अब्बल पुरुष, दोयम नारी ?

- सुमी भारद्वाज

संसद्का पछिल्ला बहसले पुष्टि गर्छन्– नागरिकता सम्बन्धी ऐन, ०६३ लाई नयाँ संविधान अनुकूल बनाउन भनेर ल्याइएको विधेयक महिलाप्रति झन् कठोर छ । आमाको नाममा नागरिकताको प्रश्न झन् पेचिलो हुँदै जानु समाजको जड मानसिकता अनुरूप राज्यसत्ता सञ्चालित हुनु हो । सामाजिकीकरणमा महिलाको पहिचान कसरी कमजोर पारिँदैछ भन्ने बहस पनि नचलेको होइन । महिलालाई दोस्रो लिंग मान्ने पितृसत्ताले आमा सत्य र बाबु विश्वास हुने मान्यतालाई के सजिलै स्वीकार्ला ? महिलाविरुद्धका हत्या–हिंसामा सजाय दिन बनेका कानुन नै अपूरा छन् र अझै कार्यान्वयन नै हुँदै नन् । के महिलाका पक्षमा भनिएका कानुन न्यायपूर्ण छन् ?

परापूर्वदेखि नै महिलाको पहुँच हुनैपर्ने ठाउँमा पनि परिवार र सामाजिकीकरणका नाममा विभेदकै जालो बिछ्याउँदै आयो राज्यले । परिवारमा पहिलो चाहना छोरा हुन्छ, छोरी दोस्रो रोजाइमा मात्र पर्छे । पुरुषको वंश, पुरुष एकल निर्णय र नेतृत्वले गाँजेको मानसिकतामा कानुनत: महिला पनि उत्तिकै समान हकदार र अस्तित्वका प्राणी हुन् भन्ने मान्यता नै बनेको पाइँदैन । धर्म, भाषा, संस्कारले महिलालाई दोस्रो दर्जा दिँदा के ती मानवीय नै मानिन्छन् ? महिलालाई मानव भन्ने ज्ञानको स्रोत होला कि नहोला ?

कर्मकाण्डी स्तोत्रहरूमा खोजिने ज्ञानले समाजलाई सभ्य बनाउनुको सट्टा यो असभ्य पथले दुर्घटना नै गराउँछ । समाजको जड चेतना बमोजिम बनेका संरचनामा पुरुषसत्ताको रक्तसञ्चारले काम गरेको छ । हाम्रो ज्ञानका स्रोत र प्रचलित परम्परा, धर्म, शिक्षा, कानुन, राजनीति आदिबाट नि:सृत छन् । हामी धर्मभीरु समाजका सदस्य हौँ । हाम्रो पारिवारिक संरचना, शिक्षाको निर्णय, नियम कानुन मनुस्मृति, चाणक्य नीति, रामायण, महाभारत, कुरान, बाइबललगायतका ग्रन्थबाट प्रशस्त प्रभावित छन् । महिलाको स्वतन्त्रताबारे चाणक्य नीतिको नवौँ अध्यायको तेस्रो श्लोकमा लेखिएको रहेछ– ‘स्त्रीलाई बालककालमा पिताले, युवावस्थामा पतिले र बुढ्यौलीमा छोराले रक्षा गर्छन् किनभने स्त्रीहरू स्वतन्त्रतायोग्य हुँदैनन् ।’

यो महिलामाथिको शोषणको एउटा नमुना मात्र हो र यसकै आडमा आजसम्म हिंसा हुँदै आएका छन् । जब महिलालाई निजी सम्पत्तिका रूपमा प्रयोग गर्छ समाजले, तब उसको स्वतन्त्रता कहाँ रहन्छ ? समाजको चिन्तन प्रक्रियामाथि यस्तै श्लोकहरूको बलियो प्रभाव छ । महिला स्वतन्त्रताका लागि यस सोचमा विनिर्माण हुनैपर्छ । 

हाम्रो सामाजिक, सांस्कृतिक संरचनाले पुरुषलाई मालिक र आर्थिक व्यवस्थापनको संरक्षकका रूपमा चित्रण गरेको छ । महिला आर्थिक रूपमा परनिर्भर र शिक्षाबाट वञ्चित हुनुको अर्थ जीवन अरूबाट चलाइनु हो । समाज डोर्‍याउने नीतिकथामा नर र नारीको अकाट्य भूमिका देखाउँदै घटनाक्रम अगाडि बढ्छन् र अप्ठेरो परिस्थितिमा पुरुषलाई अब्बल बनाउँदै महिलालाई दासीको स्थान दिन्छन्, तब सोच्न बाध्य बनाउँछ– यी स्त्रीद्वेषीहरूलाई किन द्रष्टा मानियो ?

