लोपोन्मुख लोकतन्त्र ? [पुस्तक : हाउ डेमोक्रेसिज् डाई]

पुस्तक : हाउ डेमोक्रेसिज् डाई | लेखक : स्टेभेन लेभित्स्की र डानियल जिबलाट | प्रकाशक : पेन्गुइन बुक्स | पृष्ठ : ३१२ | मूल्य : भारु ६९९

- विनोद सिजापति

हार्वर्ड विश्वविद्यालयका प्राध्यापक हुन् स्टेभेन लेभित्स्की र डानियल जिबलाट । यसअघि स्वेच्छाचारी निरंकुशता विषयमा पुस्तक लेखिसकेका ५० वर्षीय प्राध्यापक लेभित्स्कीको अध्ययन, अध्यापन र अनुसन्धान दक्षिण अमेरिका केन्द्रित छ । जिबलाट युरोपको शासकीय प्रणालीका अध्येता हुन् । युरोपको सन् १९३० को कालरात्रि दशक (तानाशाही फासिस्ट रनाजीको उदय) र सन् १९७० दशकमा मध्य तथा दक्षिण अमेरिकामा लोकतन्त्रको अवसानका विषयमा दुवै प्राध्यापकले संयुक्त रुपमा १५ वर्षदेखि अनुसन्धान गर्दै आएका छन् ।

सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा देशको इतिहासमै पहिलो पटक त्यस्ता व्यक्ति चुनिए, जोसाग राजनीतिक पृष्ठभूमि र सरकार सञ्चालनको न्यूनतम अनुभवसमेत थिएन । डोनाल्ड ट्रम्पले राष्ट्रपति पदमा आसीन भएपछि प्रदर्शन गरेको गैरराजनीतिक चरित्र तथा पदीय मर्यादा विपरीतका क्रियाकलापले अमेरिकी समुदायलाई लज्जित तुल्याएको छ । तिनको झुट बोल्ने अपरिवर्तित स्वभाव, एकआपसमा मेल नखाने अभिव्यक्ति, स्थापित नियम कानुन छल्ने प्रवृत्ति, सञ्चारमाध्यमप्रतिको प्रतिशोधात्मक व्यवहार तथा विरोधीलाई सार्वजनिक रुपमा धम्की आदि कारण अमेरिकी प्रबुद्ध समाज त्रसित छ । कतै ट्रम्पबाट लोकतन्त्र हरण हुने त होइन भन्ने प्रश्नले धेरैलाई पिरोल्न थालेको छ। दुई शताब्दीयता खारिँदै आएको अमेरिकी लोकतन्त्रलाई ट्रम्पले धरापउन्मुख तुल्याउँदैछन् भन्ने जनगुनासो बढ्दो छ।

लेखकद्वयको विचारमा अमेरिकी नागरिकको स्वतन्त्रता, समता तथा भ्रातृत्वप्रतिको मोह, मध्यमवर्गीय परिवारको वर्चस्व, उच्च शिक्षाको स्तर तथा निजी क्षेत्रको व्यापक उपस्थितिजस्ता कारणले त्यहााको लोकतन्त्र धरापमा नपर्नु पर्ने हो । तर, केही वर्षयता अर्थात् ट्रम्पको उदयवरिपरि देखापर्न थालेको राजनीतिक वृत्तमा व्यक्तिगत चारित्रिक गुणको ह्रास, उनीहरुको खस्कँदो नैतिक धरातल, विरोधीप्रति संयमको अभाव, सञ्चारमाध्यमप्रति शत्रुवत व्यवहार, कानुनी निकायको अवहेलना, फिजारिँदै गएको राजनीतिक ध्रुवीकरणजस्ता कारण स्थापित भइसकेको लोकतन्त्रको भविष्यमाथि प्रश्नचिह्न खडा हुनु स्वाभाविक हो । बौद्धिक र प्राज्ञिक क्षेत्रका अमेरिकीहरु इतिहासमै पहिलो पटक ‘लोकतन्त्र लोप होला’ भन्ने जिज्ञासाको जवाफ खोज्न थालेका छन् । लेखकद्वयले स्वेच्छाचारीको हातमा सरकार पर्‍यो भने लोकतन्त्र धरापमा पर्न सक्ने सम्भावना औँल्याएका छन् ।

