भूत गणतन्त्र [पुस्तक समीक्षा : हजार माइलको बाटो]

पुस्तक : हजार माइलको बाटो | उपन्यासकार : नारायण ढकाल | प्रकाशक : फिनिक्स बुक्स | पृष्ठ : ३८४ | मूल्य : रु ४२५

- निरोज कट्टेल

नारायण ढकालको उपन्यास हजार माइलको बाटो मा भूत गणतन्त्रको कल्पना गरिएको छ । त्यहाँ कम्युनिस्ट नेता पुष्पलाल बाटो बिराएको राजनीतिको व्याख्या दिन्छन् । श्रोताहरु वर्तमानलाई खास ऐतिहासिकताको कसीमा हेरिरहेका छन् र आफू संलग्न कम्युनिस्ट आन्दोलनको समीक्षा गर्दैछन् ।

स्वैरकल्पना प्रतीत हुने उपसंहार खण्ड नारायण ढकालको राजनीति हो । यो उपन्यास एक असन्तुष्ट निम्न मध्यमवर्गीय युवकको कथा हो । व्यक्तिगत कुण्ठाको पहाड बोकेर  भ्रम र यथार्थबीच एक युवकले छिचोलेकोदुरुह यात्रा–कथा नै हजार माइलको बाटो  हो । धीरेन्द्र आफ्नो बाबुलाई प्रतिस्पर्धी ठानिरहरन्छ र बाबुको राजनीतिक अभीष्टका विरुद्धमा अनेकौँ षड्यन्त्र गरिरहन्छ । बाबुले आफूप्रति देखाएको अतिरिक्त मोहलाई शंकाको दृष्टिले हेर्छ । उसको मूल ध्येय नै बाबुलाई पराजित तुल्याउनु हुन्छ । तर, पलपलमा बाबुसँग हारिरहेको ऊ मनोरोगीजस्तो भएर चाहिने–नचाहिने काम गरिरहन्छ । पञ्चायती बाबुका विरुद्धको वाम राजनीतिलाई उसले हतियारका रुपमा प्रयोग गर्छ । ऊ माले बन्न पुग्छ । बहुदलपछि बाबु  एमाले बनेपछि भने ऊ मोहभंगको अवस्थामा पुग्छ । केही समयअघिसम्म माओवादीलाई ठट्टा ठानिरहेको धीरेन्द्रनाथ बाबु माओवादी हुन लागेको सुइँको पाएपछि आफँै माओवादी भइदिन्छ ।

 धीरेन्द्रको यो यात्रा क्रान्तिकारी रुपान्तरण नभएर व्यक्तिगत तुषजस्तो देखिन्छ । निजी कुण्ठा र राजनीतिक क्रान्तिबीच सन्तुलन मिलाउन नसक्ने असरल्ल पात्र हो धीरेन्द्र । उसमा धैर्य कम, हतारो बढी छ । वैचारिक मन्थन कम, आवेग बढी छ । वैचारिकीले खारिएका जोसिला कदम होइन, उत्तेजनाले डोरिएर निर्णय गरिरहन्छ ऊ । यो क्रम बढ्दै जाँदा निराशाको बादल मडारिन थाल्छ र जीवन नै नष्ट गरिदिन्छ ।

 धीरेन्द्रनाथको यो उतारचढावलाई हाम्रो सामाजिक एवं पारिवारिक शक्ति–सम्बन्धको आँखाबाट हेर्न सकिन्छ । अन्यायी सम्बन्धको एउटा सामान्य पुर्जा बनेको बाबुलाई समतामूलक समाजको अंश बनाउनतर्फ उसले ध्यान केन्द्रित गरेन । कम्युनिस्ट क्रान्तिले त्यस्तो अन्यायी शक्ति–सम्बन्धलाई अमानवीय बनाइरहेको त्यो बाबुलाई समेत मुक्त गर्ने सपना साँचेको हुन्छ । धीरेन्द्र भने अनेक जडताका कारण आफैँ अमानवीय बन्दै गएको भान हुन्छ । सिंगो राजनीतिक आन्दोलनका भ्रम र व्यक्तिगत अक्षमता सिर्जित अक्करमा परेर धीरेन्द्र निरुद्देश्य समाप्त हुन्छ ।

