नायक कि खलनायक ? [पुस्तक समीक्षा : जंगबहादुरको जीवनयात्रा]

पुस्तक : जंगबहादुरको जीवनयात्रा | लेखक : पद्मजंग राणा | प्रकाशक : ओरिएन्टल पब्लिकेसन | अनुवादक : रामबहादुर पहाडी | पृष्ठ : २९२ | मूल्य : रु ४२५

- राजकुमार बानियाँ

प्रथम राणा प्रधानमन्त्री जंगबहादुरलाई खलनायक बनाउने चेष्टा त इतिहासमा भएकै छ । उनलाई नेपोलियन, हिटलर, क्रमवेल आदि महानायकको हाराहारी राख्ने कोसिस पनि नभएको होइन । जंगबहादुरकै साहिँला छोरा पद्मजंग राणाले डेढ सय वर्षअगावै लेखेका रहेछन्, लाइफ अफ महाराजा सर जंगबहादुर राणा (जीसीबी, जीसीएसआई) अफ नेपाल

सन् १९०९ (१९६६ विसं) मा इलाहावादको पायोनियर प्रेसमा मुद्रित अनि ०३७ मा रत्न पुस्तक भण्डारबाट पुनर्मुद्रित त्यही पुस्तकको कीराले खाएको अन्तिम प्रति भेट्टाएर अनुवादक रामबहादुर पहाडीले पुस्तकाकार दिएका छन्, जंगबहादुरको जीवनयात्रा

जंगबहादुरबारे अनेक तिलस्मी कहानी छन् नेपाली समाजमा । सनकी युवराज सुरेन्द्रको उक्साहटमा त्रिशूलीको पुलबाट घोडासँगै हाम फालेको, अग्निगर्भबाट आमाछोरालाई निकालेको, मत्ताहात्ती वशमा ल्याएको, धरहराबाट दुईवटा छातासहित हाम फाल्ने वाचा बाँधेको आदि । पुस्तकले पनि साहस, तुजुक, ह्याउ र फूर्तिमा जंगबहादुरलाई ‘सुपरम्यान’ नै देखाएको छ ।

चिनियाँ सम्राटबाट उनले पाएको तक्मा ‘स्वाङ लिङ पुम्मा को को वाङ स्याङ’ को अर्थ हुन्छ– ‘सेनानायक, सर्वश्रेष्ठ, साहसी पुरुष, सकल काममा निपुण, बहादुर जनताका अग्रपुरुष र सर्वशक्तिमान राजा ।’ के जंगबहादुर धरतीकै सर्वश्रेष्ठ थिए त ?

रानी राज्यलक्ष्मीकी विश्वासपात्र पुतलीमैयाँमार्फत दरबारसँग हिमचिम बढाएका अनि कोतको नरसंहारपछि प्रधानमन्त्री र प्रधानसेनापतिका रूपमा उदाएका जंगबहादुरको आद्योपान्त बयान पुस्तकमा छ । र, यो भण्डारखाल र कोतपर्वको रक्तरञ्जित माहोल, भोट र अंग्रेजसितको कठिन लडाइँ अनि जंगबहादुरको बेलायत यात्राको विशाल दर्पण भएको छ ।

जंगबहादुरको बेलायत यात्राको रोजनामचा (डायरी) लाई स्रोतसामग्री बनाएर लेखिएको रहेछ पुस्तक । तर, त्यो डायरी जंगबहादुर आफैँले लेखे वा अरुलाई लेखाए ? पद्मजंगले यकिन गरेका छैनन् । पुस्तक छापिनु तीन वर्षअगावै बितेका पद्मजंगको लेखनमा कला र कपट दुवै भेटिन्छ ।

छोरा भएर पनि कतिपय ठाउँमा निर्ममसमेत भएका छन् पद्मजंग । पुतलीमैयाँसँगको प्रेम–सम्बन्धलाई नाटक मात्र नभनेर सहोदर मामा प्रधानमन्त्री माथवरसिंह थापाको हत्यापछि जंगबहादुरले गोहीको आँसु चुहाएको लेखेका छन् ।