लेखक लेभित्स्की तथा जिबलाटका अनुसार दुई प्रकारका शासकबाट लोकतन्त्रको देहावसान हुन्छ । एक, बन्दुकको सहाराले (सशस्त्र क्रान्ति अथवा सेनाद्वारा वा तिनको सहयोगमा) सत्ता कब्जा गर्नेहरुबाट र दुई, जनमत अर्थात् चुनाव जितेर शासनको बागडोर हात पार्ने निरंकुश प्रवृत्ति भएकाहरुबाट । लेखकद्वयका अनुसार दोस्रो विश्वयुद्ध समापनपछिको शीतयुद्ध कालखण्डमा केही देशको लोकतन्त्रको अवसान बन्दुकधारीहरुले गरेका थिए । त्यसरी लोकतन्त्रको हत्या गरिएका मुलुकमध्ये अर्जेन्टिना, ब्राजिल, डोमिनिकन रिपब्लिक, घाना, ग्रीस, ग्वाटेमाला, नाइजेरिया, पाकिस्तान, पेरु, थाइल्यान्ड, टर्की र उरुग्वे आदि प्रमुख छन् । शीतयुद्ध समापनसँगै बन्दुकको सहाराले सत्ता कब्जा गरेर लोकतन्त्रको गला निमोठ्ने प्रवृत्ति घटेको छ । इजिप्ट (२०१३) र थाइल्यान्ड (२०१४) उदाहरण हुन्, जहाँ २१औँ शताब्दीमा समेत सेनाले सत्ता हत्याएर लोकतन्त्रको हत्या गर्‍यो ।

नागरिकद्वारा चुनिएका नेताको हातबाट भएका लोकतन्त्रको अवसानकेन्द्रित छ यो पुस्तक । लेखकद्वयको विचारमा लोकतन्त्र मासिने खतरा बन्दुकधारीहरुबाट जति हुन्छ, त्यति नै धेरै खतरा जननिर्वाचित सरकारबाट पनि हुन सक्छ । पुस्तकमा प्रस्तुत गरिएका जनमत प्राप्त सत्तासीनहरुले लोकतन्त्र समाप्त तुल्याइएका मुलुकमध्ये भेनेजुयला, जर्जिया, हंगेरी, निकारागुवा, पेरु, फिलिपिन्स, पोल्यान्ड, रुस, श्रीलंका, युक्रेन आदि हुन् । ती मुलुकका शासकले लोकतन्त्रको सुदृढीकरण, कानुनी प्रक्रियालाई छिटोछरितो तुल्याउन, भ्रष्टाचार निवारण गर्न अथवा चुनावी प्रक्रिया सुधार्न आदि कारण देखाएर सविस्तार लोकतन्त्रका आधारस्तम्भ संस्थालाई एकपछि अर्को गरी ध्वस्त तुल्याए । त्यस्ता शासकको समान प्रवृत्तिचाहिँ स्वतन्त्र न्यायपालिका र विरोधीको अस्तित्व समाप्त गर्ने तथा सञ्चारमाध्यममा सरकारको पकड बढाउने देखिन्छ ।

पुस्तकमा प्रस्तुत गरिएको रोचक उदाहरण हंगेरीको हो । प्रधानमन्त्री भिक्टर ओर्बानको प्रथम प्रधानमन्त्रीत्व (१९९८–२००२) मा तिनले थुप्रै नागरिकलाई छोटो अवधिमा लाभ पुर्‍याउने कार्य गरेर लोकप्रियता हासिल गरे, जसले गर्दा दोस्रो संसदीय चुनावमा तिनले नेतृत्व गरेको फिडेस पार्टीले दुई तिहाई बहुमत प्राप्त गर्न सफल भयो । त्यसपछि प्रधानमन्त्री ओर्बानले तेस्रो पटक उम्मेदवार बनेर सत्तावधि लम्ब्याउन फिडेस पार्टीको दुई तिहाई बहुमत प्रयोग गरेर संविधान परिवर्तन गरे । त्यस अवस्थासम्म आइपुग्दा तिनले प्रजातन्त्रका निम्ति आवश्यक स्वतन्त्र न्यायपालिका, निष्पक्ष कर्मचारी प्रशासन संयन्त्र, नागरिक समाज र स्वतन्त्र मिडियालाई तहसनहस बनाइसकेका थिए । तेस्रो कार्यकाल थप्न तिनलाई कुनै वैधानिक अवरोध सामना गर्नुपरेन । संविधानको पुनर्लेखन तथा चुनावी कानुनको संशोधन गरेर तिनले आफू र आफ्नो दल फिडेसलाई सत्तामा टिकाइरहन सफल भए ।

उचित शक्ति सन्तुलनको प्रावधानले संवैधानिक लोकतन्त्रलाई चिरायु तुल्याउँछ । त्यसका निम्ति अमेरिकाको जस्तै संविधान निर्माण गरिन्छ, नियन्त्रण र सन्तुलनसहितको । स्वतन्त्रता प्राप्ति प्राय: मध्य र दक्षिण अमेरिकी राष्ट्रले अमेरिकी संविधानका प्रावधानलाई आफ्नो संविधानमा समावेश गरेका थिए । तिनै प्रावधानमा टेकेर अधिकांश राष्ट्रमा लोकतन्त्रको घाँटी निमोठियो । लेखकद्वयको तर्क छ– संविधानको लिखित प्रावधानले मात्र प्रजातन्त्रलाई टिकाइरहन सक्दैन । त्यसका निम्ति दुई अलिखित प्रावधान आवश्यक हुन्छन् : विरोधीको अस्तित्वको स्वीकार्यता र तिनका आवाजको उचित सुनवाइ ।

