सेनालाई रानीपोखरी

- नेपाल संवाददाता

काठमाडौँको बीचैमा अवस्थित रानीपोखरी पनि सेनाले बनाउने भएछ । त्यसो त काठमाडौँ महानगरपालिकाले त्यो छलफल मात्रै भएको हो, निर्णय भएको छैन भनेको छ । तर, निर्णय भएको छैन भने पनि के फरक पर्छ र ? सेनाले बनाउने भनेपछि निर्णय किन चाहियो ?

निजगढदेखि काठमाडौँसम्मको फास्टट्रयाक त सेनाले बनाइरहेकै छ । टुँडिखेल कब्जै हुने गरी घरहरु बनाएकै हुन् । अब रानीपोखरी बनाउनु कुन ठूलो कुरा भयो ? यस्तो लाग्छ, अब नेपाली सेना पनि राष्ट्रिय सुरक्षालाई छाडेर ठेकेदारीतिर आइरहेको छ । 

वास्तवमा कुनै पनि निर्माण कार्यको ठेक्का सेनालाई दिँदा त्यहाँ तीन–चारवटा अतिरिक्त फाइदा हुने रहेछन् । त्यसैले पनि अरु कम्पनीभन्दा सैनिक कम्पनी नै राम्रो । पहिलो फाइदा, तपाईं जे निर्माण गर्दै हुनुहुन्छ, त्यसको नक्सा बनाउनुपर्दैन । बनाए पनि पास गर्नुपर्दैन । दोस्रो फाइदा, सेनाले ठेक्का लिएपछि त्यहाँ गुन्डासुन्डा, डनसन कसैले दु:ख दिन आउँदैन । ढुक्कले बनाए हुन्छ । तेस्रो फाइदा, निर्माण कार्य जतिसुकै नमिले पनि स्थानीय जनताको विरोध आउँदैन । आए पनि केही गर्न सक्दैनन् । चौथो फाइदा, सेनाले काम गरेपछि त्यसको हिसाबकिताब देखाउनुपर्दैन । बेरुजुको डर हुँदैन ।

त्यसैले अब सेनालाई रानीपोखरी मात्र होइन उपत्यकाका अरु पनि पोखरी जस्तो कि, कमलपोखरी, पानीपोखरी, खिचापोखरी, इखापोखरी, प्रयासपोखरी, सिद्धपोखरी, गहनापोखरी, न्हूगुपोखरी, देवपोखरी आदि जम्मै बनाउने ठेक्का दिए पनि फरक नपर्ला । अझ सकिन्छ भने त पोखरी बनाइसकेपछि त्यही पोखरीमा माछापालन गर्ने र त्यही माछा तात्तातो फ्राई गरेर बेच्ने ‘फिस फास्ट फुड’ पनि सेनालाई नै चलाउन दिए त झनै राम्रो । 

प्रकाशित: श्रावण २३, २०७५