चैतन्य चोला

- कुमार नगरकोटी

मोक्षघाटमा म कसैलाई पर्खिबसेको थिएँ । डुंगामा ।

प्रभातकालीन वातावरण शान्त एवम् मनोरम थियो । चराहरुले आफ्नो पखेटामा बोकी ल्याएको सूर्यको पहिलो किरण धरतीमा चुहाइसकेका थिए । मेरो वृद्ध काया लाम्चिलो छाया पानीमा चलमलाएको थियो ।

म मानिसहरुलाई डुंगामा राखी नदीको पल्लो किनारा पुर्‍याउँछु । प्राय: मोक्षघाटमा यात्रीहरु कुरिरहन्छु । खासमा म जर्मन लेखक हर्मन हेस्सरचित पात्र हुँ, सिद्धार्थ । कतिपयले मलाई लिरिकल उपन्यास सिद्धार्थमा पढिसक्नुभएको होला । यहाँ चर्चा गर्न लागेको एउटा घटना भने उपन्यासमा कतै पनि छैन ।

त्यो बिहान एक भलाद्मी मेरो डुंगामा चढे । सुकिलो पोशाकधारी सानो ज्यानका मानिस । चम्किलो मुहार र चुम्बकीय आकर्षण भएको व्यक्तित्व । गाढा नीला आँखा । लाग्थ्यो, ती गहन आँखामा ज्ञानको नीलो सागर लुकिबसेको छ । उनको नाम चैतन्य मिश्र थियो ।

उनको हातमा एउटा झोला झुन्डिएको थियो पहेँलो रंगको । डुंगा चढ्नुअघि उनले आफ्नो गोडाबाट चप्पल खोलेका थिए । र, चप्पललाई शिर निहुराएर ढोगेका थिए । कस्तो आश्चर्य ! जलविहारमा हामीले कुराकानी गर्‍यौँ ।

म : अलि राम्रोसित बस्नुस् । हुरीबतास चल्यो भने उडाई लैजाला ।

चैतन्य : मेरो चैतन्य चोलाको चिन्ता नलिनुस् । जीवनमा अनेक हुरीबतासलाई मैले सहेको छु/झेलेको छु ।

म : झोलामा के छ ?

चैतन्य : चैतन्य चोला ।

म : कस्तो राम्रो ! कता जाँदै हुनुहुन्छ ?

चैतन्य : म आफ्नो बालापन भेट्न जाँदैछु । बाल्यकालका स्वच्छता–निष्कपटता, चञ्चलता–निश्छलता लगायत निर्दोषपनासित साक्षात्कार गर्न म घरबाट निस्केको हुँ, जसलाई सांसारिक घनचक्करमा मैले चटक्कै बिर्सेँ ।

म : डुंगा चढ्नुअघि तपार्इंले चप्पललाई ढोग्दा मलाई अचम्म लाग्यो ।

चैतन्य : यता आउनुअघि म द्वारबाहिरै चप्पल फुकालेर मन्दिर प्रवेश गरेको थिएँ । फर्केर गोडा घुसार्नै लाग्दा चप्पलले मसित भन्यो, ‘चैतन्य, तिमी कस्तो बैगुनी ! मैले नै तिमीलाई चेतनाको मन्दिरसम्म ल्याइपुर्‍याएँ । तिम्रो बोधयात्रामा सधैँ तिम्रो साथ दिएँ । तिमीलाई काँडाहरुबाट जोगाएँ । तर, आज मन्दिर छिर्ने बेलामा आफू एक्लै छिर्‍यौ ।’ चप्पलको कुरा सुनी म झसंग भएँ । चप्पलले आज मलाई ठूलो ज्ञान दियो । चप्पललाई मैले गुरु ठानेँ । त्यसैले मैले गुरुको पाउमा शिर झुकाएको हुँ, ढोगेको हुँ ।

कस्तो आश्चर्य !

आँखामा ज्ञानको नीलो सागर बोकी निस्केका ती मानिसलाई मैले बिर्सनै सकिनँ । डुंगाको चैतन्य–संवाद मेरो हृदयमा पछिसम्म गढेर बस्यो । नदीको पल्लो किनारामा मैले त्यो दिन उनलाई बिदाइ गरेको थिएँ । पहेँलो झोला झुन्ड्याउँदै आफ्नो बालापनको निर्दोष पर्सोना खोज्न उनी आफ्नो बाटो हिँडेका थिए । जाँदा मलाई ‘पर्खिबस्नू, म फर्किआउँछु’ भनेका थिए । तर, कैयौँ दिन बिते, उनी फर्केर आएनन् ।

बरु एक दिन एउटा बालक आयो । उसले सुकिलो पोशाक लगाएको । हातमा पहेँलो झोला झुन्ड्याएको ।

उसका आँखा नीला थिए । उसले मसित भन्यो, “बाजे, मलाई नदीपारि पुर्‍याइदिनुस् न । चकलेट दिउँला ।” झोलाबाट एउटा क्याटबरी निकालेर उसले मलाई दिन चाह्यो । मैले ‘भैगो बाबु पर्दैन’ भनेँ ।

ज्ञानको नदी तर्न चाहने त्यो बालकलाई मैले चिनिहालेँ । तैपनि, उसको मनको कुरा खोल्ने हेतु सोधेँ, “तिमी को हौ र कता जाँदैछौ ?”

“म चैतन्य हुँ,” बालकले भन्यो, “म मानव–समाजको अध्ययन गर्न संसारतिर जाँदैछु ।”

उसका नीला आँखामा मनुष्यनिम्ति एउटा सपना थियो र उसको बालबोलीमा अद्भुत आत्मविश्वास । उसको मुलायम हातका मसिना औँलाहरु सुम्सुम्याउँदै मैले भनेँ, “भविष्यमा तिमी समाजशास्त्रका प्रोफेसर बन्नेछौ । मानव–समाजको गहन अध्ययन गर्ने ज्ञानी मानिस हुनेछौ । किताब लेखेर अन्धकार समाजमा ज्ञानको प्रकाश छर्नेछौ । मानवलगायत जगत्का सम्पूर्ण प्राणीप्रति तिमी गुनी हुनेछौ । तिमी ज्ञान र गुनले ओतप्रोत एक असल मनुष्य बन्नेछौ । तिमीलाई मेरो आशीर्वाद  छ ।’

बालक डुंगाबाट ओर्लियो । यात्राका निम्ति मैले उसलाई शुभकामना दिएँ । झोलाबाट उसले एकजोर चप्पल निकालेर भुइँमा राख्यो र हिँड्नुअघि शिर झुकाएर चप्पललाई ढोग्यो । ऊप्रतिको करुणाभावले मेरा आँखा रसाए ।

मेरो छाती हर्षले ढक्क फुल्यो र उसको चैतन्य–यात्राप्रति ढुक्क भएँ ।

प्रकाशित: श्रावण २७, २०७५

ट्याग: पर्सोनाज