सम्बोधनको हेपाहा संस्कृति

- सुरेन्द्र लाभ

ओई पहाडी ओई ओई

चिल्लर मारे ढोई ढोई

जनकपुरतिरका ६० काटिसकेका व्यक्तिलाई राम्ररी सम्झना होला यस्ता हरफ । पहाडतिरबाट डोको बोकेर कोही आउँदा बच्चाहरू पछि लाग्थे र गिज्याउन थाल्थे– ‘ओई पहाडी ओई ओई ...।’ रमाइलो मानिरहेका ती बच्चालाई कुनै अनुमान हुन्थेन, त्यो विचरालाई कस्तो अनुभूति भइरहेको छ । त्यो पिठ्यूँमा डोको र ओठमा मुस्कानको भार बोक्दै अगाडि बढिहाल्थ्यो ।

तिनै बच्चाहरू ठूला भएर काठमाडौँ गए पढ्न, जागिर गर्न । अनि, उनीहरूका कानमा सम्बोधनका शब्द पर्न थाले– धोती, सातु, मधिसे, भैया आदि । अपमानित भएर पनि चुप लाग्नुबाहेक कुनै विकल्प थिएन, त्यो पुस्तासँग । यस्तैयस्तै हेपाहा सम्बोधनले आगो बाल्ने काम गर्‍यो । देशभरि राजनीतिक मुद्दा छन् । विभेदका विषय छन् । असमानताका सवाल छन् । यसले समाजमा द्वन्द्व जन्माएकामा कुनै शंका छैन । यही हेपाहा सम्बोधनको संस्कृति पनि द्वन्द्वको प्रमुख कारक हो । तर, यसबारे हामी त्यति गम्भीर देखिएका छैनौँ ।

कुनै पहाडीलाई ‘पहाडिया’ भन्दा त्यो व्यक्तिमाथि कस्तो मनोवैज्ञानिक प्रभाव पर्छ भन्ने हामी पटक्कै विचार गर्दैनौँ । संघीयताबारे देशमा चर्को छलफल चलिरहेका बेला सिन्धुलीमा गएर हामीले त्यहाँको नागरिक समाजसँग अनुरोध गरेका थियौँ, ‘जनकपुरतिर बन्ने प्रदेशमा सिन्धुलीलाई राखौँ ।’ उनीहरूले त्यसलाई अस्वीकार्दै तर्क सारे, ‘माफ गर्नुस्, जनकपुरमा हामीलाई डाइरेक्ट पहाडिया भन्दा रहेछन्, हुन्न ।’ तर, कुनै मधेसीलाई ‘मधेसिया’ भन्दा उसको मनमा कति पीडा हुन्छ भन्नेप्रति हामी कहिल्यै गम्भीर हुँदैनौँ । ‘मधेसिया’ भन्दाभन्दै देशमा आन्दोलनको शृंखला नै प्रारम्भ भयो । हुन त, कुनै नवआगन्तुकप्रति रैथाने समाज प्रारम्भमा त्यति सहिष्णु हुँदैन । काठमाडौँमै पहाडबाट आउने व्यक्तिलाई ‘पाखे’ भन्ने गरिन्थ्यो । हिन्दु रैथाने समाजमा मुसलमान आउँदा त्यस्तै ‘मियाँ’ अथवा ‘मुसल्टे’ भनेर सम्बोधन गरियो । मारवाडी समाजलाई अहिले पनि ‘माडे’ भनेर परोक्षमा बोलाइने गरिन्छ ।

शब्द समय र परिस्थिति सापेक्ष हुन्छ । काठमाडौँमा मधेसीलाई ‘भैया’ शब्दबाट सम्बोधन गर्दा मधेसी समुदायले अपमानित अनुभव गरे । ‘भैया’ शब्द त राम्रै छ । अर्थ पनि ‘ दाजु’ हुन्छ । तर, भारतको मोतिहारीबाट आएका तरकारी बेच्नेलाई पनि ‘भैया’ र नेपालकै मधेसीलाई पनि ‘भैया’ बाट सम्बोधन गर्दा मधेसी समुदाय विद्रोही भइदियो । काठमाडौँले मोतिहारी र जनकपुरको अनुहारलाई छुट्याउन सकेन ।

