कुशल लेखक, खराब मान्छे

- उज्ज्वल प्रसाईं

भीएस नयपाल कुशल लेखक हो– धेरैले सन्देह गर्दैनन् । ऊ असल मानिस हो– कोही पनि खुलेर यसो भन्दैनन् । कुशल लेखक र असल मानिसको दोसाँधमा कुनै जमिन हुन्छ भने नयपाल लामो समयसम्म त्यहीँ उभिए । लेखकका रुपमा प्रशंसा चुलिँदा उनका राजनीतिक विचारको आलोचना सुरु भइसकेको थियो । मृत्युपछि उनका लागि छुट् याइएको विमर्शको धरातल पनि उही प्रशंसा र आलोचनाको मझधार नै भयो ।

लेखकका रुपमा नयपालको बिदाइमा सबैले हाउस फर मिस्टर विश्वास  सम्झिए ।  सरल वाक्य, घटनाको सचित्र वर्णन गर्ने शब्द–सामथ्र्य, समयलाई अक्षरमालामा खिप्ने खुबी एवं दु:खलाई व्यंग्य र हाँस्यरसमा व्यक्त गर्ने शिल्पको स्मरण गरे । त्यसमा उनले आफ्नै पिता सीप्रसाद नयपालको कथा लेखेका छन् । क्यारेबियन टापुमा बसेको भारतेली समाजमा बेलायती उपनिवेशका नंग्राले कोपरेर बनाएका सांस्कृतिक घाउका पाप्रा उप्काउादासमेत पाठक हाँसिरहे । सम्भवत: लेखनको यही विशिष्ट पहिचानका लागि नयपाल सधैँ प्रशंसित रहे ।

नयपालको राजनीति बुझ्न उनका उपन्यास मात्र पढेर पुग्दैन, यात्रावृत्तान्त एवं अरु महफ्वपूर्ण गैरआख्यानको अध्ययन जरुरी छ । उनले आफ्ना स्पष्ट पक्षधरता देखाएका मात्र छैनन्, आफूलाई मन नपर्ने सभ्यता, दर्शन वा मुलुकप्रतिका नकारात्मक धारणा खुलेर व्यक्त गरेका छन् ।

एन एरिया अफ डार्कनेस  र इन्डिया: वुन्डेड सिभिलाइजेसन  मार्फत उनले भारतीय समाजले आफूलाई अचम्भित र आक्रोशित तुल्याएको बताए । बेन्ड इन रिभर  लेखेर अफ्रिकाप्रतिको क्षुब्धता पेस गरे । अर्जेन्टिनालाई चिमोटेर रिटर्न अफ इभा परोन  लेखे । अमङ बिलिभर्समा इस्लाम सभ्यताको अन्वेषण गर्ने मेसोमा इरान, पाकिस्तान, मलेसिया र इन्डोनेसियाको चर्म डामे । यी किताब इमानदार अभिव्यक्ति हुन् भन्ने धेरैको बलियो बुझाइ छ । यद्यपि, ती विषयका पारंगतहरुले अनेक खोट र अध्ययनको कमी औँल्याएर गरेका आलोचना बिर्सेर उनका लेखनीमा भर पर्नु घातक हुन सक्छ ।

भारतका झुपडीहरुबाट उठाएर ट्रिनिडाड पुर्‍याइएका गरिब श्रमिकका सन्तान हुन्, नयपाल । अक्सफोर्डले हुर्काएको बौद्धिक भए पनि क्यारेबियन टापुमा विशिष्ट सांस्कृतिक पहिचान बनाएको भारतीय परम्पराका अनेक छाप थिए उनमा । जन्मभूमिबारे उनले प्रशस्त चिन्तन गरे, लेखे । तर, उनको कलमबाट न ट्रिनिडाड प्रशंसित भयो, न त भारतीय समाजले फूलका गुब्बार पायो ।

