[नोटबुक] त्रिविको मिचाइ

- विभु लुइटेल

कम्प्युटर विज्ञान तथा सूचना प्रविधिको स्नातक तहको अन्तिम बोर्ड परीक्षा भएको महिनौँ बितिसकेको थियो, नतिजा आउने सुरसार थिएन । डीनको कार्यालय घेराउ र उपकुलपतिलाई निवेदन लेखी ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ भएन । ०७० मा सुरु भएको चार वर्षे कार्यक्रम ०७५ मा आएर सकियो । तर, त्रिभुवन विश्वविद्यालयले आफ्नो दुनो सोझ्याउने उपाय निकालिहाल्यो । लब्धांकपत्रमा ०७५ मा नभई, ०७४ मै नतिजा प्रकाशन भएको देखाइयो । विदेशका विश्वविद्यालयमा भर्ना गर्न अब सबै विद्यार्थीले एक वर्ष ढिला भएको कारण सप्रमाण पेश गर्नुपर्ने हुन्छ । ती विश्वविद्यालयले अयोग्य विद्यार्थीका रूपमा हेर्छन् । त्रिविका पदाधिकारी भने यसमा तैँ चुप मै चुप छन् ।

त्यस्तै झमेलाको सामना ट्रान्स्क्रृप्ट लिँदा पनि भयो । १८ जेठमा आवेदन दिँदा परीक्षा नियन्त्रण कार्यालयका कर्मचारीले २५ दिनपछि मात्र ट्रान्स्क्रृप्ट दिन सकिने बताए । ३०  दिनपछि जाँदा जवाफ आयो, “तपार्इंको ट्रान्सक्रिप्ट त आएकै छैन । केही दिनपछि आउनुहोस् ।” १५ साउनमा बल्ल ट्रान्सक्रिप्ट हात पर्‍यो । उपकुलपतिलाई सोधेँ । डीन र पनिकाका पदाधिकारीलाई दोष लगाए । तिनलाई सोध्दा उल्टै उपकुलपति र रजिस्ट्रारलाई दोष लगाए । साँढेको जुधाइ, बाच्छाको मिचाइ ।

इमरानबाट सिकौँ

पाकिस्तानमा सर्वाधिक रुचाइएका पूर्वक्रिकेटर इमरान खानको चुनावपछिको भाषणले धेरैलाई मन्त्रमुग्ध तुल्यायो । परराष्ट्र सम्बन्ध सुदृढीकरणबारे उनले राखेको धारणाले त वाहवाही कमायो, प्रधानमन्त्री भवनलाई कुनै शैक्षिक संस्थामा र सम्पूर्ण गभर्नर निवासलाई होटलमा परिणत गरी धेरैभन्दा धेरै पर्यटक तान्ने उनको निर्णयको पनि चौतर्फी प्रशंसा भयो ।

हाम्रोमा भने अहिलेकाले मात्र नभई भूतपूर्व विशिष्ट पदाधिकारीले समेत सरकारी सेवासुविधा लिने चलन छ । कुनै मन्त्रीले आफूले पाउनुपर्ने आधारभूत सेवा–सुविधासमेत कटौती गरी सामाजिक हितमा टेवा पुर्‍याएका उदाहरण सायदै होलान् । भन्नेले भनिरहेका छन्, ‘इमरानसाग पैसाको छेलोखेलो छ । त्यति गरेर के नै फरक पर्‍यो ?’ तर, भ्रष्टाचारका कारण अधोगति लिएको पाकिस्तानलाई हुनेवाला प्रधानमन्त्रीको यस्तो उत्साहजनक मन्तव्यले केही राहत त पक्कै दिँदो हो ।

कस्तो असंवेदना !

सन् २०१२ मा भारतको नयाँ दिल्लीमा भएको निर्भया सामूहिक बलात्कार प्रकरणको सम्झना धेरैलाई होला । बीबीसीले यस घटनालाई लिएर गरेको भिडियो रिपोर्टिङमा अभियुक्तले निर्लज्ज भई महिला राती घुम्न निस्किएकाले बलात्कार हुनु स्वाभाविक रहेको र यसमा आफ्नो कुनै गल्ती नरहेको बताए । मिडियालाई पुलिसले पीडितको फोटोसहितको विवरण त उपलब्ध गरायो । सबैलाई मृत्युदण्ड दिए पनि एकलाई भने नाबालिग ठहर गर्दै हिरासतमुक्त गरियो । उनको विवरण कहीँ कतै खुलाइएन ।

हालै कञ्चनपुरमा १३ वर्षीया बालिकाको बलात्कारपश्चात हत्या भयो । त्यस्तो क्रुर तथा पाशविक घटनापछि सामाजिक सञ्जालमा उनको शवको हृदयविदारक तस्बिर व्यापक सेयर भयो । बलात्कारी त संवेदनहीन थिए नै, फोटो भाइरल बनाएर हामीले पनि हाम्रो संवेदना हराइसकेको प्रमाण दियौँ । पीडितका हकमा बालिग–नाबालिग मतलब गरिएन । बलात्कारका अधिकांश घटनामा यस्तै देखिने गरेको छ ।

हाम्रो रुढीवादी मान्यताले बलात्कारमा पुरुषको भन्दा बढी हात महिलाको रहेको ठान्छ । राती एक्लै हिँड्दा, छोटा लुगा लगाउँदा बलात्कृत हुने सम्भावना बढ्छ रे । त्यसो हुँदो हो त दिउँसै बलात्कार गरेर बालिकालाई झाङमा फालिँदैन थियो, बुर्का लगाएर पूरै आङ ढाकी हिँड्ने महिला बलात्कृत हुनु पर्दैनथ्यो । महिलालाई दोष लगाउने समाजले अब बुझ्न पर्‍यो, बलात्कारको कारण बलात्कारी हुन्, महिलाका आचरण होइनन् ।

प्रकाशित: श्रावण ३१, २०७५

ट्याग: नोटबुक