१८ औँ एसियाड : भिजन 0

- पवन आचार्य

सन् १९५१ मा भारतमा भएको पहिलो एसियाली खेलकुदबाटै सहभागिता जनाए पनि नेपालले अहिलेसम्म स्वर्ण हात पारेको छैन । सन् १९५४ र १९६२ को प्रतियोगिताबाहेक सबैमा सहभागी नेपालले १८औँ संस्करणसम्म आइपुग्दा १ रजत र २२ काँस्य पदक मात्रै आफ्नो पोल्टामा पारेको छ । कराँते, तेक्वान्दो र बक्सिङबाहेक अन्य खेलमा नेपाल पदकविहीन छ ।

नेपाली खेलकुदको नियामक निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले २ भदौदेखि इन्डोनेसियामा सुरु भएको एसियाली खेलकुदमा पदकको सम्भावना बोकेको खेलमा लगानी थप्ने बताएको थियो । तर, यसपटक इन्डोनेसियामा नेपालको प्रतिनिधित्व गर्ने खेल संख्या २९ पुर्‍याइदियो । अघिल्लो संस्करणमा नेपालले २० खेलमा सहभागिता जनाएको थियो ।

यसपालि प्याराग्लाइडिङ, क्लाइम्बिङ स्पोर्ट्स, पेनकेक सिलात र स्केटबोर्ड गरी ४  नयाँ खेलमा नेपाली खेलाडीले आºनो क्षमता प्रदर्शन गर्दैछन् । पदकको सम्भावना नभएको खेलमा लगानी किन त ? राखेप सदस्यसचिव केशवकुमार विष्ट भन्छन्, “प्याराग्लाइडिङको विश्व च्याम्पियनसिपमा नेपालको प्रदर्शन राम्रो भएकाले एसियाली स्तरमा केही उपलब्धि हासिल हुन सक्छ । खेलाडीलाई एक्सपोजर दिन पनि एसियाली खेलकुदलाई उपयोग गर्ने योजना हो ।”

राखेप प्रशिक्षण विभागले एसियाली खेलकुदको तयारीका लागि ७ करोड १३ लाख रुपियाँ माग गरे पनि सरकारले ५ करोड मात्र निकासा दियो । थोरै बजेटमै सबै काम गर्नुपर्ने भएकाले खेल संख्या बढाउँदा त्यसको प्रत्यक्ष असर सम्भावना भएका खेलमा पर्नेमा कुनै शंका छैन ।

खेल संख्या बढ्दा खर्चको भार बढ्ने र सम्भावना भएका अनि पदकको आश गरिएका खेल तथा खेलाडीलाई पनि अन्यजस्तै समान अवसरका साथै रकम बाँडिने अवस्था रहन्छ । सरकारले दिएको रकमबाटै बन्द–प्रशिक्षणलगायतका अन्य तयारी भएको विभागीय प्रमुख रिमबहादुर रानाभाट बताउँछन् ।

एसियाली खेलकुदको पछिल्ला दुई संस्करणमा नेपालको प्रदर्शन बिर्सनलायक छ । दक्षिण कोरियाको इन्चनमा भएको १७औँ संस्करणको प्रतियोगितामा कराँतेकी विमला तामाङको एउटा काँस्यले नेपाललाई पदकविहीन हुनबाट जोगायो । २ सय ३ खेलाडीले २० खेलमा सहभागिता जनाएको प्रतियोगितामा एक मात्रै पदक बोकेर नेपाली टोली घर फिरेको थियो । त्यसअघि सन् २०१० मा चीनको ग्वान्जाओमा भएको प्रतियोगितामा २१  खेलमा सहभागिता जनाएको नेपालले बक्सिङतर्फ एउटा मात्रै काँस्य पदक जितेको थियो । ८१ केजी तौल समूहमा दीपक महर्जनले नेपालका लागि काँस्य जिते ।

पछिल्ला दुई संस्करणको अनुभवले नेपालले पाठ सिक्नुपर्ने हो । तर, अवस्था ठ्याक्कै उल्टो छ । काठमाडौँको रंगशाला र ललितपुरको सातदोबाटोस्थित ट्रेनिङ सेन्टर भूकम्पपछि पुन:निर्माण भई नसकेकाले यसपटक खेलाडीले उपत्यकाबाहिर प्रशिक्षण गरे ।

२ वैशाखबाट विराटनगर, महेन्द्रनगर, नेपालगन्ज, पोखरालगायतका स्थानमा खेलाडीको बन्द–प्रशिक्षण चल्यो । राखेपको राष्ट्रिय टिम तयारी विभाग प्रमुख अर्जुन विक भन्छन्, “भौतिक पूर्वाधारको कमी खट्किए पनि हामीले सक्दो गरेका छौँ । टिमहरू आफ्नै पहल र राखेपको सहयोगमा वैदेशिक प्रशिक्षणमा पनि गएका छन् ।”

