परीका अनेक प्रतिभा

- गोकर्ण गौतम

मोडलिङबाट करिअर सुरु गरिन्, प्रेक्षा वज्राचार्य ‘परी’, २४, ले । एक वर्षपछि नै उनको नयाँ अवतार देखियो, र्‍यापरका रुपमा । ६ वर्षअगाडिको कुरा हो, उनी र साम्युनको र्‍याप ब्याटलले तहल्का पिट्यो । नेपालको पहिलो फिमेल र्‍याप ब्याटल जो थियो । तर, उनी र्‍यापमा मात्र सीमित भइनन् । युट्युबमा रम्न थालिन् । अनौपचारिक शैलीका भिडियो बनाउँदै अपलोड गर्न थालिन् । छोटै समयमा उनको भ्लगले काफी चर्चा पायो । हँसिली प्रेक्षा भन्छिन्, “जुनसुकै सिर्जनात्मक कामले मलाई तान्छ । नयाँ केही गर्न पाएँ भने दंग पर्छु ।”

युट्युबमा प्रेक्षाले भ्लग मात्र होइन, कभर सङ पनि अपलोड गर्छिन् । एडेलको ‘हेल्लो...’, ज्यान मल्लिकको ‘पिलो टक...’, फ्रयांक वसनको ‘थिकिङ अबाउट यु...’ लगायतका गीतको कभरबाट उनले मस्त फ्यान कमाइन् । अक्सर भिडियोमा उनलाई नै फिचरिङ गरिएको हुन्छ । संगीत र भिडियोमा कति दिलचस्पी राख्छिन् भने आफ्नै म्युजिक स्टुडियो र भिडियो प्रोडक्सन हाउससमेत खोलेकी छन् । यतिबेला भने उनको ध्यान फिल्मतिर बढेको छ । जात्रामा ‘केमियो’ गरेकी प्रेक्षा यात्रा नामक नयाँ फिल्ममा मुख्य भूमिकामा देखिँदैछिन् । अभिनयप्रतिको लगाव अझ बढेको छ । भन्छिन्, “केही समय फिल्ममै फोकस हुन्छु । अभिनय गर्दा एउटा बेग्लै अनुभूति हुँदो रहेछ ।” गायन छाड्ने कुरै छैन, यात्राकै लागि गीत रेकर्ड गराएकी छन् । अर्थात्, पाश्र्व गायनमा पनि प्रेम जागेको छ उनको ।

प्रकाशित: भाद्र १३, २०७५