समाजले यसरी अमानवीय विचारलाई उपदेश, सामाजिकीकरणको रूपमा प्रयोग गर्दै आइरहेको छ । महिलाका लागि विभेदको चक्रब्यूह बुनेको छ भने पुरुषलाई हँुदै नभएका कपोलकल्पित गुणको भारी बोकाई ‘मर्द’ करार पनि गरेको छ । नरनारी समाजका समान अंग हुन् भन्नेसम्म ज्ञान नहुनेलाई भविष्यद्रष्टा बनाई पुज्न तत्पर रहने हाम्रो कतिसम्मको बेहोसी जमात हो यो ? यसैले गर्दा हामी दासयुगीन सोचबाट माथि उठ्न नसकेका हौँ । यी भाष्यहरूले परिवार र समाजमा पितृसत्ता फैलाएका छन् । स्कुलका पाठ्यपुस्तक यिनै ज्ञानमा आधारित छन् । छात्राहरू विद्यार्थी नभई वंश चलाउने यन्त्र हुन् भन्ने निकृष्ट मानसिकता बोकेका गुरुहरूबाट ज्ञान बाँडिन्छ । दैनिकजसो बालिका नै बलात्कृत भइरहँदा समाजको शिक्षाको स्तर प्रस्ट छ नै । र, यस्तो घृणित कार्यमा मौनता साँध्ने समाजमा स्त्रीले कसरी सुरक्षित महसुस गर्न सक्लान् !

महिलालाई मानव हुन् भन्ने यथार्थबोध गराउन आजको शैक्षिक जरो नै उखेल्नुपर्छ । सनातनदेखिका शास्त्रबाट सञ्चालित थिचोमिचोविरुद्ध महिलाले सशक्त प्रतिकार गरी नारी–धर्म रक्षा गर्नैपर्ने बेला भएको छ । महिलाको स्वतन्त्र जीवनको आधार परिवारको पोषण र शिक्षामा अडेको हुन्छ । समाजमा परिवर्तन ल्याउन छोरीले पढ्नैपर्छ भन्ने धारणा जब्बर रूपमा पुरुषमा हुनुपर्‍यो । छोराजस्तै छोरीमा पनि निर्णय गर्ने अधिकार हुन्छ भन्नेमा सहमति गर्दै पुरुषले आफ्नो दम्भी सत्ताको फेर छाड्नुपर्‍यो । महिलाकै अस्तित्वमा ठाडै हिंसात्मक हमला बोल्ने किताबहरूबाट नि:सृत गालीलाई वचन–अमृत मान्नेहरूको वर्चस्व रहेको समाजमाथि प्रश्न गरौँ ।

राज्यलाई समयानुकूल परिवर्तन स्वीकार्ने वातावरण निर्माणमा अनुदार बन्न पाइने सुविधा कतै रहँदैन । महिला अपमानित हुनुपर्ने सामाजिकीकरणका अपज्ञानका खाल्डा पुर्ने काम नै सभ्य संस्कारको थालनी हुन सक्छ । महिलाका सवाल महत्त्वपूर्ण नठान्ने पुरातनवादी सोचको प्रतिकार र वहिष्कार हुनुपर्छ । महिलाबारे अन्ध सोचको विनिर्माणको अभियानले बौद्धिक वर्गमै तीव्रता ल्याओस्, तब यो जनतामा मुखरित हुनेछ । र, महिलाले मानव भएको अनुभव गर्न सक्नेछन् ।

प्रकाशित: भाद्र १३, २०७५

ट्याग: टिप्पणी