[तीन किताब ] हास्यपात्रको हालीमुहाली

- रविराज थापा

यस्सो सोच्छु– ‘कंगाल’ भएपछि मान्छे पढ्दो रहेछ । उहिल्यै फौजीमा हुँदा हजारौँ रुपियाँको रक्सी पिएर दुई–चार घन्टा मात्रै रमाउनेहरु पनि देखेँ । तर, पैसा कम हुनेहरु चार–पाँच सय रुपियाँको किताबमा एक हप्ता रमाउन सक्छन् । अलिअलि लेख्ने र पढाउने व्यक्ति भएकाले विविध खालका किताब पढ्छु नै । तर, अध्यात्म, सुरक्षा र खेलकुद सम्बन्धी पुस्तकमा मेरो रुचि छ ।

हाम्रो पालामा स्कुल तहमै नैतिक शिक्षादेखि विश्वसाहित्यको झलक पाइन्थ्यो । अहिले न शिक्षाले सिकाउँछ, न त युवा पुस्ता नै सिक्न खोज्छ । गुन्डाहरुले विश्वविद्यालय कब्जा गरेका छन् । अनि, पढ्ने वातावरण कसरी सिर्जना हुन्छ ?

त्यस बखतको नेपाल मलाई मन परेको किताब हो । सरदार भीमबहादुर पाँडे लिखित यस पुस्तकले हाम्रो इतिहासका अनेक आयामलाई अभिलेखीकरण गरेको छ । किताब पुनर्प्रकाशित हुनेबित्तिकै खुरुखुरु पढेर सबै भाग सकाएपछि लाग्यो– यो पुस्तक नयाँ पुस्ताले पढ्नैपर्छ । हाम्रो जरा, हाँगा र पुर्खादेखि कोत पर्व, तत्कालीन शिक्षा, कला र फौजी सुरक्षासम्मका अनेक ऐतिहासिक घटनालाई नजिकबाट बुझ्न यो पुस्तकले सहायता पुर्‍याउँछ । हामीलाई अहिले आफ्नै तीन पुस्ताबारे जानकारी छैन । शाह वंशकै कुरा बिर्सन लागिसकेको आजको युवाले राणाकालीन इतिहास खोतल्ने माध्यम यो किताब हुन सक्छ ।

नेपालका विश्वविद्यालयदेखि राज्य सञ्चालकसम्मले पढ्ने जाँगर देखाउँदैनन् । जसले पढ्दैन, उही नेताले इतिहास, कानुन, दर्शन, सिद्धान्तदेखि सारा बुझेको धाक लगाउँदा कस्तो हाँस्यास्पद होला ? हाम्रो सत्तामा यस्तै हास्यपात्रहरुको हालीमुहाली छ । अनि, देशले कसरी अग्रगति लिन्छ ?

सानै उमेरमा सस्तो पाइने माओत्सेतुङका सैन्य रचना, रेड बुकदेखि मीठो बास्नाका चिल्ला चिनियाँ किताबहरु किन्ने–पढ्ने लत लागिहाल्यो । प्रहरी अधिकृत हुँदा पढाउनुपर्ने भएपछि पुस्तकालयमा हराउने पुरानो बानीले बल पायो । मोजमस्तीको उमेरमा मस्त पैसा थिएन । किताबमा रमाउनुको विकल्प मसँग छँदै थिएन ।

स्यामुयल पी हन्टिङटनका केही किताब रुचिपूर्वक पढ्दैछु । क्ल्यास अफ सिभिलाइजेसन एन्ड रिमेकिङ अफ वल्र्ड अर्डर पढ्नु आफैँमा रोचक छ । सभ्यता र धर्मको राजनीतिलाई नियाल्न यो किताब उचाल्नु राम्रो होला । तर, मेरो पेसागत रुचिका कारण सोल्जर एन्ड स्टेटचाहिँ अधिक मन परेको किताब हो । पृथ्वीनारायण शाह, बहादुर शाह, जंगबहादुर राणाका राजनीतिक कदम फौजी बलमा थिए । शासकले फौजलाई चलाउँदा दुई तरिकाले चलाउँछ– सब्जेक्टिभ र अब्जेक्टिभ । नेपालको शासन सत्तालाई फौजी रुपमा चुस्त राख्न पनि यो किताब पढ्नु जरुरी छ । राज्यको पहरा कमजोर हुँदाको परिणाम त विगतको माओवादी युद्धमा देखेकै हो । हन्टिङटन त सत्ताको योजनालाई समृद्ध पार्ने थिंक ट्यांक हुन् । हामीसँग थिंक ट्यांक खोइ ? यस्ता पक्षमा गम्भीर हुन पनि गृहमन्त्री र प्रधानमन्त्रीले पढ्नैपर्ने किताब हो यो ।

गोस्पेल अफ श्री रामकृष्ण मलाई प्रिय लागेको अर्को पुस्तक हो । स्वामी निखिलानन्दको पुस्तकमा रामकृष्ण परमहंसको जीवनीका साथै विवेकानन्दको आध्यात्मिक चिन्तन–यात्रा समेटिएको छ । अमेरिकासम्म हिन्दु धर्मको प्रचारप्रसार गर्ने विवेकानन्द रामकृष्णका चेला हुन्  । आध्यात्मिक रुचि भएका पाठकका लागि यो पुस्तक स्वादिलो खुराक हुन सक्छ । शिवपुरी बाबाका शारीरिक, मानसिक र आध्यात्मिक अनुशासनले मलाई खुब प्रभाव पारेको थियो । विवेक र वैराग्यप्रति चासो भएकै कारण विवेकानन्द र रामकृष्ण परमहंस सम्बन्धी पुस्तक खोजीखोजी पढिरहेको छु । जासुसी किताबहरु रुचि मानेर पढ्ने मान्छे अहिले आध्यात्मिक साहित्यमा पौडने भएँ । आध्यात्मिक चिन्तनकै प्रभावले हुनुपर्छ, म भ्रष्ट भइनँ । मेरो चरित्र–निर्माणमा पनि पुस्तकहरुको पक्कै योगदान होला ।

प्र स्तुति : गुरुङ सुशान्त

प्रकाशित: भाद्र १४, २०७५

ट्याग: किताब