केही छैन नयाँ [फिल्म समीक्षा : सत्यमेव जयते]

फिल्म : सत्यमेव जयते | रेटिङ : १/५

- गोकर्ण गौतम

हिन्दी फिल्मका लागि बिकाउ विषय हो, प्रहरी । कहिले प्रहरीलाई इमानको प्रतीकका रुपमा प्रस्तुत गरिन्छ त कहिले घुस्याहा । ‘हिरोइज्म’ देखि राक्षसी प्रवृत्तिका कथासमेत प्रहरीकै माध्यमबाट भनिन्छ । यही भीडमा थपिएको छ, मिलाप मिलन जाभेरीको नयाँ फिल्म सत्यमेव जयते । नामैबाट थाहा हुन्छ, फिल्मले सत्यको वकालत गर्छ । यसमा प्रहरीभित्रको असल र खराब दुवै पक्षलाई एकसाथ देखाउने प्रयास गरिएको छ । तर, मिलन आफैँले लेखेको यसको पटकथा भने निकै बासी लाग्छ । मुख्य कथा मात्र होइन, हरेक दृश्य परम्परागत सोचबाट मुक्त छैनन् । जोन अब्राहमको एक्सन र मनोज बाजपेयीको धमाकेदार अभिनयले मात्र फिल्मको साख जोगिने गुन्जायस रहेन ।

चित्रकार वीर (जोन अब्राहम) लगातार प्रहरीको हत्या गर्छन्, त्यो पनि जिउँदै जलाएर । मारिने सबै घुसखोरीमा मुछिएका हुन्छन् । यो प्रकरणले प्रहरी प्रशासनमा खैलाबैला हुन्छ । वीरलाई पक्रने जिम्मा इमानदार प्रहरी अधिकृत शिवंश (मनोज बाजपेयी) लाई दिइन्छ । शिवंशले सक्दो प्रयास गर्छन् तर उनलाई चुनौती दिँदै प्रहरी हत्या रोकिन्न । वीर आफैँ शिवंशलाई फोन गर्छन् तर पक्रन सक्दैनन् । वीरले किन मारिरहेका छन् ? शिवंशले उनलाई समातेर सजाय दिलाउन सक्लान् ? आक्कलझुक्कल हिन्दी फिल्म हेर्नेले पनि क्लाइमेक्स सहजै अनुमान लगाउन सक्छ । ‘ट्वीस्ट’ नभएका होइनन् तर दर्शकमा रोमाञ्च पैदा हुन्न । कारण उही, सूत्रमै रुमल्लिएका सस्पेन्स ।

खासमा सत्यमेव जयतेको केन्द्रीय कथा संवेदनशील छ । अपराधीलाई पक्रनुपर्ने प्रहरी आफैँ आपराधिक कार्यमा मुछिनु पक्कै दु:खदायक हो । अझ प्रहरी र भ्रष्टाचार एकअर्काको पर्यायजस्तै मानिन्छ भारतमा । यही कुप्रवृत्तिलाई सतहमा ल्याउने प्रयास गरिएको छ । तर, कानुनी बाटोबाट होइन, हिंसामार्फत । एक त यस्ता कथामाथि सन् ७० र ८० का दशकमा दर्जनौँ फिल्म बने । जहाँ घुस्याहा प्रहरी मार्ने पात्रलाई ‘हिरो’ का रुपमा चित्रित गरिन्थ्यो । सत्यमेव जयते  रत्तिभर फरक छैन । प्रस्तुतिमा नयाँपन मिसाएर रोचक बनाउने मौकालाई निर्देशक तथा लेखक जाभेरीले सदुपयोग गर्न सकेका छैनन् ।

कथाको सुरुआत, घुस्याहा प्रहरीलाई हत्या गर्ने शैली, हत्याराको मनोविज्ञान, हत्यारा र इमानदार प्रहरीबीचको रस्साकस्सी, मुख्य पात्रको समीकरण, तिनले बोल्ने संवाद, हिरोइनको उपस्थिति सबै बासी लाग्छन् । तर, निर्देशकको ध्याउन्नचाहिँ ‘पपुलिस्ट’ कथा भनेर एकोहोरो राष्ट्रवाद जगाउनेतिर देखिन्छ । अर्थपूर्ण र विश्वसनीय सिक्वेन्सको अभावमा उनको प्रयास असफल भएको छ । सत्यमेव जयते  हेरिरहँदा नयाँ फिल्म हेरेको आभास नहुनु सबैभन्दा दुर्भाग्य पक्ष हो । कतिसम्म भने वीर र शिवंशको सम्बन्ध पनि नवीन लाग्दैन । मध्यान्तरसम्म एकपछि अर्को हत्या हेरेर दर्शक हैरान हुन्छन्, मध्यान्तरपछि घिसिपिटी ‘फ्ल्यासब्याक’ ले दिक्क बनाउँछ ।

जोन अब्राहमका लागि न फिल्म नौलो हो, न त चरित्र । त्यसैले वीरका रुपमा उनी फिक्का लाग्छन् । कथानकलाई बिर्सने हो भने उनको एक्सन आकर्षक लाग्छ । मनोज बाजपेयीको हविगत पनि उही हो । अभिनयभन्दा गह्रौँ संवादमा टिकाउन खोजिएको छ उनको चरित्र । फलत: चरित्रप्रति विश्वसनीयता पैदा हुन्न । हिरोइन आयशा शर्माले अभिनय क्षमता पस्कने मौका पाएकी छैनन् । ‘सो–पिस’ मा सीमित गरिएको छ । जाभेरीले यसअगाडि पनि केही फिल्म निर्देशन गरेका थिए । तीमध्ये सबैभन्दा ठूलो फिल्म यही हो । तर, यसमै उनले आफ्नो निर्देशन कौशल पस्कन सकेनन् । निर्देशकलाई कथावाचक मान्ने हो भने जाभेरी ज्यादै कमजोर लाग्छन् । आफ्नोपन त छँदै छैन ।

मसलेदार फिल्मका जबर्दस्त पारखीबाहेकले सत्यमेव जयते  हेर्नु भनेको समय र पैसाको बर्बादी मात्र हो । बलिउडमा अझ यस्तो ‘एक्स्पायर्ड’ कथा र शैलीका फिल्म बन्छन् ? उदेक लाग्छ ।

प्रकाशित: भाद्र १, २०७५