मिथिला कलाको मार्केटिङ

- अजित तिवारी/सन्तोष सिंह/जनकपुर

दाइजोका कारण छिमेकी बुहारीको शरीरमा मट्टितेल खन्याएर जिउँदै जलाउन खोजेको दृश्यले मर्माहत बनायो जनकपुरकी मधुमाला मण्डल, ४०, लाई । दाइजोका कारण बेहुलीले ससुरालीमा पाउने प्रताडनाको पीडा उनले महसुस मात्र गरिनन्, क्यानभासमा उतारिन् पनि । एउटै कागजमा दाइजोका कारण हुने हिंसाका ५ वटा मार्मिक दृश्य उनले पेन्टिङमार्फत कोरिन् । आमासँग मिलेर बेहुलाले नै आफ्नै जीवनसाथीको शरीरमा मट्टितेल खन्याउँदै गरेको दृश्य मधुमालाले पेन्टिङमा उतारेकी छन् ।

धनुषा, नगराइन–३ की रेमनी मण्डल, ५८, सित नयाँ गोरु उतिबिघ्न परिचित भइसकेको थिएन । त्यसैले बाँध्ने बेलामा गोरुले उनलाई हिर्काएर लडायो र सामान्य घाइते बनायो । त्यही लडाइँ उनले मिथिला पेन्टिङमा उतारिन् । “पेन्टिङमा सधैँ झट्ट दृश्य आउँदैन,” ०५३ देखि मिथिला पेन्टिङ बनाइरहेकी रेमनीले भनिन्, “कहिलेकाहीँ आफैँसित भएको घटना पनि पेन्टिङमा उतार्छु ।”

जनकपुर–११ की पालो दास, ५०, ले हवाइजहाज कहिल्यै चढेकी छैनन् । आकाशमा उडेका साना जहाज मात्र उनले देखेकी छन् । जहाज चढ्ने आफ्नो उत्कट इच्छाचाहिँ पेन्टिङमा पोखेकी छन् । भन्छिन्, “देवी–देउता, घरगृहस्थी, पर्व, त्योहार र लोकसंस्कृति मिथिला पेन्टिङको आधारहो । समाजको पीडा पेन्टिङमार्फत पोख्नु पनि कला हो । यही कलाले धेरैलाई लोभ्याएको छ ।”

जहाँ मानिस वा जनावरको नाक चुच्चो र आँखा ठूलो छ, त्यही हो मिथिला पेन्टिङ खुट्याउने तरिका । सीताको विवाहका बेला राजा जनकले जनताका घर र बार्दलीको भित्तामा कोर्न लगाएका चित्रकलाले पछि मिथिला पेन्टिङको रूप लिएको हो । मिथिला पेन्टिङको सुरुआत भएको ठ्याक्कै तिथिमिति नरहे पनि सन् १९ कै दशकको मध्यतिर क्यानभासमा उतारियो । पौराणिक कथामा आधारित पात्र, विवाह, कोहबर, ब्रतबन्धलगायतका विधिको तस्बिर कोरेर थालिएको मिथिला पेन्टिङको माग र आकर्षण विदेशमा लोभलाग्दो रहे पनि आफ्नै ठाउँमा भने उपेक्षित छ ।

सन् १९९१ मा धनुषाका गाउँ–गाउँ पुग्दा घरको भित्तामा कोरिएका मिथिला पेन्टिङले लोभिएकी अमेरिकी नागरिक क्लेयर वरकटले यसको व्यावसायिक उत्पादनका लागि जनकपुर–१२ स्थित कुवारामपुरमा नारी विकास केन्द्र नै स्थापना गरेकी थिइन् । उनले नै मिथिला पेन्टिङको पनि अमेरिकामा मार्केटिङ गरिरहेकी छन् । मिथिला पेन्टिङको माग विदेशमा उच्च छ ।

“तन्ना र तकियाका मिथिला पेन्टिङ विदेशीले धेरै मन पराउँछन्,” कलाकार ममता चौधरी भन्छिन्, “केन्द्रमा आउने विदेशीले ठूलो परिमाणमा मिथिला पेन्टिङ कुँदिएका तन्ना र तकियाका खोल किनेर लैजान्छन् ।”

नारी विकास केन्द्रका प्रबन्धक सतिस साहका अनुसार अमेरिकामा मात्रै वार्षिक १५ लाख रुपियाँको मिथिला पेन्टिङ निर्यात हुन्छ । त्यहाँ बिक्री भएको मिथिला पेन्टिङकै आम्दानीबाट केन्द्रमा ४० जना महिला चित्रकारले पारिश्रमिक पाउँछन् । सरकारी सहयोग नपाए पनि मिथिला पेन्टिङ मैथिली महिलाको कला, सीप, परिश्रम र योगदानबाट अझै जीवन्त छ ।

“हामीलाई सरकारको पैसा वा अनुदान चाहिएको छैन,” केन्द्रका प्रबन्धक साह भन्छन्, “सरकारले प्रचार–प्रसारमा मात्रै सहयोग गर्‍यो भने मिथिला पेन्टिङको माग थाम्नै नसक्ने गरी बढ्नेछ ।”

प्रकाशित: श्रावण २०, २०७५