को बस्ला गिरिजाबाबुको कुर्सीमा ?

- सन्तोष आचार्य

विराटनगरस्थित कोइराला निवासमा ३ भदौ बिहानको दृश्य अलि फरक थियो । त्यहाँ थिए, कांग्रेस महामन्त्री डा शशांक कोइराला । अंशबन्डामा नोना–केशवपुत्र डा शेखर कोइरालाको भागमा परेको उक्त निवासमा शशांक देखिनु आफैँमा आश्चर्य मानियो । किनभने, काका गिरिजाप्रसाद कोइरालाको निधनपछि विराटनगर पुग्दा सुशीला–बीपीपुत्र शशांक प्राय: होटलमै बस्ने गर्थे । यसपटक भने उनको विराटनगर यात्राले अर्कै मोड लियो ।

शशांकले शेखरसँगै एक दिन कोइराला निवासमा बिताए । कार्यकर्ता, शुभेच्छुक तथा सञ्चारकर्मीसामु कोइराला दाजुभाइ एकसाथ देखिए पनि ।

‘मुनु तिमी यहाँ बस’ भन्दै शेखरले बीचमा रहेको कालो रङको कुर्सी देखाए । आफू अर्को कुर्सीमा बसे । कालो रङको कुर्सी त्यही थियो, जहाँ गिरिजाप्रसाद बस्ने गर्थे । त्यही कुर्सीमा बसेर गिरिजाप्रसादले मुलुक र पार्टी राजनीतिसँग जोडिएका महत्त्वपूर्ण घोषणा गर्थे । ‘जुनियर कोइराला’ मध्येका एक शशांकले पनि यसपटक काकाकै शैली दोहोर्‍याए । शशांकले घोषणा गरिदिए, ‘अबको महाधिवेशनमा म वा शेखर दामध्ये एक जना सभापतिको उम्मेदवार बन्नेमा शंका छैन । म कि दा (शेखर) भन्ने टुंगो लाग्न बाँकी छ ।’ कोइरालाहरूले आफ्ना महत्त्वपूर्ण अभिव्यक्ति कोइराला निवास, विराटनगरबाटै दिन्छन् भन्ने संकेत पनि थियो त्यो ।

सिटौला–कोइराला नयाँ ध्रुव

यसपटक कोइराला दाजुभाइको विराटनगर–यात्रा कांग्रेसमा तरंग ल्याउन काफी भयो । केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा खासगरी शशांकले एक तीरबाट दुई निशाना लगाए । एकातिर, पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीलाई लिएर पहिलो पटक सार्वजनिक रूपमै कडा आलोचना गरे । अर्कोतिर, वरिष्ठ नेता रामचन्द्र पौडेललाई स्तब्ध तुल्याउने गरी १४औँ महाधिवेशनमा कांग्रेसको कमान्ड कोइराला परिवारकै कसैले लिने घोषणा गरिदिए ।

जिब्रो चिप्लिएर पक्कै बोलेका थिएनन्, महामन्त्री कोइरालाले । खासगरी २ भदौमा विराटनगरमा प्रजातान्त्रिक विचार समाजले आयोजना गरेको मञ्चमार्फत महामन्त्री आफ्ना पार्टी सभापतिमाथि खनिए, ‘पार्टी सभापतिको कार्यशैलीबाट म आजित भइसकेको छु, पार्टीलाई उहाँले क्षतविक्षत पार्नुभयो, गुट–उपगुटमा विभाजित गर्नुभयो । मेरो सल्लाह पनि सुन्न छाड्नुभयो ।’

उक्त कार्यक्रमको खास उद्देश्य थियो– कोइराला दाजुभाइलाई एउटै मञ्चबाट बोल्न लगाउने र सभापतिको कार्यशैलीको आलोचना गर्ने । अबको महाधिवेशनमा कोइराला परिवारबाट एक जनाले सभापतिको उम्मेदवारी दिने घोषणा गर्ने ।

आखिर भयो पनि त्यही । कार्यक्रममा पूर्वमहामन्त्री कृष्ण सिटौलाको उपस्थितिको पनि खास अर्थ थियो । विगतमा गिरिजाप्रसाद कोइरालाका प्रियपात्र रहेर शान्ति प्रक्रिया तथा गणतन्त्र स्थापनामा महत्त्वपूर्ण भूमिका खेलेका सिटौला पछिल्लो समय कांग्रेसभित्र तेस्रो मोर्चा खोलेर बसेका छन् । युवा नेताहरूको साथ रहेको सिटौला–समूहको पहलमै विराटनगरमा उक्त कार्यक्रम भएको बुझ्न कठिन छैन । अर्थात्, पछिल्लो समय सिटौला र कोइराला परिवारबीच १४औँ महाधिवेशनलाई लिएर देखिन थालेको निकटताको संकेत थियो, उक्त कार्यक्रम ।

सिटौला र कोइराला परिवार एक ठाउँमा आएको खण्डमा सिटौलाको स्थान कहाँ हुन्छ, स्पष्ट छैन । यदि कोइराला परिवारमध्ये शशांक वा शेखर सभापतिको दाबेदार हुने भए सिटौला अहिले पौडेल रहेको वरिष्ठ नेताको वरीयतामै पनि बस्न सक्छन् ।

