[संस्मरण] ब्राजाकीको घडीभूत

- जीवनपानी

'जीवनबाबु, मैले भूमिका लेखिसिध्याएँ, आज फुर्सद छ भने आउनुस् ।’

१३ जेठ ०६२ । बिहानको करिब नौ बजे आएको फोनले मलाई खुसी बनायो ।

मनु ब्राजाकीले जहिल्यै बोलाए पनि फुर्सद छैन नभन्ने म । शनिबारको दिन, त्यो पनि जीवनपानीका तरङ्गहरूको भूमिका लिन बोलाउँदा फुर्सद छैन, आउँदिनँ भन्न त म बहुलाउनु पथ्र्यो ।

कतिखेर उहाँको निवासमा पुगूँझैँ भएको थियो मलाई । ‘कतिखेर आऊँ सर’ भनेर सोध्दा उहाँको जवाफ थियो, ‘म त दिनैभर घरैमा हुन्छु, बरु तपाईं आफ्नो अनुकूल मिलाएर आउनू ।’

त्यतिबेला उहाँ बानेश्वरस्थित आलोकनगरमा बस्नुहुन्थ्यो । उहाँले ‘छालका उत्ताल तरङ्गहरू’ शीर्षकमा सुन्दर हस्ताक्षरसहित लामो भूमिका दिँदै भन्नुभयो– ‘भूमिका घरैमा लगेर फुर्सदले पढ्नु भए हुन्छ ।’ यति भनेर उहाँले भूमिकामा नलेखिएका गजल–विषयक केही सान्दर्भिक र मननीय तफ्वबारे बताउनुभयो ।

घरमा फुर्सदिलो भनेको उहाँ मात्रै हो । बाँकी सबै आ–आफ्ना काममा व्यस्त हुन्थे । कात्तिक, ०६० मा उहाँलाई मस्तिष्काघात भयो । यसपछि परिवारले उहाँलाई एक्लै बाहिर पठाउन चाहँदैनथ्यो । डाक्टरले खुल्ला ठाउँमा एकाध घन्टा नियमित हिँड्नू तर एक्लै नहिँड्नू भनेका थिए । यस्तो विषम परिस्थितिले उहाँको डुलुवा स्वभावमा अचानक रोक लगाइदियो ।

घरबाट एक्लै बाहिर निस्कँदा उहाँ प्राय: ४/५ मिनेटको दूरीभन्दा टाढा जानुहुन्नथ्यो । मसँग बाहिर निस्कन भने परिवारको अनुमति लिनु पर्दैनथ्यो । भाउजूसँग सधैँ ‘ज्ञानु, म एकैछिन जीवनबाबुसँग बाहिर खुट्टा तन्काएर आउँछु है’ भनेर मात्रै निस्कनुहुन्थ्यो ।

हामी करिब २ बजेतिर घरबाहिर निस्कियौँ । पाँचै मिनेटमा चियानास्ताको पसल थियो । उहाँको सहज व्यवहार र नरम बोलीको गुरुत्वमा पसलवाला परिसकेको थियो । उधारो पनि चल्थ्यो । सुरुमा दुईवटा चिया भन्यौँ । उहाँले खुकुरी चुरोट सल्काउनुभयो । धूवाँ उडाउँदै परशु प्रधान, शैलेन्द्र साकार र नकुल सिलवाललाई सम्झनुभयो । ‘उनीहरूको घर यतै हो’ भन्दै खरीबोटतिर आँैलाले देखाउनुभयो । मित्र कुमुद देवकोटासँगका रोचक प्रसङ्ग झन्डै एक घण्टाजति सुनाउनुभयो । कतिपय कुरा बिर्सिंदा आफ्नो स्मरण शक्तिमा निकै ह्रास आएको भन्दै चिन्तित हुनुभयो ।

झन्डै १४ वर्ष उहाँले बनारसमा बिताउनुभएको रहेछ । ‘साहित्यका लागि बनारस मेरो जन्मथलो र नेपाल कर्मथलो’ भन्नुभयो । ०१६ देखि लेखिएका कथामा आफूले आफूलाई नपाउँदासम्म लेख्दै, च्यात्दै, फाल्दै गरेका प्रसंग पनि सुनाउनुभयो ।