त्यसो त, राजनीतिज्ञ धीरेन्द्रभन्दा उसको बाबु नै बढी इमानदारजस्तो लाग्छ । कम्तीमा, उसले आफ्नो राजनीतिक अभीष्ट लुकाउँदैन । अनेक षड्यन्त्र गरिरहेको छोरोका विरुद्ध लुकिछिपी प्रहार गर्दैन । धीरेन्द्रसँगै नेपालको कम्युनिस्ट आन्दोलनले बेहोरेको पतनको कथाले आखिर पाठकलाई कस्तो निष्कर्षमा पुर्‍याउँछ ? ढकालले कम्युनिस्ट आन्दोलनलाई निम्नमध्यम वर्गको तुष्टिको परिणामको रुपमा देखाउने प्रयास स्वरुप धीरेन्द्रनाथलाई यति धेरै विचलित पात्रका रुपमा उभ्याएका त होइनन् ? ढकालले धीरेन्द्रजस्तो पात्रमार्फत नेपालको कम्युनिस्ट आन्दोलनको समीक्षा गर्न चाहेका हुन् भने हामीले थप केही प्रश्नहरुमा घोत्लिन आवश्यक छ । हिजो आन्दोलन हाँक्ने जिम्मा लिनेहरु धीरेन्द्रजस्तै निजी र सार्वजनिक जीवनका सन्तुलन मिलाउन नसक्ने पात्रहरु नै थिए ? के उनीहरु निजी कुण्ठाले रन्थनिएर आन्दोलनका हतियार बनेका थिए ?

यी प्रश्नले निम्त्याउने विमर्शले हामीलाई नेतृत्व र तिनले बनाएका संगठनको चरित्र उजागर गर्ने ठाउँसम्म पुर्‍याउन सक्नेछ । माक्र्सवादी संगठनमा व्यक्तिका निजी मामिलाहरुलाई गौण मान्ने परम्परा स्थापित छ । तथापि, व्यक्तिका अहं र कुण्ठालाई सम्बोधन नगरी कुनै सामूहिक कर्म सम्पादन गर्न अप्ठेरो हुने रहेछ । कम्युनिस्ट आन्दोलनबारे अध्ययन गर्न चाहने अध्येताले पुष्पलालदेखि कम्युनिस्ट आन्दोलन निर्माणमा लागेका नेतृत्वले गरेका निर्णयलाई ढकालले उठाएका प्रश्नको कसीमा परख्न जरुरी होला । निम्नमध्यम वर्गका युवाको जमातकै कारण वाम राजनीति धीरेन्द्रजस्तै अलमलमा फसेको त होइन ?

आफू स्वयं वाम आन्दोलनको अंग बनेर सत्तामा समेत पुगेका लेखकले विभिन्न पात्रमार्फत उठाएका यस्ता प्रश्नहरु असान्दर्भिक/गलत छन् भन्न सकिँदैन । यी प्रश्न जरुरी होइनन् भन्ने हो भने उपन्यासकारले कम्युनिस्ट आन्दोलनको फराकिलो फलकलाई व्यक्तिगत कुण्ठाको साँघुरो बेदीमा असरल्ल फ्याँक्न खोजेका हुन् भन्ने निष्कर्ष निस्कन्छ ।  ढकालले अन्त्यमा उपसंहार अर्थात्, क्रमभंगमा क्रान्तिको अवसानका कथाहरु बुनेका छन् । त्यहाँ उनले नेपालको वाम राजनीतिको आरोह–अवरोहलाई अनेकौँ पात्र, घटना र प्रवृत्तिमाथि प्रश्न उठाएका छन् । हजार माइलको बाटो  धीरेन्द्रनाथजस्तो विचलित पात्रलाई उभ्याएर सामाजिक–राजनीतिक क्षेत्रको केही विषय उप्काउने प्रयास गरिएको एउटा औसत उपन्यास हो ।  

प्रकाशित: श्रावण २४, २०७५