[संस्मरण] सुखदु:खमा दु:खसुख

- टंक चौलागार्इं

दृश्य दुई, रोल पाँच, टेक एक/क्यामेरा ...एक्सन ...

पहिलो पटक ‘फोटो सुट’ गराउँदा म पूर्ण खुसी देखिनुपथ्र्यो, मोडलिङ गरेको फोटो गुरु वीरेन्द्र हमाललाई बुझाउँदा । ‘फोटो सुट’ गराउँदा हिरो नै भइने भाव अभिनयका एम आर्ट थिएटरका सबै विद्यार्थीमा देखिन्थ्यो ।

मेरो फोटोलाई हमालले सूक्ष्म दृष्टिले तौलिए । गुरुको नजरमा पर्न पाएकामा म मख्ख परेँ । एक्कासि कोठामा हाँसोको फोहोरा छुट्यो । हमालले ठट्टा गरे, “टंक, तिम्रो नाक र लौकामा के फरक छ यार ?”

लौका शब्दको अर्थ विभिन्न थियो, साथीहरुको शब्दकोशमा ! सँगसँगै हमालले एउटा ‘ननभेज जोक’ पनि सुनाए ।

घर पुगेको पहिलो मिनेटमा ऐना अगाडि थिएँ म । सबैभन्दा पहिला नाक हेरेँ, आँखा हेरेँ, मुख, दाँत, ओठ मिलाएर पटकपटक हेरेँ । घरी आफूलाई र घरी फोटोलाई हेरेँ । नेपाली चलचित्र उद्योगमा यो नाकले स्थान पाउला त !

फ्रेमभित्र एम आर्ट थिएटरमा अभिनय सिक्ने १४ विद्यार्थी थिए । त्यसमा तीन सुश्री । बाहिरी सौन्दर्य तौलिने हो भने एउटीलाई नायिका मानेर अरुलाई सहायकमा राख्दा अन्याय हुँदैनथ्यो । तर, सबैजसो केटाहरु आफूलाई राजेश हमाल मार्काको नायक ठान्थे ।

(कट् .. कट् ..कट् ...)

न्यारेसन (पहिलो दृश्य)

कमजोर आर्थिक अवस्था भएको नायकलाई रोज्यौँ हामीले । खान–लगाउन धौधौ भएपछि गार्मेन्टमा काम गर्‍यो । मोटर वर्कसपको काम पनि चाख्यो । आरएनएसी पर्खालमा पुराना पुस्तक बेच्यो । त्यसपछि उसका बुबाआमाले सानो चियापसल किने । ऊ नेपाल कमर्स क्याम्पसमा बीबीएस पढ्थ्यो ।

संकटकाल । बेरोजगार । आर्मी–पुलिसमा बाउआमाले पठाउन नमान्ने । विदेश पठाउन पनि नचाहने । काम पनि केही पाएको थिएन । त्यसैबेला अभिनय सिकाउने सूचना क्याम्पसको गेटमा देखियो । साथीहरुसँग सल्लाह गरेर अभिनयमा होमियो ।

दृश्य दुई, रोल छ, टेक एक/क्यामेरा ...एक्सन ...

सोफामा बसेर म रसियन निर्देशक, लेखक, अभिनेता स्तानिसलावास्कीको पुस्तक क्रिएटिङ अ क्यारेक्टर समाइरहेको थिएँ । समाउनु नै ठूलो कुरा हो । पढ्ने आाट आइसकेको थिएन । एउटी सुश्री मेरो ध्यान भंग गर्न तल्लीन थिई । एम आर्टका भित्तामा धेरै तस्बिरमध्ये बढी त हमालकै थिए ।

रंग क्षेत्रमा हमालको एकछत्र राज थियो । ‘ए तिमी वीरेन्द्रको चेला हौ ?’ भनेर सम्मानजनक भूमिका दिन्थे ।

यसरी सिफारिसमा पर्नेमा म सातौँ नम्बरको रहेछु । त्यसपछि म आफ्नो चियापसलमा बुबाआमालाई सघाउन छाडेर गुरुकै आसपास रमाउनुमा भविष्य देख्न थालेँ ।

दृश्य दुई, रोल सात, टेक एक/लाइट ... क्यामेरा ... एक्सन ...