मेरा आँखा अनायासै हातको घडीमा पुगे । साढे पाँच बजिसकेको रहेछ । घडीबाट आँखा उठाएर केही सेकेन्डमै म उहाँमा केन्द्रित भइसकेको थिएँ ।

भर्खरै अघिको उहाँको चन्द्रमुहारमा ग्रहण लागिसकेको थियो । रोषले सल्किएजस्ता नजरले पुलुक्क मतिर हेर्नुभयो । मेरो सातोपुत्लो उड्यो । अचानक यस्तो व्यवहारले मेरो हृदयमा महाभूकम्प आएझैँ भयो । उहाँ केही नबोली जुरुक्क उठ्नुभयो । जान्छु/जाऊँ केही नभनी फटाफट बाहिर निस्कनुभयो र निवासतिर लाग्नुभयो । म रनभुल्लमा परेँ ।

उहाँलाई के भएको हो ? मैले केही बुझ्न सकिनँ । घरबाट निस्कने बेलामा भाउजूले ‘बाबु, अहिले फर्किंदा दाइलाई घर अगाडिको ओरालोसम्म पुर्‍याइदिनू है’ भनेको सम्झिएँ ।

म उहाँलाई भेट्टाउन निस्किएँ । भेट्टाएँ । आफूसँगै छ भन्ने थाहा हुँदा पनि उहाँ न मतिर फर्किनुभयो, न त मसँग बोल्नु नै भयो । घरअगाडिको ओरालोमा पुगेपछि मैले ‘सर जानु है’ भनेँ । बिनाप्रतिक्रिया घरभित्र छिर्नुभयो । आत्मघाती गोल हानेर आफ्नो टिमलाई हराउने खेलाडीको अवस्थामा म घर पुगेँ । र, यसबारे घरमा केही कुरै गरिनँ । खाना खाएँ र सुतेँ । मस्तिष्कले आँखामा रातैभरि घडीको दृश्य निरन्तर पठाइरह्यो ।

घडी हेर्नुअगाडि उहाँ सामान्य अवस्थामा हुनुहुन्थ्यो । एकाएक उहाँमा आएका यी सम्पूर्ण परिवर्तनका कारण मैले घडीमा हेर्नु नै हो । मेरो बुझाइको आजसम्मको निचोड यही हो । मलाई सुनाइरहँदा उहाँको अवस्था एकप्रकारको ध्यानजस्तै थियो ।

उहाँको क्रियाकलापले मलाई एउटा कार्यक्रममा डीपी भण्डारीले एक विदेशी विद्वान्को भनाइ राख्दै आफ्नो मन्तव्य टुङ्ग्याएको सम्झना भयो । उहाँले भन्नुभएको थियो– ‘जब तिम्रा भाषण सुन्ने श्रोताले कान कोट्याउन थाल्छन्, तिमीले भाषण छिटो सक्नतिर लाग । जब हाई गर्न थाल्छन्, तिम्रो भाषण अझ छोट्याऊ तर जब उनीहरूले घडी हेर्छन्, एकछिन पनि नपर्खी भाषण रोकिहाल । यदि तिमीले अझै भाषण गर्न थाल्यौ भने उनीहरूले तिमीलाई बहिष्कार गर्छन् ।’

ठ्याक्कै यही भयो । मैले घडीमा हेर्नासाथ उहाँले तुरुन्तै आफ्ना कुरा भन्न छाड्नुभयो ।

त्यसो त घडी हेर्नुअगाडि उहाँलाई सुन्न झन्झट लागेर मैले कान कोट्याउने, हाई गर्नेजस्ता अग्रिम सूचना दिएकै थिइनँ । अर्थात्, भयो आजको पुराण यही पूरा गर्नुस्, घन्टी बज्यो, पिरियड सकियो, मलाई फेरि अर्को ड्युटीमा जानु छ, यी कुनै कुराको अपिल मैले गर्न खोजेकै थिइनँ । उहाँलाई सुनेर म थाकेकै थिइनँ । सम्भव भए समय रोकेर सुनिरहूँ भएको थियो ।

