बलिउडकी विद्रोही

- नेपाल संवाददाता

बलिउडमा हिरोइनका रूपमा चम्कन जुन–जुन गुण चाहिन्छ, कंगना रनावतसँग त्यस्तो कुनै छैन । जस्तो : उनी ‘स्टारकिड’ होइनन् । न मूलधारका हिन्दी फिल्मले रुचाउने शारीरिक बनोट छ, न त सबैसँग चिप्लो घसेर सम्बन्ध बनाउन सक्छिन् । आफैँ लगानी गरेर फिल्म खेल्न सक्ने अवस्था पनि छैन । तैपनि, बलिउडमा कंगना सधैँ ‘लाइमलाइट’ मा हुन्छिन् । कहिले फिल्मबाट त कहिले विवादास्पद अभिव्यक्तिबाट । बलिउडमा भनाइ नै छ, ‘कंगनालाई माया गर्नुस् वा घृणा, तपाईंको रोजाइ तर बेवास्ताचाहिँ गर्न सक्नुहुन्न ।’ 

साँच्चै बलिउडमा विद्रोही छवि बनाएकी छन् उनले । कारण अनेक छन् । नातावादको खुलेर विरोध गर्छिन् । र, उनको तारोमा हुन्छन्, करण जौहर । जसले सेलिब्रिटीका सन्तानलाई डेब्यु गराउँछन् । अरु हिरोइन सलमान खान, शाहरुख खान र आमिर खानसँग फिल्म खेल्न मरिहत्ते गर्छन् । तर, कगंनाले यी तीन खानसँग फिल्म नखेल्ने उद्घोष गरेकी छन् । उनको तर्क छ, “यी हिरोका फिल्ममा हिरोइन सो–पिसमा मात्र सीमित हुन्छन्, जुन म चाहन्नँ ।” 

कंगनाले सलमानको सुल्तान अस्वीकार गरेपछि अनुष्का शर्माको भाग्य बलेको थियो । बलिउडमा हुने यौन दुव्यर्वहार र कास्टिङ काउचको जमेर विरोध गर्छिन् । कुनै समय आफैँ अभिनेता आदित्य पञ्चोलीबाट हिंसाको सिकार भएको बताउँदै आएकी छन् । पञ्चोलीसँगको विवाद अदालतसम्म पुग्यो ।

ऋतिक रोशनसँग त बबन्डर नै भइहाल्यो । ऋतिक र उनको झगडाले गत वर्ष बलिउड पूरै तरंगित भएको थियो, अझ सेलाएको छैन । यो सबका लागि आँट कहाँबाट आउँछ ? लामो समय डिप्रेसनको सिकार भएकी कंगना भन्छिन्, “मलाई केही गुमाउनु छैन । त्यसैले जे देख्छु, बोल्छु । अन्याय सहन्नँ ।’

व्यक्तिगत  आनीबानी  मात्र  होइन, फिल्ममा  पनि कंगनाको  भूमिका आम हिरोइनभन्दा अलग हुन्छ ।

रिभल्वर रानी, क्वीन, तनु वेड्स मनु, तनु वेड्स मनु रिटन्र्स, सिमरन, रंगुन उदाहरण हुन् । यी सबै फिल्मको कथा कंगनाकै वरपर घुमेका छन् । नयाँ फिल्म मनिकर्णिकामा रानी लक्ष्मी बाई बनेकी छन्, जसले झाँसीलाई जोगाउन इस्ट इन्डिया कम्पनीसँग युद्ध गरेकी थिइन् । 

 

प्रकाशित: भाद्र १४, २०७५