यस्तो स्थितिमा सिटौला समूहबाट गगन थापा महामन्त्रीका रूपमा अगाडि सारिन सक्छन् । त्यसबखत पौडेलले आफँै सभापतिको दाबेदारी दिन्छन् वा प्रकाशमान सिंहलाई अगाडि सार्छन् ? यसै भन्न सकिन्न । पौडेलले देउवा वा सिटौला–कोइराला गठजोडलाई सहयोग गर्नुपर्ने परिस्थिति पनि निर्माण हुन सक्छ । १३औँ महाधिवेशनमा तेस्रो ध्रुुव खडा गरेर सभापतिका उम्मेदवार बनेका सिटौलाले दोस्रो चरणको मतदानमा देउवालाई सहयोग गरेका थिए । तर, पछिल्लो समय देउवासँगको सम्बन्धमा चिसोपन बढेपछि सिटौला–कोइराला परिवारबीच निकटता देखिएको हो । महामन्त्री शशांक भन्छन्,“पार्टी पंक्तिसँग रायसल्लाह लिएर म वा शेखर दा आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार हुनेछौँ । अब कसैको पछि लागेर राजनीति गर्ने होइन ।”

पछिल्लो पटक कांग्रेसभित्र देखिएका गुट हुन्– देउवा, पौडेल र सिटौलासहितको कोइराला गुट । सम्भवत: कांग्रेसभित्रको आगामी राजनीति यही गुटवरपर घुम्नेछ । कांग्रेसमा देउवाको कार्यकाल डेढ वर्ष बाँकी छ । विधान अनुसार सभापतिको अधिकार प्रयोग गरेर देउवाले आफ्नो कार्यकाल एक वर्ष लम्ब्याउन सक्छन् ।

संस्थापन मोह 

कांग्रेस स्थापना भएपछि एक दशकबाहेक पार्टी नेतृत्वमा कोइराला नै रहे । विसं ०३९ मा बीपी कोइरालाको निधनदेखि ०४८ मा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री नबन्दासम्मको समयलाई छाड्ने हो भने कांग्रेस सधैँ कोइरालाहरूको नियन्त्रणमा रह्यो । उक्त कालखण्डमा पनि कोइरालाहरू नै संस्थापनजस्तै थिए । यसैले पनि होला, पार्टी नेतृत्व आफ्नो परिवारबाट बाहिर जान नदिने जडवत् चिन्तन सबै प्रभावशाली कोइरालाहरूमा समान रूपले व्याप्त छ । भारतमा अहिलेको इन्डियन नेसनल कंग्रेसमा गान्धी परिवार पार्टी नेतृत्व आफूभन्दा बाहिर जान दिँदैन । यही स्वभावको प्रभाव कोइराला परिवारमा देखिन्छ ।

१३औँ महाधिवेशनपछि कांग्रेस नेतृत्व देउवाको हातमा पुग्यो । गिरिजाप्रसाद र सुशील कोइरालाको निधन भइसकेपछि पार्टीमा बाँकी रहेका ‘जुनियर कोइरालाहरू’ बीच आपसी बैमनस्यको लाभ देउवाले लिए । संस्थापन पनि हुन नसक्ने अनि नेतृत्वमा पनि पुग्न नसकिने देखेपछि पछिल्लो एक वर्षमा कोइराला परिवारका सुजाता, शशांक र शेखर एक ठाउँमा आउन थालेका हुन् । शेखर भने वंशवादको राजनीति आफ्ना लागि अस्वीकार्य भएको बताउँछन् । भन्छन्, “म कोइराला परिवारको हुँ । तर, म कहिल्यै पनि वंशवादको पक्षमा थिइनँ, छैन । कसको छोरा वा छोरी भन्ने आधारमा पार्टीको नेतृत्व छान्ने कुरा मलाई बेतुक लाग्छ । वंश हेरेर नेतृत्व छनोट हुने होइन, काम, ल्याकत, भूमिका, क्षमता आदि महत्त्वपूर्ण हुन् ।”

कोइराला मार्गचित्र

१३औँ महाधिवेशनमा पौडेल क्याम्पका तर्फबाट महामन्त्री लड्ने तयारीमा थिए शेखर । तर, अन्तिम समयमा पौडेलले नोनापुत्रभन्दा बीपीपुत्रलाई महत्त्व दिन जरुरी ठाने । परिणाम, क्याम्पबाट शेखर बाहिरिए, शशांक भित्रिए । शेखरलाई न देउवा गुटले रुचाएको देखियो, न त पौडेल गुटले नै । यसैले आगामी महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने तयारीका साथ देश दौडाहामा लागे उनी ।

