[टिप्पणी] प्रतिपक्षजस्तो कर्मचारीतन्त्र

- भीमदेव भट्ट

कर्मचारीतन्त्र कमजोर हुनुका पछाडि दुई कारण छन्– ट्रेड युनियन र समावेशीकरण । ०४६ को परिवर्तनपछि युनियनको अधिकार दिलाइएको हो । आधारभूत रूपमा त्यो ठीकै हो तर यसले सीमा नाघ्यो । हामी देख्दैछौँ, युनियनको हैसियत बढ्दै जाँदा तिनले सरकारै चलाउने हिम्मत गर्न थालेको । किनकि, सचिव यिनैले बनाउँछन्, मन्त्री यिनैले बनाउँछन् । सरकार भनेको हामी हौँ भन्ने परेको छ, युनियनका प्रतिनिधिलाई ।

०४६ को जनआन्दोलनपछिको अन्तरिम सरकारमा योगप्रसाद उपाध्याय गृहमन्त्री थिए । त्यही बेलादेखि कर्मचारी युनियनभित्र वाम र गैरवाम भनी दलीयकरण गरिएको हो । सुरुआत नै यसरी गलत जगमा भएको छ । ०६२/०६३ को जनआन्दोलनपछि समावेशिताको नारा आयो । ४५ प्रतिशत समावेशीबाट लिन थालियो । ब्राह्मण, क्षत्रीभन्दा पहिला राजाले नेवारलाई अगाडि ल्याएका हुन् । यसरी हेर्दा ब्राह्मण, क्षत्रीभन्दा नेवार आर्थिक रूपमा सक्षम देखिए । तर, उनीहरू जनजातिमा आए । कम क्षमताकै भए पनि जनजाति, मधेसी, अपांग, दुर्गम भेगका कोटाबाट थुप्रै अगाडि आए । तर, जो सक्षम छन् उनीहरू पछाडि परे । फलस्वरूप उनीहरू जहाँ आफ्नो राम्रो हुन्छ, त्यहीँ गए । गइरहेका छन् । त्यसले कर्मचारीतन्त्र कमजोर भइरहेको छ ।

०७२/०७३ मा यसको १० वर्षे कार्यकाल सिद्धियो । नयाँ संविधानमा यसलाई समावेश नगर्नुस् भन्दा दलहरू तयार भएनन् । संघमा हटाउने र बढीमा १० वर्ष राख्नुपर्छ भने प्रदेश तहमा आरक्षण गर्नुस् भन्ने मेरो सुझाव थियो । केन्द्रीय प्रशासन बलियो बनाउनुपर्‍यो । प्रशासनलाई दलहरूले नै बिगारेका हुन् । प्रशासनमा अहिले जेजति प्रगति भएको छ, त्यो आपैँm भएको हो तर सरकारले गरेर होइन । निरीह जनताले के पायो त खोई ? प्रशासनमा जहिले पनि आन्तरिक र बाह्य कारण हुन्छन्, त्यो दुवैलाई हेर्नुपर्छ ।

राजनीतिले मेरो वा आफ्नालाई संरक्षण गर्दै गयो । अरूलाई यो मेरो क्याम्पको होइन भनेर निरुत्साहित गर्दै गयो । त्यसले पनि हाम्रो कर्मचारीतन्त्रमा समस्या उत्पन्न भएको हो । सरकार र कर्मचारीतन्त्रभित्र ध्रुवीकरण छ । त्यसको दोष नेताहरूले अरूलाई दिन पाउँदैनन् । कर्मचारीलाई लेफ्ट र राइटमा उनीहरूले नै बाँडेका हुन् । एउटा पार्टीको सरकार बन्दा विपक्षी समूहले असहयोग गर्छ । त्यसैले प्रतिपक्ष खोज्न कतै जानुपर्दैन, कर्मचारी नै प्रतिपक्षजस्तो छ । यो यथार्थ हो । कम्युनिस्टले कांग्रेसलाई या कांग्रेसले कम्युनिस्टलाई हेर्दै हेर्दैन । राम्रो काम गरे पनि त्यसलाई खोट लगाएर हेर्ने हाम्रो कर्मचारीतन्त्रको विशेषता हो ।

राजनीतिक आधारमा नगई हेर्ने हो भने नीति निर्माण मन्त्रीले गर्ने हो, त्यसको कार्यान्वयन गर्ने काम सचिवको हो । उत्तरदायी बनाउन त्यसलाई लगाउन सक्नुपथ्र्यो । तर, त्यस्तो हुँदैन । सरुवामा, पदोन्नतिमा समस्या छ । सचिव को हुन्छ ? सत्तामा जो छ, त्यसैलाई आफ्ना मान्छेको बढी सूची बनाउने अधिकार हुन्छ । अन्तिममा तीन जना देऊ भन्दा तपाईं आफ्नो मान्छे छान्नुहुन्छ । त्यसैले हाम्रो करिअर विकासमा समस्या छ । सत्तामा जो आयो, उसले आफ्ना मान्छे च्याप्ने चलन छ । त्यसले गर्दा अर्को मान्छेले उसलाई हेलाको दृष्टिले हेर्छ । जानुपर्ने समानान्तर हो तर राजनीतिक धु्रवीकरणका कारण एउटा पार्टी जुन सरकारमा छ, त्यसको प्रतिपक्षजस्तो भएर कर्मचारीतन्त्रले असहयोग गर्छ । बाहिर जानैपर्दैन, कर्मचारीतन्त्रभित्रै छ, सरकारको प्रतिपक्ष । बाहिर पनि छन्, नभएका होइनन् । तर, यहाँ राम्रो कामको पनि विरोध हुन्छ । त्यसले गर्दा हाम्रो परिणाम राम्रो देखिएको छैन ।

(प्रशासनविद् भट्टसँग कुराकानीमा आधारित)

यी पनि पढ्नुहोस् :

आवरण कथा : कर्मचारीतन्त्र अक्षम कि असहयोगी ?

आवरण कथा : परिणाम नदिने निजामती प्रशासन

प्रकाशित: भाद्र ५, २०७५

ट्याग: टिप्पणी