हमालले कक्षामा पसेर नाट्येश्वरीको चरणमा आफ्नो निधार टेकाए । म उठिसकेको थिएँ, गुरुको पाउ समाउन । कक्षामा पसेको केही क्षणमा उनले खाजाको पोको खोले । गुरु खुसी हुँदा विद्यार्थीले पाउँथे, खाजा र ‘ननभेज जोक’ ।

उनीसँग अर्को पोको पनि रहेछ ।

“गंगा, भोलि भ्याउने जतिलाई सांस्कृतिक संघ, डिल्लीबजार लिएर आऊ है । सुखदु: फिल्मको सुटिङ छ । को–को छानिन्छौ, थाहा छैन । मैले तिमीहरुको फोटो दिइसकेको छु शिव दाइलाई ।”

सबैको अनुहारमा खुसीको भाव सञ्चार भयो । तर, मेरो भावमुद्रा गम्भीर थियो । यस्तो गाम्भीर्य न कथाले मागेको थियो, न त अरु कसैले । मेरो हात अनायासै आफ्नै नाकमा पुग्यो ।

वीरेन्द्रले कपाल मिलाए । रामबाबुलाई वार्मअप गर्न अह्राएर बाहिर निस्किए । चियापसल गएपछि गुरु आउँदैनन् भन्ने पक्का थियो ।

दृश्य– तीन, रोल छ, टेक  एक/क्यामेरा  ... एक्सन ...

घनश्याम र म ‘बेस्ट फ्रेन्ड’ थियौँ । मामाभान्जाको सम्बोधन गथ्र्याैं । रातैभरि हिरो बन्ने तर्कनाले काउकुती लगायो ।

बिहानै एम आर्ट थिएटरमा पुग्यौँ । अर्जुन बिसी डान्स सिकाइरहेका थिए । “तिमीहरु यहाँ किन आएका ?” पहिलो संवादसँगै निधारको पसिनालाई दाहिने हातले सपक्क पुछे ।

“सर, सीधै उता जाने हो ?”

“हो, हो छिटो जाऊ टंक । दिउँसोतिर म पनि आउँछु होला ।”

रोनाल्डोको एउटै ‘प्लट’ ले हामीलाई पुरानो बानेश्वर ल्याइपुर्‍यायो । सन् ९८ को विश्वकप फुटबल भर्खरै सकिएको थियो । डिल्लीबजारको चौबाटोमै पसलेसँग बाटो सोधेर सांस्कृतिक संघमा प्रवेश गर्‍यौँ ।

हलभित्रको एउटा कुनामा देख्यौँ– दिनेश, शम्भु, विष्णुलाई । भेट्नेबित्तिकै नियमित ‘ननभेज मेनु’ पस्किएँ । गुरुबाट पाएको दीक्षा !

गुरु हमाल मञ्चमा थिए– क्यामेराको ‘फ्रेम’ मा । गंगा, रामबाबु पनि क्यामेराअगाडि नै उभिएका । उनीहरुले त रोल पाइसकेछन् ।

हामी कुनामा चुपचाप बस्यौँ । श्रीकृष्ण श्रेष्ठलाई देखेपछि लागेको भोक हरायो ।

“म त श्रीकृष्णसँग अटोग्राफ लिन्छु ।” दिनेशले भन्यो ।

“मिथिला हेर्नु न मिथिला !” मन पर्ने नायिका देखेपछि मैले भनेँ ।

हमाल ओर्लिए । हामीले उनको खुट्टा समायौँ ।

“हामी आयौँ सर !”

“ए आयौ ? खै त सोनु, सीता आएनन् ?” जवाफ कसैले दिएनन् ।

“आइहाल त टंक, प्रोडक्सन म्यानेजरलाई भेटाइदिन्छु । सबै उसैले गर्छ ।” हमाल गुरुले भित्र किचेनतिर लगे । अह्राइपराइ गरेर प्रोडक्सन म्यानेजरलाई सुम्पिए । उसले सबैभन्दा पहिला ‘ब्रेकफास्ट’ गराएर कास्टिङ डाइरेक्टरलाई भिडाइदियो ।

“मलाई किन भिडाको फेरि ?” ऊ रिसायो ।

“एडीलाई भेटाइदेऊ, न एडीलाई । मेरो काम छ के !” प्रोडक्सन म्यानेजरले उम्किँदै जवाफ दियो ।

“ब्रेकफास्ट सकेर उता आऊ ल ? तिमीहरुलाई एडीसँग भेटाइदिन्छु ।” कास्टिङ डाइरेक्टर पनि बाहिरियो ।

कास्टिङ डाइरेक्टरको खोजीमा निस्कियौँ घनश्याम र म । तर, भेटिए अर्कै मान्छे, एफएमवाला जयप्रकाश रिजाल । दुवै उनका ‘फ्यान’ थियौँ । दंग पर्‍यौँ ।

जयप्रकाशले सम्भावित स्थान देखाइदिए । कास्टिङ डाइरेक्टर बाहिरपट्टि केटीहरुको हूलमा रहेछ । मैले पोखरीमा नुहाइरहेका गोपिनी र उनीहरुको सारी लुकाउने कृष्णको दृश्य सम्झिएँ ।

कास्टिङ डाइरेक्टर मन नलागीनलागी उठ्यो एडीको जिम्मा लगाउन । अन्नपूर्ण बेस क्याम्पतिर पुग्न जीउभरि भारी लादेको घोडाकै जस्तो हालत थियो एडीको । एडी अर्थात्, ‘एसिस्टेन्ट डाइरेक्टर !’

