[झटारो] तरकारीमाथि सरकारी अनुगमन

- लक्ष्मण गाम्नागे

यसपालि गाईजात्रा कार्यक्रम गरेनन् कलाकारहरूले । तर, केही छैन । हामीलाई रमिताको खाँचो पनि छैन । सरकार र व्यवसायीहरूको संयुक्त प्रस्तुतिमा अनेकन अनौठा नाटक चलिरहेका छन् बजारमा । अनौठा यसकारण कि सबै नाटकका विशेषता एकैखाले छन्, नाटक नसकिँदै दृश्य तथा पात्रहरू दिशाहीन हुने, हराउने, घटनाहरू नेपथ्यमा बिलाउने र नाटक अधूरै रहने । भर्खरै पनि ‘तरकारीमाथि सरकारी अनुगमन’ भन्ने पुरानो नाटक दोहोर्‍याएर हेर्न पाइयो । कालीमाटी तरकारी बजारमा प्रदर्शित नाटक यस्तो थियो–

सरकारी टोली (सटो) : यो ट्रकको तरकारी कसको हो ? यसको बिल बिजक छ ?

तरकारी टोली (तटो) : छ । किन चाहियो ?

सटो : हामी सरकारी अनुगमन टोलीका सदस्य हौँ । कागजपत्र निकाल ।

तटो : ए सरकारी टोली पो ! उसो भए त छैन कागजसागज । 

सटो : खुरुक्क कागजपत्र देखाउने कि समातौँ यी ट्रक ?

तटो : ल ! सरकारी टोली भएर पनि कत्रो ठूलो स्वर ! ठूलो स्वर निकाल्ने सरलाई त चिनेचिनेजस्तो पनि लाग्छ । पोहोर साल घिराँैलाले लागेर नाथ्री फुटेको सरकै होइन ? ए साथीहरू हो, सबैले दुई–चार मुठा साग, एक–दुई किलो इस्कुस, एक–दुई पाउ अकबरे खुर्सानी, फर्सी, लौका जम्मा गरेर सरहरूको गाडीमा हाल्देओ !

सटो : बासी तरकारीले बुजो लाग्ने टोली होइन यो । दुई तिहाईवाला शक्तिशाली सरकारका प्रतिनिधि हौँ हामी । हामी बजारबाट बिचौलियाहरूलाई निमिट्यान्न नपारी जाँदैनौँ अब ।

तटो : कसलाई बिचौलिया भनेको ? बिजनेस गरेर खानेलाई बिचौलिया भन्ने ? हाम्रो इलाकामा आएर हामीलाई नै गाली गर्ने ? तुरुन्त कालीमाटी एरिया छाडेर जाने कि ठोकठाक गर्नुपर्छ ? 

सटो : धेरै दादागिरी नदेखाओ । बाटो छाड, हामी अनुगमन गर्छौं ।

तटो : जाने कि थुनिदिऊँ सटरमा ?

सटो : ल थुनेर हेर त ! कारबाहीमा परौला । होस गर !

तटो : कारबाही ? नहँसाउँनोस् न सरहरू ! त्यो यातायात सिन्डिकेटको कारबाही हामीले नदेख्या हो र † ठेकेदारलाई थुन्ने भनेर गरेको कारबाही पनि देखेकै हो । सुनकाण्डका भरियाहरूलाई थुनेर नाइकेहरूलाई गायब गरेको कारबाही पनि देखियो । त्यस्ता कारबाहीका धम्कीले हामी डराउँछौँ ? हामीलाई छोऊ मात्रै, मुलुकै ठप्प पारिदिन्छौँ ।

सटो : हामीलाई अरू कुरा थाहा छैन । सरकारको कडा निर्देशन छ, तिमीहरूलाई त्यसै छाड्न मिल्दैन ।

तटो : ए साथी हो, त्यो गेट बन्द गर ! लातको भूत बातले मान्दैन भनेको हो रहेछ । सरकारी टोली उठबस गर्न थाल । (सरकारी टोली डरले काम्न थाल्छ) उठबस गर्छौ कि इस्कुसले हानौँ ? (भीडबाट चर्को स्वरमा ‘ठोक ठोक’, ‘हान हान’ भन्ने आवाज आउँछ । सरकारी टोली उठबस गर्न थाल्छ ।) एक, दुई, तीन, चार ...दस, एघार....।

(एक्कासि त्यहाँ हूलका हूल प्रहरी आएर रमितेहरूलाई ठेल्दै भित्र पस्छन् र सरकारी टोलीको उद्धार गरेर लैजान्छन् । तरकारी टोली भने सिंहदरबारसम्मै आवाज पुग्ने गरी नाराबाजी गर्दै मञ्चमै उफ्रिरहन्छ । एकछिनपछि ‘क्रमश:’ लेखेको ब्यानर देखिन्छ । पर्दा बन्द हुन्छ ।)

प्रकाशित: भाद्र १४, २०७५

ट्याग: व्यंग्य