‘कलर्स सो हुबहु नक्कल होइन’

- मनबहादुर बस्नेत

कुनै बेला अखबारका पानामा कलम दौडाउने अंकितबाबु अधिकारीका औँला यतिबेला गितारका तार चहार्छन् । आर्टमान्डु सांगीतिक समूहमा आबद्ध अंकित घाँटीका नसा फुलाउँदै मधुर गीत गाउँछन् । हालै मात्र आर्टमान्डुले गीतको भाव झल्काउने रङ प्रयोग गरेर तीन वटा ‘कलर्स सो’ सिर्जना गरेको छ । यसै प्रसंगमा आर्टमान्डुका संस्थापक अंकितसँगको कुराकानी :

कलर्स सोको अर्थ के हो ?

गीतको भाव अनुसारका रङ पृष्ठभूमिमा देखाएर प्रस्तुति दिइन्छ यसमा । खुसीको गीत छ भने चम्किलो रङ, शान्तिको भाव छ भने नीलो रङको प्रयोग हुन्छ ।

यो अवधारणा कसरी जन्मियो ?

यो शैली दक्षिण अमेरिकी देशहरुमा प्रचलित रहेछ । त्यहाँका अश्वेत जातिले गाएको गीत युट्युबमा हेरेर सिको गरेका हौँ ।

प्रभाव मात्रै हो कि हुबहु नक्कल ?

हामी उनीहरुको प्रस्तुति/शैलीबाट प्रभावित भएको पक्कै हो तर हुबहु होइन । उनीहरुले चल्तीका गीतलाई ‘कभर सङ’ गरेका छन् । हामी कभर सङ गर्दैनौँ । यही शैलीमा आफ्नै सिर्जना पस्किने वाचा गरेका छौँ । यसमा सम्झौता गर्दैनौँ ।

यसलाई दर्शक/श्रोताले रुचाइरहेका छन् त ?

हाम्रो सन्दर्भमा यो नयाँ प्रयोग हो । हामी अझै बृहत् अडियन्समा पुगिसकेका छैनौँ । आफ्नै फेसबुक र युट्युब च्यानलमा दियौँ । ‘सिजन वान’ मा राम्रो प्रतिक्रिया पाएका छौँ । ‘सिजन टु’ मा संगीत क्षेत्रका चर्चित कलाकारहरुसँग सहकार्य हुँदैछ । 

कोकोसँग सहकार्य हुँदैछ ?

कल्याण सिंह, सजल न्यौपाने, विशाल पौडेलसँग काम गर्ने निधो गरिसकेका छौँ । अन्यसँग पनि कुरा हुँदैछ । ‘सिजन वान’ को पाँचौँ गीत गाउन दार्जिलिङबाट अजय क्षत्री आए ।

यस्तो शैलीका गीतको सीमितता के हुन् ?

बृहत् अडियन्समा पुग्न समय लाग्छ । तात्तातै हिट भइँदैन । त्यसैले सफलताका लागि लामो साधना चाहिन्छ यसमा । अर्को कुरा, ‘सिजन वान’ गर्दा हामीसँग रकम थिएन । अबचाहिँ ‘स्पोन्सर’ भेटिने संकेत पाएका छौँ ।   

थिममा हने यस्तो गीत सजिलै पाइन्छ ?

गीत लेख्दै कुन रङ उपयुक्त हुन्छ भन्ने सोच्नुपर्छ । गीत फुर्नासाथ  लेख्ने भन्ने हुँदैन । अडियो–भिडियोको योजना पनि पहिल्यै सोच्नुपर्छ । केही गाह्रो त पक्कै छ ।

स्टेज सो नै अहिले कलाकारको जीविकाको मूल स्रोत हो ।  यसलाई स्टेजमा उतार्न सकिन्छ ? 

मज्जाले सकिन्छ । हामीले यस्ता इभेन्ट आयोजना गर्नेबारे सोचिरहेका छौँ । तत्कालै व्यावसायिक हिसाबले सम्भव नहोला । तर, थिएटरहरुमा परीक्षणका लागि चाँडै प्रस्तुति दिने सोच बनाएका छौँ ।

प्रकाशित: भाद्र १४, २०७५