नयपाल भारतीय मूलका भए पनि कहिल्यै भारतीय हुन सकेनन् । उनका लागि जन्मभूमि ट्रिनिडाड त्यस्तो पछौटे ठाउा रह्यो, जसलाई फर्केर स्पर्श गर्ने जाँगर कहिल्यै गरेनन् । भारत र ट्रिनिडाडका दुई खाँबोमा बाँधिएको डोरीमा अल्झेर नयपालले सधैँ बेलायतमा खुट्टा टेक्न खोजिरहे । उनको व्यक्तित्व अनौठो लाग्नु या समस्याग्रस्त देखिनुको कारण यही हो । के हामीले नचिनेका असंख्य भारतीय मूलका क्यारेबियनका प्रतिनिधि पात्र हुन् उनी ?

नयपालको मृत्युलगत्तै भारतीय वामपन्थी लेखक विजय प्रसादले ट्वीट गरे, ‘नयपालले हाउस अफ मिस्टर विश्वासजस्तो महान् आख्यान लेखेका छन् । तर, अरु सन्दर्भमा उनी अप्रिय पात्र हुन् ।’ प्रसादको भनाइमा सही थाप्दै डिजे उस्का नामकी श्रीलंकाली मूलकी संस्कृतिकर्मी तथा आप्रवासी अधिकारकी अभियन्ताले भनिन्, ‘नयपाल यौनपिपासु र नारीद्वेषी मानिस हुन् ।’

वामपन्थी चिन्तक तारिक अलीले विजय प्रसादकै भाकामा नयपालको लेखनीको प्रशंसा गर्दै उनका राजनीतिक विचारसाग आफू कहिल्यै सहमत हुन नसकेको बताए । सलमान रुस्दीले नयपालसाग असहमत भए पनि उनको मृत्युमा ठूल्दाइ गुमाएको अनुभूति गरे ।

अलीको लेखमा वामपन्थी लेखक सुसन रामले टिप्पणी गरिन्, ‘बीसौँ शताब्दीका महान् आख्यानकारको दिमाग कसरी त्यति दूषित र प्रतिक्रियावादी हुन पुग्यो ? मनोविश्लेषक र दार्शनिकका लागि यो आफैँमा एउटा प्याराडक्स हो । अंग्रेजबाहेकका सभ्यता र समाजलाई आध्यारो देख्ने नयपाललाई नोबल पुरस्कारले सम्मान गर्नु उच्च भनिने संस्कृतिको सबभन्दा ठूलो कलंक हो ।’

असल मान्छेको परिभाषा के  हो ? समयको कसीमा घोटिएर परिभाषाहरु बदलिन्छन् । त्यसो त ,परिभाषाको अख्तियार कसले उपयोग गरेको छ भन्ने प्रश्न पनि सागै उठ्दो हो । असल हुनुका केही आधारभूत तफ्व भने समय र परिभाषा गर्ने पक्षबाट निरपेक्ष पनि भइदेला । त्यस्तो असलको परिभाषामा राम्रो लेखक पर्छ कि पर्दैन ? असल मान्छे नभई राम्रो लेखक बन्न सम्भव छ ? खराब मानिस राम्रा साहित्यकार बन्न सक्छन् ? साहित्य लेख्नु भनेको कल्पनाको खानी र भाषाका जादूगर हुनु मात्रै हो ? दुनियाँले सम्मान गरेका, शक्तिशालीले पुरस्कृत गरेका र सदियौँसम्म सान्दर्भिक मानेर पढिने लेखकहरु असल थिए कि थिएनन् ?

भीएस नयपालबारे लेख्नु अनि यस्ता प्रश्नमा पटक्कै नघोत्लिनु असम्भव  छ । भविष्यमा नयपालमाथिको विमर्श यिनै प्रश्नवरपर भइरहने पक्का छ ।

हेडर इमेज : एएफपी | पुस्तक तस्बिर : द वायर डट आईएन

प्रकाशित: भाद्र ३, २०७५

ट्याग: सम्झना