पुस्तकमा ट्रम्प उदयको प्रमुख कारण सन् १९७९ को कंग्रेसको चुनावलाई मानिएको छ । उक्त चुनावमा न्युट जिनग्रिचले अपनाएको अमेरिकी समाजलाई ध्रुवीकरण गर्ने रणनीतिले गर्दा नै ट्रम्पको विजय सम्भव भइदियो । जिनग्रिचले कंग्रेसमा प्रवेश गरेपछि डेमोक्र्याटलाई तथानाम गालीगलौज गर्न थाले । तिनले डेमोक्र्याटलाई ठग, भ्रष्ट र अनैतिक घोषित गरे । त्यतिले नपुगेर डेमोक्र्याटको राष्ट्रप्रेमप्रति शंका उब्जाए । उक्त पार्टीमा मुसोलिनी प्रवृत्ति हाबी भएकाले तिनले मुलुकलाई बर्बादीतर्फ धकेल्ने निश्चित भएको प्रचार गरे । जिनग्रिचका सहयोगीले तिनका मनगढन्ते लान्छनाको प्रचारप्रसारका लागि समय खेर फालेनन् ।

यस्ता अनर्गल प्रचारलाई ‘जिनग्रिच क्रान्ति’ कहलाइयो । अमेरिकी समाजमा चरम राजनीतिक ध्रुवीकरण सुरु भयो । दोस्रो, रिपब्लिकन पार्टीमा जुनसुकै अवस्थामा पनि आफूहरुले चुनाव जित्नुपर्छ भन्ने मनोभावले बलियोसँग जरा गाड्न थाल्यो । त्यसपछिका दिनमा पार्टी लाइन त्यागेर गरिने दलीय सहमतिलाई ‘मेरो गोरुको बाहै्र टक्का’ जस्ता प्रवृत्तिले विस्थापित गर्‍यो ।

लेखकद्वयको भनाइमा अमेरिकी इतिहासको दोस्रो ‘इम्पिचमेन्ट’ त्यसैको उपज थियो । किनकि, राष्ट्रपति बिल क्लिन्टनविरुद्ध ह्वाइट वाटर जमिन प्रकरणका विषयमा रिपब्लिकन पार्टीले अनुसन्धान गराएको थियो । उक्त अनुसन्धानलाई तन्काउँदै त्यस विषयसँग कुनै सरोकार नभएको परनारीसँगको सम्बन्धलाई मुद्दा बनाएर तिनलाई सजायको भागिदार बनाइयो । रिपब्लिकन पार्टीले खेदेपछि अवसर पाउनासाथ डेमोक्रेटिक पार्टीमा पनि विपक्षलाई लखेट्ने कार्यले प्रश्रय पायो । फलस्वरुप दुवैथरीद्वारा राष्ट्रिय हितका निम्ति दलीय सहमति कायम गरेर उठाइने पहलकदमी प्राय: लोप भएको छ। लेखकद्वयको मत छ– ट्रम्प कति घातक हुन सक्छन् भन्ने अड्कल रिपब्लिकन नेताहरुलाई थियो । तर, तिनले हिलारी क्लिन्टन हराउनुलाई बढी महत्वपूर्ण सम्झिए ।

लोकतन्त्रको संरक्षण र संवद्र्धनका निम्ति तानाशाही प्रवृत्तिका नेतालाई राजनीतिक दलभित्रको प्रवेश रोक्नु आवश्यक छ भन्ने लेखकद्वयको मत छ । प्रजातान्त्रिक गुण र प्रतिबद्धताको अभाव, प्रतिपक्षको अस्तित्वमाथि उपेक्षा, हिंसालाई स्वीकार्ने, नागरिकको अधिकार कटौती गर्न वा सञ्चारमाध्यमलाई नियन्त्रण गर्न पछि नपर्ने कुनै पनि नेतालाई सत्ताको भर्‍याङमा छिर्नबाट रोक लगाउनु आवश्यक हुन्छ । उक्त कार्य गर्ने अभिभारा दलका स्थापित नेताहरुको काँधमा हुन्छ । बेल्जियम, अस्ट्रिया, फ्रान्स वा नेदरल्यान्ड्समा लोकतन्त्रवादी दलहरु, जो विगतमा एकअर्काका कट्टर विरोधी हुँदाहँुदै पनि कसरी तिनले उग्र दक्षिणपन्थीलाई रोकेर लोकतन्त्रको रक्षा गरे, त्यसको विस्तृत विवरण पुस्तकमा समावेश गरिएको छ ।

पुस्तकमा उल्लेख गरिएका थुप्रै विषय हाम्रा निम्ति सान्दर्भिक छन् । लोकतन्त्रविरोधी चार चरित्रलाई नियाल्ने हो भने हाम्रा थुप्रै शीर्षस्थ नेतामा त्यस्ता गुण हाबी भएको छ । राजनीतिक वृत्तका निम्ति यो पुस्तक पढ्नु आवश्यक छ, खासगरी लोकतन्त्रको दीर्घायुका निम्ति ।

प्रकाशित: भाद्र १४, २०७५