अमिन थिए, गैगए

- बसन्त बस्नेत

समीर अमिन भन्थे, ‘माक्र्सबाट सुरु गर । यसको मतलब यो होइन, तिम्रो चिन्तनको यात्रा लेनिन या माओत्सेतुङमा पुगेर टुंगियोस् ।’ उनी अर्थशास्त्री आफूलाई सिर्जनशील माक्र्सवादी ठान्थे । विश्वशक्तिको स्रोत अमेरिका एक्लै नरहने, बरु बहुध्रुव बन्दै जाने ठोकुवा गरे । सन् ९० तिर उनले यसो भन्दै गर्दा शीतयुद्ध सकिएर सर्वत्र वासिङ्टन हाबी हुँदै थियो । अमिनले यो अमेरिकी वर्चस्वलाई युरोपले छिट्टै चुनौती दिने भविष्यवाणी गरे । उनले यस्तो प्रक्षेपणलाई ‘युरोसेन्ट्रिज्म’ नाम दिए ।

औँलामा गन्न सकिने विश्वभरिका सिद्धान्तकारमध्ये एक थिए, अमिन । नेपालसहित सबैतिरका मानविकी संकायमा प्राथमिकतासाथ पढिने ८६ वर्षे यी अफ्रिकी बौद्धिकको निधन भयो, २७ साउनमा । चिकित्सा क्षेत्रका इजिप्टेली बुबा र फ्रेन्च आमाबाट कायरोमा जन्मेका उनले मालीमा सेवा गरे । राजनीतिक अर्थशास्त्रमा पीएचडी गरे । ४० वर्षयता सेनेगलको डकारमा बस्दै आएका उनले पछिल्लो समय तेस्रो विश्वको अविकास र त्यसमा पुँजीवादले उत्पन्न गरेको बाधाबारे चिन्तन गरे ।

अमिनसहित केही सिद्धान्तकारको बहुचर्चित अवधारणा हो, केन्द्र (सेन्टर) र परिधि (पेरिफेरी) । उत्पादन र वितरणको असमान प्रक्रिया अपनाउने हुादा केन्द्र र सहरहरु झन् समृद्ध हुादै जाने तर गाउँ र अविकसित समुदाय झन् पछाडि धकेलिँदै जाने प्रवृत्तिलाई उनले विश्लेषण गरे । उनले पछिल्लो विश्वमा सामाजिक संकट घट्नुको साटो झन् जेलिँदै जानुका पछाडि यही असमानता नै कारक ठहर्‍याए । सेवा सुविधाका लागि गाउँबाट सहर पस्दै जानु, तेस्रो विश्वबाट पहिलो विश्वतिर खिचिँदै जानुलाई विकासको स्वाभाविक प्रक्रिया भनी अरु सिद्धान्तकारले तर्क गर्दा उनले यसको मूल दोष दिए, पुँजीवादलाई । उनको शब्दमा यो त्यही व्यवस्था हो, जसका कारण गरिब देशहरु जति खुन–पसिना बगाए पनि आर्थिक हैसियत उकास्नुको साटो झन् पराश्रित बन्दै गए ।

विकास र अविकास आदिबारे शोधार्थीले अमिनको ‘अन्डरडेभलपमेन्ट’ को विचारलाई मूल धारणाका रुपमा लिने गर्छन् । ‘ओरिजिन्स अफ अन्डरडेभलपमेन्ट’ मा उनले लेखे, ‘अविकास भनेको अरु केही होइन, ढिलो गरी भएको विकास हो ।’

केही वर्षअघि काठमाडौँ आएर प्रवचन दिएका अमिनले नेपालका माओवादी र अरु दलले गरेको आन्दोलनलाई राजतन्त्र हटाउन गरिब किसान र मध्यमवर्गले गरेको संयुक्त विद्रोह भनी अथ्र्याउन खोजे । कुनै बेला जाति, धर्मका नाममा हुने राजनीतिलाई सख्त आलोचना गर्ने अमिन नेपालमा भने एकल जातीय र धार्मिक वर्चस्व तोड्न आन्दोलन भइरहेको व्याख्या गर्ने हुँदा विवादित पनि हुन पुगे ।

नेपालबाट फर्केर सन् २००९ को मन्थ्ली रिभ्युमा उनले लेखे, ‘माओवादी ‘दुस्साहसवाद’ को विरोध गर्ने अर्को सुधारवादी कम्युनिस्ट घटक एमाले शाही सरकारमा गए पनि कालान्तरमा गणतान्त्रिक क्रान्तिकारीहरु शान्तिपूर्ण विद्रोहको बाटोमा आए । उनीहरुसामु सैन्य व्यवस्थापन, लोकतन्त्रको मोडल परिभाषा, संघीयता, राष्ट्रिय आर्थिक स्वाधीनता सम्बन्धी प्रश्न समाधान गर्नुपर्ने चुनौती छ ।’

धार्मिक रुढीले अफ्रिका, एसियाका मुस्लिमहरुलाई गरिबी र अविकासबाट माथि उठ्न नदिएको/नदिने अमिनको मत थियो । फ्रन्टलाइन  सँग उनले भने, ‘ महिला पुरुषबीच असमान सम्बन्धलाई राजनीतिक इस्लामले वैधानिकता दिएको छ ।’

उनका यस्ता विचारको धार्मिक संगठनहरुले विरोध गर्ने गर्थे । चिनियाँ क्रान्तिप्रति कुनै बेला रोमाञ्चित अमिन पछिल्लो समय भने बेइजिङप्रति संशय राख्थे । उनी भन्थे, ‘अमेरिकाको एक ध्रुवीय विश्व त तोडियो तर त्यस्तै पुाजीकेन्द्रित अरु ध्रुव बन्दै जाने त होइनन् ?’

अमिन थिए, गैगए । जिज्ञासाहरु रहिरहनेछन् । उनले भन्न त भने, ‘ माक्र्सबाट सुरु गर ।’ तर, कहाँ अन्त्य गर्ने, जवाफ छैन ।

हेडर इमेज : सेन्डीका डट ओआरजी

प्रकाशित: भाद्र ३, २०७५

ट्याग: सम्झना