उन्मुक्ति लिने होडबाजी चलेको छ । नभए दोष खेलाडीको टाउकोमा हालिदिए हाइसन्चो भइहाल्यो ।

यी पनि पढ्नुहोस् :

एसियाडमा निराश

१८ औँ एसियाड : भिजन 0

प्रकाशित: भाद्र १७, २०७५