मन नछुने प्रेम [फिल्म समीक्षा : कायरा]

फिल्म : कायरा | रेटिङ : १.५/५

- गोकर्ण गौतम

उस्तै–उस्तै फिल्म र भूमिकामा रमाएको, विविधता पस्कन नसकेको आदि आरोप झेलिरहेका छन्, आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाह । कुनै समयका ‘हटकेक’ आर्यन करिअरको किनारामै पुगेको भान हुन्छ भने तीन फिल्म खेलिसकेकी साम्राज्ञीको हालत पनि मजबुत छैन । एकै परिस्थितिबाट गुज्रिरहेका आर्यन–साम्राज्ञी कायरामा एकसाथ देखिएका छन् । त्यसैले आशा थियो, ‘स्टेरियोटाइप’ बाट माथि उठेर पक्कै केही धमाका गर्नेछन् । कम्तीमा रसिलो कथा हेर्न पाइनेछ भन्ने आश राख्नु अनुचित थिएन । तर, कायरा  हेरेपछि हात लाग्छ, सिर्फ निराशा । मुख्य कथा र प्रस्तुति बासी मात्र होइन, सतही पनि छ । पर्दामा पात्र प्रेम गर्छन्, त्याग गर्छन् तर त्यसले दर्शकलाई छुँदैन । यो अपजसको मुख्य हकदार निर्देशक लक्ष्मण रिजाल हुन्, त्यसपछि पटकथाकार केदार भुसाल । कायराको आवरणचाहिँ चम्किलो छ । पुरानो पुस्तकमा नयाँ गाता हालेजस्तो ।

मायाले मूर्त रूप नपाउँदै जय (आर्यन) र कायरा (साम्राज्ञी) छुट्टिनुपर्छ । कायरालाई भुल्नकै खातिर जय फिलिपिन्स जान्छन् । रेष्टुराँ चलाउँछन् । आफैँ गाउँछन् पनि । कायरालाई करिब बिर्सिसकेका हुन्छन्, त्यही बेला कायरा उतै पुग्छिन् । सुरुमा बेवास्ता गर्न खोज्छन् । तर, कायराको प्रेममा फेरि मोहित भइहाल्छन् । त्यति बेलासम्म उनीहरूको जीवनमा धेरै उतारचढाव आइसकेको हुन्छ । अब चाहिँ प्रेम टिक्ला त ? क्लाइमेक्समा ‘सरप्राइज’ छैन । न विश्वसनीय नै लाग्छ ।

फिल्मको मेरुदण्ड हो, पटकथा । कायराको यही मेरुदण्ड चोटै–चोटले भरिएको छ । बासी कथालाई पटकथा बुन्ने क्रममा विभिन्न ‘ट्रिटमेन्ट’ मार्फत स्फूर्ति दिलाउन नसकिने होइन । तर, कायरामा त्यस्तो आभास हुन्न । फिल्म नहेरेकालाई अतिशयोक्ति लाग्न सक्छ । फिल्ममा यस्तो दृश्य छैन, जुन पहिले कहीँ कतै नदेखिएको होस् । केटाकेटीको मिलन–विछोड, बाह्य–आन्तरिक द्वन्द्व, सहायक पात्र, कथा बढाउने शैलीदेखि निचोडसम्म ताजगी छैन । सुरुआतको आधा घन्टासम्म कथा अगाडि बढ्दैन, फिलिपिन्समा यताउता गर्दै बित्छ । साम्राज्ञीको स्वास्थ्यमा समस्या देखिएपछि केही गति लिएझैँ लाग्छ । तर, फेरि आलटाल सुरु भइहाल्छ । फिल्म दृश्य भाषा हो, दृश्यमार्फत दर्शकलाई कथा भन्नु निर्देशकको पहिलो कर्म हो । कायराका निर्देशक रिजालले दृश्य होइन, संवादलाई प्रेम गरेका छन् । फलत: पात्रहरू गहिरो प्रेमको कुरा गर्छन्, रुन्छन्, रमाउँछन् तर दर्शकलाई आफूतिर तान्न सक्दैनन् ।

लभस्टोरी फिल्म बनाउने निर्देशक प्राय: एउटा भ्रमले ग्रस्त हुन्छन्, केटा वा केटीलाई ज्यानै लिने रोगबाट पीडित बनाइयो भने दर्शकको संवेदना खिच्न सकिन्छ । वियोगान्त क्लाइमेक्स सुनमा सुगन्ध भइहाल्यो । यो सूत्र आफैँमा मृत भइसक्यो । यसबाट कायरा बच्न सकेको छैन । आर्यनको क्लासिकमा पनि यही समस्या थियो । अर्कातिर, सवा दुई घन्टाको कायरा  पूरापूर आर्यन र साम्राज्ञीमा केन्द्रित छ, मीठा उपकथा र सहायक पात्र छैनन् ।

कायराको फिलिपिन्समा उदय, जयले डाक्टरलाई झम्टेको, जयकी प्रेमीकासँगको लफडा, बाबु र कायराबीचको वार्तालाप, जयको घाटीमा चोट लागेकोजस्ता दृश्य क्लिसे र कृत्रिम लाग्छ । बरु यसबीच फिलिपिन्सका चहकिला दृश्यले थोरबहुत राहत दिन्छ । फिल्ममा कमेडी पनि छ तर हँसाउने ध्याउन्नमा थोपरिएको छैन । पात्रले ‘सिचुएसन’ अनुसार नै हास्यरसका संवाद बोल्छन् । जय र पसलको फुच्चेको सम्बन्ध प्रिय लाग्छ । घर र गितारलाई विम्बको रूपमा प्रयोग गरिएको छ । कलाकारको भेषभूसा, मेकअप र खिचाइ उम्दा छ । गीत फिल्मको सुन्दर पक्ष हो । ‘सुखमा...’ र ‘यो त माया हो...’ साँच्चै श्रुतिमधुर छन् । गीतको भिजुअल ‘रिच’ बनाउन कन्जुस्याइँ गरिएको छैन ।

अभिनयमा न आर्यनको ‘ग्रोथ’ देखिएको छ, न त साम्राज्ञीको । चरित्र पनि उनीहरूका विगतका फिल्मभन्दा खास भिन्न छैन । तर, जोडी सुहाएझैँ लाग्छ । यद्यपि, आर्यन र साम्राज्ञीप्रतिको अपेक्षा यति मात्र होइन । कन्टेन्टलाई केलाउँदा आर्यनले निर्माण गरेका अघिल्ला फिल्म नोभेम्बर रेन  र क्लासिक भन्दा कमजोर छ, कायरा । यसमा शंका छैन । आर्यनलाई धाप मार्ने एउटै कारण, कम्तीमा उनले फिल्म निर्माण र अभिनयलाई निरन्तरता दिइरहेका छन् । आर्यनको करिअर धरमरमा छ । तैपनि, निर्देशक रिजालले यस्तो फितलो स्क्रिप्टमा आर्यनलाई किन उभ्याए ?

कायरामा एउटा संवाद छ– पूरा हुन् या अधुरा, सपना त सपनै हो, देख्न छाड्नुहुन्न । कायराबाट आर्यनको सपना पूरा भयो/भएन, कुन्नि ! तर, आर्यनको गतिलो फिल्म हेर्ने प्रशंसकको सपनाचाहिँ यसले पूरा गर्दैन । साम्राज्ञीको हकमा पनि त्यही हो ।

प्रकाशित: श्रावण १८, २०७५