कुनै बेला नेपालगन्जतिर ‘दाजु’ शब्दको यस्तै हाल थियो । म लगभग ४० वर्षअगाडिको एउटा घटना सम्झन्छु । हामी अर्थात्, म र एक जना खस नेपालीभाषी मित्र एउटा पसलमा गयौँ । अवधीभाषी पसलेले मेरो मित्रसँग सोधे, ‘दाजु’ क्या लिजिएगा ?’ दाजु शब्द सुन्नेबित्तिकै मेरो मित्र रिसले चुर भए र आफ्नो जुत्ता फुकाल्दै भने, ‘साले दाजु कहेगा, जुम्ली समझता है ?’ बडो मुस्किलले झगडा सम्हालियो ।

कुरो के थियो भने नेपालगन्जमा हुम्ला–जुम्लाबाट त्यो जमानामा थुप्रै मान्छे आउँथे भारत जानलाई । टाँगा चढेर सीमा पार गर्नुपथ्र्यो । त्यतिखेर नेपालगन्जमा टाँगावाला थुप्रै थिए । आपसमा प्रतिस्पर्धा पनि धेरै थियो । उनीहरूलाई आफ्नो टाँगामा बसाल्न सबै टाँगावाला कराउँथे, ‘बैठो दाजु बैठो, हमारे टाँगे पर बैठो ।’ यसरी त्यो समयमा दाजु पछौटेपनको पर्याय थियो । आज भेरीमा धेरै जल प्रवाह भइसकेको छ । र, स्थिति फेरिएको छ ।

मधेसी समुदायको आन्तरिक संरचना पनि उथलपुथलको सिकार भएको छ । सम्बोधनको संस्कृति स्खलित भएको छ । ब्राह्मणलाई ‘बभना’, कायस्थलाई ‘कैथबा’, यादवलाई ‘गोअरबा’ जस्ता सम्बोधन सामान्य भएको छ । त्यति मात्र होइन, केही जातलाई ‘बडका लोक’ र केहीलाई ‘छोटका लोक’ बाट बोलाइने गरिएको छ । कहाँ हरायो समृद्ध संस्कृति ? के भयो हाम्रो सभ्यतालाई ? मानवता कता लुप्त भयो ?

यसरी समाज अगाडि बढ्न सक्दैन । चाहे नयाँ संविधान आओस् अथवा नयाँ मुलुकी ऐन । हेपाहा सम्बोधनको संस्कृतिलाई अन्त्य गर्नैपर्छ । एकले अर्काको अस्तित्व स्वीकार्नैपर्छ । एकले अर्काको स्वाभिमानको रक्षा गर्नैपर्छ । एकले अर्कालाई सम्मान गर्नैपर्छ । यी सबै कार्य सम्पन्न गर्ने दुई तरिका छन् । पहिलो, कानुन । कसैले कसैलाई हेप्नुहुँदैन । र, हेपेर सम्बोधन गर्नुहुँदैन भन्नेमा कानुनको भूमिका हुन सक्छ । र, अर्को त्योभन्दा ठूलो हाम्रो संस्कार नै हो । प्रत्येक व्यक्तिको संस्कारमा परिमार्जन आवश्यक छ । यस सम्बन्धी संवेदनशीलतामा वृद्धि जरुरी हुन्छ । प्रत्येक सचेत नागरिकको सक्रिय भूमिका यस सन्दर्भमा उल्लेखनीय हुन सक्छ ।

प्रकाशित: भाद्र ११, २०७५

ट्याग: विचार