सूर्यास्त

- रमण घिमिरे

बाटो हिँड्दाहिँड्दै सुनेँ, ‘मनुजबाबु त बितेछन् ।’

२ जेठ ०७३ को अपराह्न मेडिकेयर अस्पताल, चाबहिलमा भेटिँदा हामीले खुसीमा सेल्फी समेत खिचेका थियौँ । त्यो सेल्फी हेरेर राम्रो भने उनले । प्रोस्टेटको समस्याले डा अर्जुनदेव भट्टकहाँ उपचार गर्न आएका रहेछन् । १२ वर्ष नपुग्दै एकै वर्ष बुबा र आमा गुमाएपछि आठ वर्षे भाइ पनि आफैँ हुर्काउँदाको कहर सुनाएका थिए त्यतिबेला ।

मैले चिनेका लेखक/कलाकार मनुजबाबु व्यवहारमा साह्रै सरल र सहज थिए भने सिद्धान्तमा अति अप्ठ्यारा । “तपाईंको जन्म दिन कहिले हो ?” उनको निवास हर्मिताजमा मैले सोध्दा बडो अप्ठ्यारो जवाफ दिएका थिए । “मानिस उसको योगदानले जन्मिन्छ । म देवकोटाको जन्म मुनामदन  लेखेको वर्ष १९९२ लाई मान्छु । तर, मैले त्यसरी जन्मिन पाएको छैन । म हरेक सूर्योदयसँगै जन्मिन्छु र हरेक सूर्यास्तसँगै मर्छु । मलाई फेरि मेरो जन्मतिथि नसोध्नूस् ।”

चार वर्षकै उमेरमा पिता तुलसीसिंह मिश्रका मित्र माइला बाजेको चिलिम खाँदै गरेको चित्र बनाइदिएका रहेछन् उनले । त्यसैले दरबार हाइस्कुलबाट सुटुक्क भागेर जुद्धकला पाठशाला (अहिले ललितकला क्याम्पस) पुग्थे र चित्र बनाउन सिक्थे । पिताजीले थाहा पाएर रामधुलाइ गर्दा पनि जुद्धकला पाठशाला धाउन छाडेनन् ।

००६ मा राणाविरोधी क्रान्ति चरममा पुगेका बेला उनले पितालाई सोधेछन्– ‘बुबा ! यो प्रजातन्त्र भनेको के हो ?’ पिताले भनेछन्– ‘आफूलाई जे गर्न मन लाग्छ, त्यही गर्न पाइने व्यवस्था ।’ अनि उनको किशोर मनले भन्यो– यो प्रजातन्त्र त मेरो घरमा पो आउनुपथ्र्यो ।

नभन्दै पिताजी बितेपछि उनको प्रजातन्त्र आयो । उनी चित्रकलामा लागे, नरराज ढकालकहाँ गएर सङ्गीत सिके, बालकृष्ण समका अमरसिंह  र भीमनिधि तिवारीको विवाहलगायत दर्जनौँ नाटकमा खेल्दै गए । छात्रवृत्तिमा तत्कालीन पूर्वी पाकिस्तानको ढाका आर्ट कलेज पढे । सन् १९६७ मा राजा महेन्द्र उनलाई भेट्न उनको आर्ट कलेजमै गएर भनेछन्– ‘तिमी यस वर्षको परीक्षा दिएर नेपाल आउनू !’

फर्केलगत्तै राजाले उनलाई नेपाल ललितकला संस्था (नाफा) को सदस्य बनाए । त्यसपछि उनले राजा महेन्द्रलाई देउता नै मान्न थाले ।

मनुजबाबु कस्ता चित्रकार हुन् भने एकै ठाउँ धेरै बेर स्थिर भएर बस्न नसक्ने नारायण गोपाललाई पनि तीन घन्टा एउटै पोजमा बसाएर मुहार चित्र बनाए । तर, उनी फोटोबाट पेन्टिङ गर्ने कुराको घोर विरोधी थिए । उनलाई लाग्थ्यो, फोटो हेरेर पेन्टिङ गर्नु कसैको राम्रो कवितालाई सुन्दर हस्तलिपिमा उतारेर त्यसको मुनि आफ्नो नाम लेख्नुजस्तै नक्कली काम हो ।

०४६ सम्म ललितकला क्याम्पसमा प्राध्यापन गर्दै थिए मनजुबाबु । बहुदल आएपछि ‘म तिमीहरूको जागिर खान्नँ बरू आफ्नै बगैँचाको घाँस चर्छु’ भनेर ललितकला छाडिदिए । अनि, सार्वजनिक जीवनमा देखिएनन् । उनको विचार सकारे पनि नकारे पनि २९ वर्षसम्म उनी आत्मनिर्वासनबाट पटक्कै डगमगाएनन् ।

तस्बिर : रमण घिमिरे

प्रकाशित: श्रावण २७, २०७५

ट्याग: सम्झना