[स्मरण] इमानसिंहसित अन्तिम भेट

- वैरागी काइँला

ब्रिटिस इन्डियाका पालामा इन्डिया अफिस लाइब्रेरीलाई दक्षिण एसियाको समग्र अध्ययन  थलो बनाइएको रहेछ । पछि त्यसैलाई ‘ ब्रिटिस लाइब्रेरी’ मा रुपान्तरण गरियो । यसमा ब्रायन हज्सन नामका एक स्वास्थ्यकर्मी कार्यरत थिए । काठमाडौँमा भएका ब्रिटिस कर्मचारी र दरबारियाको उपचारका लागि तत्कालीन ब्रिटिसको दूतावासमा यहाँ आएका रहेछन् । नेपाल बसाइमा यिनले यहाँका जनजाति, भाषा–संस्कृति, जीवजन्तु, वनस्पति आदिको अनुसन्धान र बौद्धधर्मको विशेष अध्ययन गरेका थिए । उसैबेला यिनले अमृतानन्दको सहयोगमा नेपाल भाषाको व्याकरण पनि तयार पारेका रहेछन् ।

०१२ हिउँदतिर लन्डन विश्वविद्यालय अन्तर्गत सोआसका प्राध्यापक आरके स्प्रिग तिनै हज्सनले संकलन गरेका कागजातमध्ये लिम्बूसँग सम्बन्धित सामग्री बोकेर अध्ययनका लागि नेपाल आएका थिए । उनी काठमाडौँबाट लियाजो अधिकृत केशवशमशेर जबरासँग दार्जिलिङ हुँदै इलाम पुगे इमानसिंह चेमजोङलाई  भेट्न । पहिले त इमानसिंह कालेबुङ (भारत) मा बस्थे । तर, नेपाल आउजाउ गरिरहन्थे । उनले महागुरु फाल्गुनन्दले विसं १९८८ मा लब्रेकुटीमा आयोजना गरेको ‘चुम्लुङ’ मा सहभागी भएको लेखेका छन् ।

हज्सनको इलाम अमिनीमा सुब्बा रहेका मेरा पिताजी डबल सुब्बासँग भेट भएछ । पिताजीले हाम्रो गाउँछेउको याम्बोङ गाउँका रणध्वज नेम्बाङसँग लिम्बू ध्वनि र उच्चारण व्यवस्था मिलाएर हाम्रो बन्दै गरेको सारतापको घरमा बस्ने व्यवस्था मिलाइदिएछन् । यसरी इमानसिंहका साथै रणध्वजको सहयोगमा आरके स्प्रिगले लिम्बू भाषा र पाण्डुलिपिको अध्ययन गरेछन् ।

यतिबेलासम्म इमानसिंह पल्लो किरात लिम्बूवानमा लिम्बू भाषा, लिपि, इतिहास र संस्कृतिका अनुसन्धानकर्ता र प्रचारकका रूपमा अति लोकप्रिय भइसकेका थिए । त्यही लोकप्रियताको आडमा ०१५ को पहिलो आमनिर्वाचनमा कसैकसैले उकासेका भरमा यिनले प्रतिनिधिसभाका लागि निर्वाचन क्षेत्र नं. ‘ख’ (निभु दक्खिन) बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराए ।

उनको पुख्र्यौली थलो पाँचथरको आङसराङ मेहेलबोटे हो । हाम्रो गाउँदेखि ३/४ घन्टाको पैदल बाटोको छिमेकी गाउँ । पाँचथर जिल्लामा त्यसबेला दुइटा निर्वाचन क्षेत्र थिए । उनको चुनाव क्षेत्रमा कांग्रेसका तर्फबाट आङसराङ निवासी पण्डित गणेशप्रसाद रिजाल उम्मेदवार थिए । जनक्रान्तिको नेतृत्वकर्ता कांग्रेस पार्टीका अगाडि चेमजोङको लोकप्रियताले प्रभाव खासै पार्न सकेन र उनले चुनाव हारे । उनको मनमा लिम्बूहरूले नै भोट नदिएर आफूलाई हराए भन्ने भान पर्‍यो होला ।

यसमा मेरो फरक मत के छ भने त्यस चुनाव जितेर राजनीतिमा लागेका भए लिम्बूले इमानसिंहलाई आजजस्तो सम्झिने थिएनन् । न लिम्बू भाषा–संस्कृतिविज्ञका रूपमा त्यस कोटिको योगदान दिन सक्थे, न त मान, प्रतिष्ठा र इज्जत नाम हुन्थ्यो । ०१५ को आमनिर्वाचनमा पराजित भएर भाषा–संस्कृति, लिपि र इतिहासको क्षेत्रमा लागेर लिम्बूहरूको आस्था जिते । अर्को शब्दमा निर्वाचनमा यिनको पराजय लिम्बू जातिका लागि वरदान भयो ।

त्यसपछि उनी काठमाडौँ आए र इतिहास–संस्कृतिका ठूलठूला विद्वान्–प्राज्ञिकहरूसँग संगत गर्ने अवसर पाए । उतै कालेबुङका ठूला विद्वान् रणधीर सुब्बालाई झिकाएर गोरखा परिषद् नेपालको सभापति बनाइएको थियो । पछि रणधीर सुब्बा त्रिभुवन विश्वविद्यालयको उपकुलपति भए । त्यसै बेलामा ‘किरातोलोजी डेस्क’ राखी त्यसको विशेषज्ञका रूपमा चेमजोङलाई नियुक्ति गरियो । इनासको नाममा खोलिएको त्यो विभाग अहिले सिनास भएको छ । यस अवधिमा यिनले आफूले कालेबुङदेखि सिक्किम हुँदै नेपाल प्रवेशपछि (सन् १९१६–६०) सम्म) गरेका शोध र अध्ययनहरू प्रकाशनमा ल्याए । यिनले इनास छाडेपछि त्यो ‘किरातोलोजी डेस्क’ पनि बन्द हुन पुग्यो ।

०३० तिर म नेपाल प्रज्ञा–प्रतिष्ठानको विद्वत्वृत्ति पाएर काठमाडौँ आएको थिएँ । सूर्यविक्रम ज्ञवाली प्रतिष्ठानको उपकुलपति थिए । त्यही बेला यहाँका गन्यमान्य प्राज्ञिक समुदाय मिलेर इमानसिंह चेमजोङको नागरिक अभिनन्दन गरिएको थियो, भूपू सैनिक संगठनको हल, पुल्चोकमा । सायद, अन्तिम पटक मैले चेमजोङलाई भेटेको त्यहीँ हो ।

प्रस्तुति : रमण घिमिरे

प्रकाशित: श्रावण २४, २०७५

ट्याग: संस्मरण