पुरानै धङधङी [फिल्म समीक्षा : नाईं नभन्नु ल ५]

फिल्म : नाईं नभन्नु ल ५ | रेटिङ : २/५

- गोकर्ण गौतम

नेपाली सिनेमामा दुई प्रवृत्ति हावी छन्– कि हँसाउनै पर्ने कि रुवाउनै पर्ने । छक्कापञ्जा मार्का फिल्ममा जसरी पनि हँसाइ छाड्ने ध्येय राखिन्छ, नाईं नभन्नु  सिरिजमा जबर्जस्ती रुवाउने । यस्ता फिल्ममा कथा र प्रस्तुति सधैँ ओझेलमा पर्छन् । ताजापन खोजिन्न, उही म्याद गुज्रेको घिसिपिटी शैलीलाई निरन्तरता दिइन्छ । नाईं नभन्नु पनि अनुमान गरिएजस्तै छ ।

निर्देशक विकास आचार्य प्रभावकारी कथा भन्न होइन, दर्शकलाई रुवाउन तल्लीन देखिन्छन् । तर, उनले बुनेको केन्द्रीय कथा र प्रस्तुति बासी लाग्छन् । पात्रलाई रुवाउँदै वा क्यान्सरग्रस्त बनाउँदैमा दर्शक पनि सँगै रुन्छन् भन्ने भ्रमले फिल्मको वजन घटाएको छ । आचार्य र सामीप्यराज तिमिल्सिना मिलेर लेखेको पटकथामा पनि खास जादू छैन । संगीत, सिनेमाटोग्राफी, कलाकारको अभिनय र क्लाइमेक्सतिरका दृश्यले साख जोगाएको छ । अघिल्लो संस्करणसँग यो फिल्मको कथाको केही साइनो छैन ।

स्कुल बिदा बनाउन नीर (अनुभव रेग्मी) दिदीको घर इलाम गएका छन् । त्यहाँ अञ्जना (सेड्रिना शर्मा) सँग भेट हुन्छ । छोटै समयमा एकअर्कालाई औधि माया गर्छन् । नीर वयस्क भइन्जेलको कथा देख्न पाइन्छ, जसको मनमा अझै अञ्जनाको अथाह प्रेम छ । उनीहरुको सम्बन्ध र पारिवारिक उतारचढावमै केन्द्रित छ नाई नभन्नु । यद्यपि, क्लाइमेक्समा ठूलो नीर (अभिषेक नेपाल) मा लुकेको रहस्यबाहेक अघिल्ला संस्करण हेरेका दर्शकले सबथोक अनुमान लगाउन सक्छन् ।

फुच्चे नीरको आफ्नै उमेरकी केटीसँग माया बस्ने तर केही विघ्न बाधा आइलाग्ने, उनको अभिभावकबीच मनमुटाव हुने घटनाक्रमले यस पटक पनि निरन्तरता पाएको छ । पात्र ‘सेटअप’ मा खर्चिएको सुरुआती आधा घन्टा पट्यारलाग्दो छ । ‘फ्ल्यासब्याक’ र अहिलेको कथालाई सँगै अगाडि बढाउन खोज्दा पटक–पटक किरकिर भएको छ । निरुता सिंहको प्रवेशपछि बल्ल कौतूहल थपिन्छ । बच्चाबच्चीको प्रेम अभिभावक र परिवारसम्म विस्तार हुन्छ । अञ्जना र आमा (प्रियंका कार्की) को सम्बन्ध र अञ्जनाको खुसीका लागि नीरको भूमिकाले जोकोहीको मन जित्छ । तर, निर्देशक पात्रलाई क्यान्सरबाट ग्रसित बनाएर दर्शकको संवेदना जित्ने पुरानै सूत्रबाट प्रताडित हुनुचाहिँ विडम्बना हो ।

नाईं नभन्नु  सिरिजलाई एउटा संगीन आरोप लाग्ने गरेको छ, बच्चाबच्चीलाई लभ गर्न सिकाएको । ‘अन्डरएज लभ’ सुहाउँदो मानिन्न पनि । तर, यसपटक निर्देशकले यो अस्त्रलाई अझ धारिलो बनाउने प्रयास गरेका छन् । फुच्चे नीर र अञ्जना यति गहिरा संवाद बोल्छन् कि हिजोआजका वयस्कले समेत बुझ्न मुस्किल पर्छ । उमेर नसुहाउँदो संवाद खड्कने अर्को पक्ष हो । पात्रमाथि लेखक हाबी हुादा यस्तै हुन्छ । बरु अभिषेक नेपाल र स्वस्तिमा खड्काको जोडी क्लाइमेक्स नजिकै पुग्दा मर्मस्पर्शी लाग्छ । पात्र धेरै भए पनि बिस्कुनझैँ छरिएका छैनन् । पात्रमाथि निर्देशकको एक खालको नियन्त्रण देखिन्छ । तर, समस्या उही, निर्देशकको मूल ध्याउन्नै रुवाउने छ, त्यो पनि पात्रलाई कमजोर बनाएर । जुन कथानकका हिसाबले आफैँमा विश्वसनीय र मर्मस्पर्शी लाग्दैन ।

यस फिल्मको सबैभन्दा प्रशंसनीय पाटो हो, कलाकारको अभिनय । आकर्षणको केन्द्रमा छिन्, सेड्रिना शर्मा । १२ वर्षीया सेड्रिनाले पात्रलाई पूरापूर आत्मसात् गरेकी छन् । सेड्रिना नेपाली फिल्मका लागि नाईं नभन्नु  को सुन्दर उपहार हुन सक्छिन् । यही सिरिजबाट चम्किएका बालकलाकार अनुभव रेग्मीको अभिनय सदाझैँ जीवन्त छ । स्वस्तिमा, अभिषेक, प्रियंका, केकी अधिकारी, दिलीप रायमाझीले पनि आफूले पाएको भूमिकामा न्याय गरेका छन् । निरुता सिंहलाई छोटो–मीठो चरित्रमा देख्न पाइन्छ ।

वसन्त सापकोटाद्वारा संगीतबद्ध ‘तिम्रो आँखामा...’ र ‘बालापनको उमेर...’ श्रुतिमधुर छन् । यसले फिल्मको आभा थपेको छ । नाईं नभन्नु  सिरिजकै पुराना गीतको पटक–पटक प्रयोगले झिंजो लगाउन सक्छ । पुरुषोत्तम प्रधानले इलामको मनोरम दृश्यलाई कैद गर्न कुनै कसर बाँकी राखेका छैनन् । पाश्र्व संगीत ठीकठाक भए पनि कलरिङमा ठाउँ–ठाउँमा समस्या छ । फिल्म थपिएसँगै निर्देशन शिल्पमा देखिनुपर्ने परिपक्वता पटक्कै छैन, निर्देशक आचार्यसँग । सर्जकका रुपमा उनले नाईं नभन्नु  को धङधङीबाट छुटकारा पाएकै जाती ।

अघिल्ला संस्करण रुचाएकालाई नाईं नभन्नु ले निराश नपार्ला । तर, कथा र प्रस्तुतिमा नयाँपन खोज्नेचाहिँ निराश हुनेछन् । खालि बासी सूत्र र संरचनाको हालीमुहाली ।

प्रकाशित: भाद्र ८, २०७५