[तीन किताब] छुटेका प्रेमिकाझैँ

- दयाहाङ राई

म नेपाली किताब नै बढी पढ्छु किनकि अंग्रेजीमा मेरो पकड छैन । अहिले मोहन वैद्यको हिमाली दर्शनले रन्थनिरहेको छु । पढेका धेरै किताबको नामै पनि भुलिसकेँ । स्वाद लागेका किताबका पात्र र पंक्ति भने कहीँ न कहीँ लुकेर बसेका हुँदारहेछन् ।

पुस्तक मेरा लागि सिनेमा र नाट्य यात्राको सामलतुमल पनि भइदिन्छ । म अरुलाई बुझाउनका लागि पढ्दिनँ । किताब पढ्दा कतिपय जानकारी त पाइन्छ नै । साथमा, थिएटरका सेट बनाउन, परिवेश बुन्न र विम्बार्थ पहिल्याउन किताबले धेरै सहयोग गर्छन् ।

दमिनी भीर  मलाई धेरै मन परेको किताब हो । यो मेरो समयको कथा पनि हो, जहाँ आफ्नै गाउँले परिवेशगत अपनत्व पाउँछु । दुई बसाइमा पढिसकेपछि मन पर्नुको कारण खोज्न फेरि पढेँ । राजन मुकारुङले उठाएका मुद्दा मेरै हुन् भन्ने लाग्यो । यो किताब विदेशमा बस्ने साथीहरूलाई पनि पठाइदिएँ ।

ज्ञानको लेनदेन किताबबाट भएको हुन्छ । मेरो समुदायमा लिखित ज्ञानभन्दा चिन्तनको मौखिक परम्परा बलियो देख्छु । तर, किताबले नै भाषा, संस्कृति र भूगोलका अनेक घेरा मेट्छ होला ।

एकताका पिटर ब्रुकले बनाएको महाभारत  हेर्ने भोक थियो । दुई तीन वर्षको खोजपछि डीभीडी फेला पारेँ । पिटरले यताको महाभारतलाई विश्वव्यापी रंग दिने कोसिस गरेका छन् । यस्तै धामाका साथ खोजी पढेको किताब हो– त्यसबखतको नेपाल । सरदार भीमबहादुर पाँडे लिखित पाँच भागको किताबबारे गहन अध्येताको मुखबाट सुनेको थिएँ । तर, लामो कालसम्म अनुहारसमेत देख्न पाइनँ । किताब खोज्न अनेक ठाउँ धाएँ ।

सात वर्षअघि केशर पुस्तकालयमा यो पुस्तकको तेस्रो भाग भेटाएपछि यसको तिर्खा कम भयो । पछि यसका सबै भाग मगाएर प्यास मेटेँ । चौथो पटक किनेको सेटलाई अहिलेसम्म सुरक्षित राखेको छु । दोस्रो विश्वयुद्धपछिको नेपाली राजनीति र अर्थतन्त्र बुझ्न पाँडेको किताब विश्वसनीय होला जस्तो लाग्छ ।

किशोरकालमा प्रकाश कोविदका रोमान्सेली उपन्यासको चक्करमा परेँ । प्रेमको राग मार्न पनि दर्जनौँ किताब साटफेर गरेर पढियो । कलेज–कोर्सका साहित्यले फेरि अर्को दुनियाँ देखायो । इन्द्रबहादुर राई र पारिजात नबुझेपछि साहित्य गम्भीर विषय रहेछ भन्ने लाग्यो । अचेल किनेका कतिपय किताब बेफुर्सदीले लखेटेर बासी सूचीमा थन्किन्छन् ।

पछिल्लो समय आख्यानभन्दा गैरआख्यानतिर आकर्षित छु । बैरागी काइँलाले लेखेका मुन्धुममाथिका शृंखलाबद्ध पुस्तक पनि खुब चाख मानेर पढेको थिएँ । पहिलो पटक किनेको किताब सुनील पोखरेलले खोसेर लगे । दोस्रो पटक किनेको किताब जोगाएर राखेको छु ।

उपल्लो थलो  मलाई छोएको अर्को पुस्तक हो । यो किताब बुझेर–जानेर किनेको चाहिँ होइन । पहिलेदेखि नै लेखहरुमा पढिराखेका लेखक मोहन मैनालीको यो किताब सुनील पोखरेलले दिएका हुन् । आफ्नो हस्ताक्षरअघि पोखरेलले सप्रेम लेखेका छन्– ‘तिमीले फिल्म मात्र होइन, नाटकको अभिनयलाई पनि निरन्तरता दिनू ।’ यसले सेतो सूर्य  निर्माणको सेटिङमा इमेजहरु दियो । मान्ठा डराएको जुगले पनि त्यही फिल्मलाई अझ समृद्ध बनाउन सघायो । मोहन मैनालीका यी गैरआख्यानको गहिरो प्रभावमा मैले सेतो सूर्य  गरेँ ।

काठमाडौँ छिरेपछि माक्र्स, लेनिन, एंगेल्स, चे ग्वेभाराका थुप्रै अनुदित किताब संकलन गरेर पढेँ । मस्कोमा छापिएका ती किताब संकटकालको रातमा शंखमूलको पुलबाट फ्याँकिदिएँ । पारिजातका केही किताब  त्यही मेसोमा मिसिए । कति किताब त एकपटक पनि पढेको थिइनँ । परिवारलाई ती किताबबारे भन्ने आँट थिएन, डेरामा सजाउने दुस्साहस गरिनँ । फ्याँकिएका ती दुई बोरा किताब सम्झिन्छु कहिलेकाहीँ । मेरा लागि ती किताब छुटेका प्रेमिकाझैँ हुन् ।

प्र स्तुति : गुरुङ सुशान्त

प्रकाशित: श्रावण २३, २०७५