थारु लोकमहाभारत [पुस्तक : बर्किमार]

- अशोक थारु

शृंगारिक मानिने साउनको महिना, आच्छादित कालो मेघ, झरझर दर्केको वर्षे झरी । कोही मालुकाको पात त कोही खसर्‍या बाँसको पातले ढाकिएको छतरी ओढेर, कोही खटौलीमा, कोही पिर्कामा, कोही काठको मुढामा बसेर धानको ब्याड काढिरहेका थारु पुरुषहरुको कण्ठबाट एक्कासि गुन्जिने गीत भाव हुन्छ–

बेबुरि बिना एक हम का चह्रावै, बिना बुढ्ढि टुह्मारे पाउ ।

ढनपटि ढन कुबेर टोर हिरडा बैस मोर डेओ र सिखा ।

भगमोटि सरन लेहबुा टोर नाम, डेबि ढरम डेबि बन्ढन बा ।।

(भगवती देवी ! म बुद्धिहीन, बाबरी फूलबिना तिम्रो पाउमा के चढाऊँ ? धनपति कुवेर मेरो हृदयमा बास गरुन् भन्ने कुरा उनलाई सिकाइदेऊ । म धर्मको बन्धनमा बाँधिएर तिम्रो शरणमा आएको छु ।)

यी हरफ बर्किमारको समरौटी पैढारबाट उद्धृत गरिएको हो । विश्वसाहित्य बनिसकेको महाभारत थारु–लोकबाट कसरी अछुतो रहन सक्थ्यो र ! फलत: मानसी काव्यक्रिया कलामा निपुण थारु लोकमा बर्किमारको रचना हुन पुग्यो । शाब्दिक अर्थमा बर्की अर्थात् ठूलो, मार अर्थात् युद्ध । 

डङ्गौरा थारुलोकद्वारा डङ्गौरा थारु भाषामा रचिएको बर्किमार समरौटिक पैढार अर्थात् मंगलाचरणको अध्यायबाट प्रारम्भ भएर मूल महाभारतको आदिपर्व हुँदै स्वर्गारोहणको पैढारमा अन्त्य भएको छ ।

मूल महाभारत र बर्किमारमा केही तात्विक भिन्नता छ । बर्किमारमा अर्जुनको विकल्पमा भिवाँ अर्थात् भीम नायक छन्, जसलाई थुप्रै काव्यमा ‘भलि र भिवाँ अर्जुन ढनुर्ढर, काँरो मारि बहुट गाई’ भनेर नायक तुल्याइएको छ । स्वयंवरमा पनि मत्स्य वेधनमा भिवाँ सफल भएर डुर्पटी अर्थात् द्रौपदीको पाणिग्रहण गर्दछन् । किन ? समाजशास्त्र र मानवशास्त्र नै पल्टाउनु पर्ला ।

मूल महाभारतीय पात्रका नाम उच्चारणगत पृथक्तालाई भाषाशास्त्रीय र ऐतिहासिकताको आधारमा मानकीकरणतर्फ गम्भीर हुन प्रेरित गर्दछ । काव्यमा क्षेत्रपालको सन्दर्भमा वैज्ञानिकहरुले क्षेत्रको परिकल्पना आआफ्नै तरिकाले गरेका छन् । मनोवैज्ञानिक कर्टल्युईले क्षेत्रको सिद्धान्तमा जीवनावकाशको परिकल्पना, जीववैज्ञानिक रुपर्ट सेल्डुकले मार्फाजिनेटिक फिल्डको सिद्धान्त र भौतिकशास्त्रमा क्वान्टमको प्रभावमा गुरुत्वाकर्षक ऊर्जा, समय र आकर्षण मिलेर बनेको क्षेत्रलाई महफ्व दिइएको पाइन्छ । गीतामा आकाश, तेज, वायु, जल, पृथ्वी, दस इन्द्रियहरु, शब्द, चेतना, धैर्य आदिलाई क्षेत्र भनिएको छ भने थारु लोकले प्रयोग गरेको क्षेत्र शब्दबारे दर्शनशास्त्र, भौतिक विज्ञान र मेटाफिजिक्सले के भन्ला ?

साहित्यिकताको सवालमा थारु लोकले द्रौपदीको मनोसंवेगलाई प्रतीकात्मक रुपमा करुण रसमा व्यक्त गरेको छ । थारु लोकले भेवाँको उत्तेजित स्वभावको सन्दर्भमा यस्तो आशय आएको छ– तातो दुध सेलाएर पिउनुपर्छ, अन्यथा ओठ पोल्छ । तेज र क्षमाका गुण सबैमा हुन्छन् । योग्यजनले आफ्ना ती गुणको प्रयोग परिस्थितिअनुसार विवेकपूर्ण तरिकाले गर्नुपर्छ ।

थारु लोकले पुनर्जन्मबारे कोटारिन माईको मुखबाट व्यक्त गरिएको छ– पूर्वजन्ममा मैले केही पाप कर्म गरेकी थिएा होला, जसको परिणामस्वरुप मेरा पाँच पुत्रलाई वनवास लाग्नु पर्‍यो ।

काव्यमा यस्ता दार्शनिक पंक्ति छन्– धन–सम्पत्ति, नाता–कुटुम्ब, तेरो–मेरो आदि कारणले आउने कामना निरर्थक हुन्छन् । सांसारिकताप्रतिको आसक्ति नै वास्तविक मृत्यु हो । प्राकृतिक मृत्युपश्चात सांसारिक औपचारिकताको लागि दानका वस्तु मात्र यो नश्वर शरीरसँग चितामा जान्छ, जो सँगै नष्ट हुन्छ । मृत्युपश्चात रहने धनको के मूल्य हुन्छ ?

समष्टिगत रुपमा बर्किमारले थुप्रै प्रश्न तेस्र्याउँछ । किन डङ्गौरा थारुहरुले पाण्डवहरुलाई आफ्नो ग्रामीण देवस्थल ठह्न्वामा देवताको रुपमा स्थापना गरेका छन् ? कुन्तीलाई स्थापित गर्ने थारु लोकले द्रौपदीलाई किन त्याग्यो ?

बर्किमारलाई थारु, नेपाली, अंग्रेजीमा एकैसाथ प्रकाशन गराएर विश्वसाहित्यको पंक्तिमा उभ्याइदिने मनसायका साथ यो पंक्तिकारसमक्ष आइपुगेका  सूत्रधार कुर्त मेयर पनि पााच पाण्डवजस्तै स्वर्गारोहण भए । उनलाई स्वर्गमा लैजान पुष्पक विमान आयो होला ? उनी सँगसँगै धर्मराज गए होलान् ?

दिनेश चाम्लिङ राई, कल्पना घिमिरे र दीपेन्द्र गौचनले पुन: एक पटक फर्केर हेर्दा कस्तो लाग्ला ? राज्य अमूर्त सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी महासन्धि, २००३ मा हस्ताक्षर गर्‍यौँ भन्नेमा सीमित भइदिने हो कि ? पुस्तान्तरण हुादै आएको मौखिक परम्परालाई थारु युवाले निरन्तरता देला ?  हाम्रो दैलोतर्फ सुस्तरी पाइला सार्दैछ बडा दसैँले । गवाल्या टीका अर्थात् नवमी र राजा टीका अर्थात् दशमीको दिनमा पुन: हामीले सेतो टीका र जमरा लाउँदै मादलको विशेष धुनमा पुन: बर्किमार गाउनेछौँ ।

प्रकाशित: श्रावण ३१, २०७५

ट्याग: पुस्तक