जंगबहादुरसँग असीमित अधिकार थियो । उनको मुखबाट झरेका प्रत्येक शब्द कानुन मानिन्थे । वंशजका आधारमा राजकीय पद बाँडफाँट हुन्थ्यो । राष्ट्रको ढुकुटीको अपचलन कति भने बेलायतमा बिरामी हुँदा उनले डाक्टर फिस पाँच सय पाउन्ड दिँदा डाक्टरले एक सय पाउन्ड मात्र लिएछन् ।

पुस्तक पढ्दा जंगबहादुरको निजी र सरकारी व्यक्तित्व छुट्याउनै मुस्किल हुन्छ । १२ महिना २४ घन्टे ड्युटी । कसैको घरमा आगो लाग्दा उनै कुदेका छन्, राष्ट्रिय पुस्तकालयमा पुस्तक झिकाउनु पर्दा उनै तातेका छन्, घोडाको काठी बनाउन पनि उनकै आदेश चाहिएको छ, कुस्तीको पुरस्कार वितरणमा पनि उनकै गोडाले दु:ख पाएका  छन् ।

कताकता आँधीबेहरीमा परेको सामुद्रिक जहाजको एक्ला कप्तानजस्ता देखिन्छन् जंगबहादुर । केही हदसम्म उनले विश्वलाई वीरता र राष्ट्रवादको परिचय दिएकै हुन् । मुलुकलाई बाह्य आक्रमणबाट बचाउनुका साथै भारतको सिपाही विद्रोहमा सघाएको पुरस्कारस्वरुप कोलकातामा भर्तीकेन्द्र खुल्यो भने बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपालले पायो ।

लगातार दुई पुत्रवियोगले गलित अनि थकित जंगबहादुरको इहलीला समाप्तिको क्षण टिठलाग्दो छ । उनको अन्तिम सिकारलाई विम्ब बनाएर सेतो बाघ  उपन्यास लेखे डायमनशमशेरले । राजेन्द्रविक्रमका पालामा १ करोड ९६ लाख प्रजा (जनसंख्या) या सन् १९४८ मा जंगबहादुर ३२ हजार सिपाही, दुई हजार क्याम्प सेवक, सात सय रासन कर्मचारीसहितको सिकारी दलबल लिएर तराई झरेका आदि प्रसंग भने विश्वसनीय लाग्दैनन् ।

जन्म र मृत्यु नै जीवनीको सीमास्तम्भ हो । पुस्तक जीवनीको सैद्धान्तिक पक्षबाट विचलित छैन । वास्तविकताबाट पनि विचलित छैन । पद्मजंगले आफूले देखेका, भोगेका र सुनेका आधारमा खिचेको बाबुको स्मृतिचित्र साहित्य र इतिहासको ठिम्मल उब्जा बनेको छ । लियो टल्सटायकृत वार एन्ड पिसका चारवटा ठेली उल्थाकार छवि पहाडीले दुरुस्तै राखेका छन् ।

शिलान्यासको ढुंगा खोज्न भवनै भत्काउने राजनीतिक प्रवृत्तिका कारण लेखक पद्मजंग स्वयं इतिहासको गर्तमुनि पुरिएका पात्र हुन् । त्यतिबेला राष्ट्रिय पुस्तकालयबाट युरोपेली आगन्तुकले फिर्ता नगरेका संस्कृतका हस्तलिखित ३९ ग्रन्थको सूचीसमेत पुस्तकमा उनले दिएका छन् । यो पुस्तक राणाकालीन इतिहासका जिज्ञासुका निम्ति ‘गोल्डेन टिकट’ नै हुन सक्छ ।

प्रकाशित: श्रावण ३१, २०७५