उहाँ मेरो लत बनिसक्नुभएको थियो । उहाँलाई हृदयमा सजाइसकेको थिएँ । रातभर निदाउनै सकिनँ । उहाँलाई कुनै पनि हालतमा गुमाउन चाहन्नथेँ । तर, उहाँको त्यस्तो क्रियाकलापले मसँग ‘अब म तँसँग कहिल्यै बोल्दिनँ’ भनेझैँ लाग्थ्यो ।

उज्यालो भयो । ब्युँझेर घडीमा टोलाएँ । घडीको सानैदेखि सोखिन म । तर, एकाएक घडीको थर्मामिटरमा मेरो सोखको पारो एक सय डिग्री सेल्सियसबाट चिस्सिँदै जिरो डिग्री सेल्सियसमा जम्न पुग्यो । यसैले अब कहिल्यै घडी नलगाउने वाचा गरी हातको घडी फुकालेर टेबुलमा राखेँ । बेचैनका ज्वारले मन अशान्त थियो नै । साँच्चिकै सापेक्षतावाद भनेको के हो भनेर कसैले सोध्दा आइन्स्टाइनले एकचोटि भनेका थिए– ‘जब तिम्री प्रेमिका तिम्रो काखमा घन्टौँसम्म बस्छिन्, तिमीलाई एक मिनेट पनि बितेजस्तो लाग्दैन । तर, जब तिमी तातो स्टोभमाथि मात्रै एक मिनेट बस्छौ, तिमीलाई त्यो एक मिनेट घन्टौजस्तो लाग्छ ।’ सापेक्षतावादको यो दोस्रो अवस्थाजस्तै भएको थियो मलाई ।

आइतबारदेखिका ती ६ दिन सम्झिँदा मलाई अहिले पनि पसिना आउँछ । यदि शुक्रबारको टुप्पोमा शनिबार नहुँदो हो त, कति दयनीय हुँदो हो जिन्दगी !

२१ गते शनिबार बल्ल आइपुग्यो । मैले उहाँलाई भेटेर मन शान्त पार्ने निधो गरेँ । मुटु सम्हालेर बिहानै ७ बजेतिर उहाँलाई फोन गरेँ । फोन उहाँकै आवाजमा उठ्यो । ‘आज आऊँ सर ?’ भन्दा उहाँले ‘तपार्इंलाई फुर्सद भए आउनुस्, म त घरैमा छु’ भन्नुभयो । ११:३० बजे उहाँको निवासमा पुगेँ । घरमा एक्लै हुनुहुन्थ्यो । उहाँको अनुहारमा पुलुक्क हेरेँ । हेर्दा अनुहारमा त्यो दिनका भैरवहरू कतै देखिन्नथ्यो । त्यो दिनको महारहस्यको कारक घडी भएको भए वा मैले घडी नलगाएको उहाँलाई सजिलै थाहा होस् भनेर छोटो बाहुले कमिज लगाएर गएको थिएँ, ताकि उहाँलाई मैले गल्ती स्वीकारेको जानकारी होस् ।

खासमा त्यो दिन के भएको थियो  ? त्यो दिनको कुरा कोट्याउन मलाई उचित लागेन । त्यसपछि पनि उहाँसँग मेरा कैयौँ भेटमा यसबारे केही कुरा कहिल्यै भएनन् । कुरा नभए पनि हरेक भेटमा त्यो दिनको घटना झन् गाढा भएर सम्झनामा आइरहन्थ्यो । पछिल्ला दिनमा भने उहाँलाई सुनिरहँदा मैले त्यो दिनको गल्ती कहिल्यै दोहोर्‍याइनँ । उहाँलाई सुन्दा निकै महत्व दिएर सुन्थेँ । उहाँसँगका यस्ता सबै लौकिक दर्शन र श्रवणको सिलसिला १९ माघ ०७४ देखि अलौकिक बने ।

१४ जेठ ०६२ देखि ५ फागुन ०७४ सम्म मैले हातमा घडी बाँधिनँ । त्यो अवधिभर अरुको हातमा घडी देख्दा मलाई उहाँको सम्झना अझ घनिष्ठ बनेर आउँथ्यो । ५ फागुनदेखि फेरि हातमा घडी बाँध्न थालेको छु ताकि उहाँलाई पहिलाजस्तै पलपल सम्झिरहूँ !

प्रकाशित: श्रावण ३१, २०७५