शशांक त्यतिबेला पौडेल समूहबाट टाढिए, जतिबेला उनले संसदीय दलको नेता छनोटमा पौडेल समूहका प्रकाशमान सिंहलाई सहयोग गरेनन् । पौडेल पक्षले शशांकलाई ‘देउवाको मान्छे हुन रुचाएको’ आरोप लगायो । तर, विराटनगरमा महामन्त्री शशांकले पार्टी सभापति देउवामाथि दिएको कडा प्रतिक्रियाले उनी पछिल्लो समय देउवासँग पनि नरहेको संकेत गर्‍यो । ‘कसैको पछि लागेर राजनीति नगर्ने’ शशांकको उद्घोषले सके आफैँ नभए दाजु शेखरलाई पार्टी सभापति बनाउने बाटोतिर लागेको बुझ्न कठिन छैन ।

सिटौलालाई गुरु थापेर आगामी महाधिवेशनमार्फत पार्टी नेतृत्व आफ्नो हातमा लिने महत्त्वाकांक्षा देखाएको कोइराला परिवारलाई देउवाबाट बिच्किएका र पौडेल गुटमा नअटाएकालाई आफ्नो समूहमा ल्याउन कठिन छैन । विशेषगरी हिन्दु राष्ट्रको वकालत गर्ने शशांकलाई खुमबहादुर खड्काको निधनपछि उक्त समूहभित्र रहेका केबी गुरुङदेखि लक्ष्मण घिमिरेसम्मको सहयोग रहन सक्छ । किनभने, यो समूह कुनै बेला कोइराला परिवारभित्रै थियो । कोइराला परिवारबाटै राजनीतिक अनुभव बटुलेका विजय गच्छदार पनि त्यसभित्र अटाउन सक्ने स्थिति रहन्छ । गच्छदारलाई देउवाले आफूसँगै राख्न नसकेको स्थितिमा विशेषगरी शेखरको प्रयासमा उनी कोइराला क्याम्पमै आउन सक्छन् ।

मिल्लान् कोइराला ?

बीपीपुत्र हुनुको सांकेतिक लाभ शशांकलाई छ । पार्टीमा उनी निर्वाचित महामन्त्री हुन् । यसैले आगामी महाधिवेशनमा उनले सभापतिको दाबी गरे अप्रत्याशित हुने छैन । तर, दाजु शेखरको राजनीतिक सुझबुझ, विगतमा उनले देखाएको राजनीतिक कौशल र पूर्वदेखि पश्चिम नेपालका कार्यकर्ता पंक्तिसँगको सामिप्यलाई पन्छाउन उति सहज छैन । दुवैबीचको महत्त्वाकांक्षाको टकरावको व्यवस्थापन कसरी हुन्छ ? यसैमा अन्तरनिहित छ, कोइरालाबन्धुको राजनीतिक भविष्य । गिरिजापुत्री सुजाता क्यान्सरबाट प्रभावित भएपछि राजनीतिक महत्त्वाकांक्षाबाट टाढिएकी छिन् । चिकित्सकले ‘जे गर्दा आनन्द आउँछ, त्यही गर्नु’ भन्ने सल्लाह दिएपछि उनको दैनिक जीवन अध्यात्मकेन्द्रित छ । यसैले दुई दाजुभाइको आकांक्षामा उनी बाधक छैनन् । तर, पार्टी नेतृत्व कोइराला परिवारमै आउनुपर्ने चाहनालाई उनले लुकाएकी पनि छैनन् । “म नेतृत्वको दौडमा छैन । तर, मेरो साथ र सहयोग दुवै (शेखर र शशांक) लाई छ । पहिले पार्टी जोगाउनुपर्‍यो । पार्टी जोगाउन सक्षम व्यक्ति नेतृत्वमा आउनुपर्छ,” सुजाता भन्छिन्, “तर, अहिले नेतृत्वका लागि घोषणा गर्ने बेला भएको थिएन । धेरै हतार भयो ।”

०६२/०६३ को आन्दोलनपछि पूर्णकालीन राजनीतिमा आएका आँखा चिकित्सक शशांकले आफ्ना लागि सुरक्षित निर्वाचन क्षेत्रको खोजी गरे । तर, उनलाई राजनीतिमा आउन नदिन मोरङमा नोना कोइरालाले र सुनसरीमा सुजाताले बाधा खडा गरे । त्यसबाट विरक्तिएर सर्लाही वा सप्तरीमा सुरक्षित निर्वाचन क्षेत्र खोजिरहेका शशांकलाई देउवाले नै ०६४ को संविधानसभा निर्वाचनमा नवलपरासी–१ मा लगेका हुन् ।

विगतमा जस्तो अब एकअर्काबीच निषेधको राजनीति गर्ने अवस्थामा यी दुई बन्धु छैनन् । बीपीका सन्तान ‘ए क्लास’ कोइराला, गिरिजाका सन्तान ‘बी क्लास’ र अरू दाजुभाइका सन्तान ‘सी क्लास’ हुनेजस्तो कोइराला परिवारमा झाँगिएको विगतको मान्यता पनि भत्किइसकेको छ । यस्तो स्थितिमा कोइरालाबन्धु नजिकिने परिस्थिति बनेको हो ।

प्रकाशित: भाद्र १२, २०७५

ट्याग: काँग्रेस