सदस्यसचिव विष्टले २ वर्षयता खेलाडी नियमित प्रशिक्षण र ३ महिनाभन्दा लामो समय बन्द–प्रशिक्षणमा रहेको बताए पनि खेलाडीहरू सन्तुष्ट छैनन् । कराँतेका प्रशिक्षक दीपक श्रेष्ठ भन्छन्, “अहिलेको प्रशिक्षण पहिलेभन्दा फरक छैन । प्रतियोगिता सुरु हुनु एक महिनाअघिसम्म पदकको आश गरिएको कराँतेका खेलाडीलाई वैदेशिक प्रशिक्षणमा लगिएको छैन ।”  प्राविधिक रूपमा राष्ट्र कमजोर भएको र मानसिक रूपमा खेलाडीलाई कमजोर पार्न लागिएको श्रेष्ठको आरोप छ । भन्छन्, “यस्तो तरिकाले स्वर्णपदक त के, काँस्य हात पार्न पनि मुस्किल हुन्छ ।”

राखेप सदस्यसचिव विष्ट भने यसपटक २ रजत र ३ काँस्य पदक जित्ने दाबी गर्छन् । वर्षात्को समयमा जस्तापाताको आवाज र पानी चुहिने समस्याका कारण प्रशिक्षण गर्नसमेत अप्ठेरो भएको उसुका सान्सौतर्फका प्रशिक्षक शैलेन्द्र श्रेष्ठको अनुभव छ ।

सन् १९९८ मा थाइल्यान्डको बैंककमा भएको एसियाली खेलकुद नेपालले अहिलेसम्म सम्झिने प्रतियोगिता हो । सविता राजभण्डारीले तेक्वान्दोमा नेपाललाई त्यतिबेला दिलाएको ऐतिहासिक रजत पदकको कीर्तिमान अझै भंग भएको छैन । एसियाली खेलकुदको प्रदर्शनलाई आधार मान्ने हो भने तेक्वान्दो सबैभन्दा सफल खेलभन्दा फरक पर्दैन ।

पहिलो संस्करणबाटै सहभागिता जनाए पनि नेपालले पदक आफ्नो पोल्टोमा पार्न दसौँ संस्करणसम्म कुर्नुपरेको थियो । १९८६ मा दक्षिण कोरियाको सियोलमा भएको प्रतियोगितामा नेपालले जितेको ८ काँस्यमा ४ तेक्वान्दोले दिलाएको थियो । बाँकी पदक बक्सिङले दिलायो । नेपालले एसियाली खेलकुदमा एकैपटक त्यति धेरै पदक जितेको अवसर पनि त्यही नै थियो ।

सन् १९९० मा चीनको बेइजिङमा भएको ११ औँ एसियाली खेलकुदमा बक्सिङका चित्रबहादुर गुरुङले काँस्य दिलाए । जापानमा भएको १२औँ संस्करणको प्रतियोगितामा नेपालले दुई काँस्य जित्दा कराँतेले बोहनी गर्‍यो । तेक्वान्दोमा मनबहादुर शाही र कराँतेमा सीताकुमारी राईले काँस्य पदक जिते । सन् २००२ मा दक्षिण कोरियाको बुसानमा भएको १४औँ र दोहामा २००६ मा भएको १५ औँ एसियाली खेलकुदमा नेपालले ३–३ काँस्य तेक्वान्दोबाटै जित्यो । १४औँ एसियाडमा तेक्वान्दोले काँस्य पदक जित्यो । १५औँमा पनि तेक्वान्दोमै तीन काँस्य हात पर्‍यो ।

एसियाली खेलकुद नेपाली खेलाडीले सहभागिता जनाउने उच्च तहको प्रतियोगिता हो । खेलाडीको अन्तर्राष्ट्रिय एक्सपोजरका लागि पनि प्रतियोगिताले महत्त्व राख्छ । तर, सीमित स्रोतसाधनबाट धेरै थोक आश गर्ने नेपालजस्तो मुलुकका लागि त्यस्ता प्रतियोगितामा सहभागी गराउनु खर्चिलो प्रयास हो । किनभने, सहभागिताका नाममा धेरै खेलाडीलाई त्यस्ता प्रतियोगितामा सामेल गराउँदा टोली जम्बो मात्रै बन्ने हो ।

यसपटक पनि २९ खेलमा १ सय ८५ खेलाडी र त्यत्तिकै संख्यामा पदाधिकारी इन्डोनेसिया गएका छन् । थोरै खेलाडी र खेल संख्या तर बढी पदकको आश गर्ने भिजन निर्माण नगरेसम्म भौतिक पूर्वाधार, प्रशिक्षणका लागि कम समय, खेलाडीको कमजोर मनोबल आदिलाई दोष लगाएर नेपाली खेल पदाधिकारीले उम्किने बाटो खोजिरहनु पर्नेछ ।

प्रकाशित: भाद्र ३, २०७५

ट्याग: खेलकुद