हातमा नेपाली फाइल, पछाडि झोला । एडीले मेकअप म्यानलाई जिम्मा लगाउँदा एक शब्द पनि बोल्न भ्याएन । मेकअप म्यानले मुखमा पानी छर्केर अलिअलि सेतो पाउडर पोतेर पठाइदियो ।

“टंकजी, शिव रेग्मी भन्या त्यही हैन ? चुरोट तानिरहने ।’ शम्भुले सोध्यो । “हो, हो ।” घनश्यामले सहीछापै लगाइदियो ।

उनीहरु बसेतिर ‘लाइट’ आयो । ढोकाबाट मदनकृष्ण श्रेष्ठ हलभित्र पस्दै रहेछन् । क्यामेरा पनि नजिक आयो । उनीहरु ‘नर्भस’ भए । श्रेष्ठ आएर उनीहरुका अगाडि बसे । गाउँले भेषका श्रेष्ठ आफ्नो अगाडि आएर किन बसे ? म छक्क परेँ ।

क्यामेरा मञ्चतिर गयो । रेग्मीले अर्को चुरोट सल्काए ।

“मामा, यो एडीको आफन्त परलोक भएछन् कि के हो आज ?” मैले कानेखुसी गरेँ शम्भु, दिनेश र विष्णुसँग ।

गुरुलाई अघिदेखि खोजिरहेका थियौँ । उनी लुगा फेरेर आएछन् ।

के भइरहेछ ? १ बजेसम्म पत्तो पाएनौँ ।

“ह्या ! यस्तो जाबो सुटिङमा पनि कोही बस्छ ? कहिल्यै पालो आउने होइन !” विष्णु सन्केर हिँड्यो ।

रिजालले छेउमा आएर सोधे, “तपाईंहरुको सुटिङ सकियो ?”

“छैन, खै कसैले केही भन्दै भन्दैन ।”

“सुटिङमा हिँडेपछि यस्तै हो, केही टुंगै हुन्न ।” उनले सान्त्वना दिए ।

दिनेश र शम्भु हिँडिसकेका थिए ।

तीन लट कालो चिया पियौँ, सित्तैमा । सुटिङबारे बुझ्न नपाउँदै साँझ पर्‍यो ।

एडीले हामीलाई उठाएर बाहिर निस्कन संकेत गर्‍यो । सबै कुर्सी खाली राख्न लगाएर शिव रेग्मीले चुरोट सल्काए ।

हामीले हमाल गुरुलाई खोज्यौँ । उनी घर गइसकेछन् । झमक्कै रात पर्‍यो ।

“ल, तिमीहरु अहिलेसम्म यहीँ छौ ? तिमीहरुको सिन त दिउँसै सकिएको !”  हामी त्यहीँ घुमिरहेको देखेर प्रोडक्सन म्यानेजर चकित पर्‍यो ।

मैले घनश्यामलाई हेरेँ, घनश्यामले मलाई । हामी दुवै अवाक् भयौँ । हाम्रो सुटिङ कुन बेला भयो !

हामी आफैँसँग लजाउँदै टाप कस्यौँ ।

राती के खाने ? कता जाने ? गोठाटार पुग्न सम्भव थिएन ।

चियापसलभित्र छाप्रोमा सुत्नुहुन्थ्यो, बुबाआमा । बोलाएँ । हामीले एक–एक पोका चाउचाउ खाएर टन्न पानी पिएर पेट भर्‍यौँ ।

न्यारेसन,

(केही महिनापछि सुखदु:ख फिल्म प्रदर्शन भयो । साथीहरु फुर्किंदै फिल्म हेर्न गए । फिल्ममा टंक चौलागार्इं र घनश्याम गौतमलाई देखाएकै थिएन ।)

“मदनकृष्णभन्दा पछाडिको म हो !” टंकले भन्यो । छेउमै बसेका सबैले उसलाई हेरे ।

“भान्जा बेइज्जत नगर न ।” घनश्यामले कानमै फुसफुसाए । यो ‘प्लट’ पनि उनीहरुको ‘क्यारिकेचर’ को मसला बन्यो ।

प्रकाशित: भाद्र ६, २०७५

ट्याग: संस्मरण