[नोटबुक] मार्सी कि जेठो बूढो ?

- बाबुराम विश्वकर्मा

कति बेला के चर्चित हुन्छ, अनुमानै गर्न सकिँदैन । बीएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसार्इंका कारण जुम्ली मार्सीको चर्चा चुलिएको छ ।

सहरमा एकाएक मार्सीको माग बढेको छ । तर, मार्सीको भात खानेहरुले भने स्वाद मन पराएका छैनन् । प्रधानमन्त्री ओली स्वयंले मार्सी भात मीठो नहुने बताएका छन् । भात मीठो नभए पनि ब्रान्ड चलेपछि कसको के लाग्छ ? अहिले मार्सीमय छ सहर । त्यो चामल प्रतिकिलो २ सय १५ रुपियाँमा बिक्री भइरहेको छ । मार्सी चामलको ब्रान्ड हिट हुनु कृषिप्रधान देशका लागि खुसीको कुरा हो । तर, मार्सीको ब्रान्डिङले पोखराको एउटा रैथाने उत्पादन भने ओझेलमा परेको छ । खास ब्रान्डिङ हुनुपर्ने थियो– पोखराको पामेमा मात्र फल्ने जेठो बूढो धान । तर, मार्सीको माहोलले चामलमध्येकै मीठो जेठो बूढोमाथि भने ठूलो अन्याय भएको छ । मार्सी खोज्नेहरुले एकपटक जेठो बूढोको स्वाद पाउने हो भने उनीहरु मार्सी होइन, जेठो बूढोकै ब्रान्ड एम्बेसडर बन्ने पक्का छ । तर, के जेठोबूढो चर्चित हुन दुर्गा प्रसार्इं, केपी ओली वा प्रचण्ड चाहिने हो ?

व्यथा एउटा, विधि अर्को

टाउको दुखेको औषधी नाइटोमा । यो उखान यसपटक आफ्नै शरीरमा लागू भयो । एक महिनाअघि घाँटीमा हल्का दुखेर अस्पताल गएँ । डाक्टरले भने, “टन्सिल बिग्रेछ, तुरुन्त अपरेसन गर्नूस्, नत्र गार्‍हो होला ।” घाँटीको अल्ट्रासाउन्ड गरेर उनले तोकेकै डाक्टरलाई देखाएँ । ती डाक्टरले भने, ‘‘अपरेसन गर्नुपर्दैन, धेरै चिसो नखानू, ठीक हुन्छ ।’’

नाक, कान घाँटीका विशेषज्ञ चिकित्सकले नै भनेपछि अपरेसन गर्नुपरेन भनेर ढुक्क भएँ । तैपनि, निको भएन । त्यसपछि चिनेजानेको डाक्टरको सल्लाह लिन फेरि अस्पताल गएँ । उनले ५ दिनको एन्टिबायोटिक दिए । खाएँ, ठीक भएन । फलोअपमा गएँ । उनले एलर्जीको १० दिने औषधी दिए । अझै निको भएन ।

नामी अस्पतालमा काम गर्ने तीन विशेषज्ञ चिकित्सकको सल्लाह र उपचारले काम नगरेपछि विकल्प  खोजेँ । फेला परे– नाक, कान, घाँटीका वरिष्ठ चिकित्सक डा रुपेशराज जोशी । जोशीले पहिलो दृश्यमै औषधी फर्माए । उनले दिएको औषधीको पहिलो डोजबाट नै राहत मिल्यो । औषधी अझै जारी छ । लाग्छ, नेपालमा रोग पहिचान गरेर सही उपचार पाउन निकै कठिन छ । बिरामीलाई ट्रायलमाथि ट्रायल गरेकै कारण नेपालीको गन्तव्य नयाँदिल्ली र विदेशी सहर बन्न थालेका छन् । तर, सरकारको प्राथमिकतामा स्तरीय स्वास्थ्य सेवा अझै पर्न सकेको छैन ।

सत्कर्मी सत्याग्रही

धेरैले वरिष्ठ अर्थोपेडिक सर्जन डा गोविन्द केसीलाई मेडिकल शिक्षा सुधारका लागि अनशन बस्ने डाक्टरका रुपमा मात्र चिन्छन् । तर, उनको व्यक्तित्वको बडो रोचक पाटो पनि छ, जुन धेरैलाई थाहा नहुन पनि सक्छ ।

६२ वर्षका यी अविवाहित डाक्टर शिक्षण अस्पताल महाराजगन्जकै प्राध्यापक क्वाटरमा बस्छन् । उनले अहिलेसम्म कुनै निजी क्लिनिक सञ्चालन गरेका छैनन् । बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म शिक्षण अस्पतालमै बिरामीको सेवा र प्राध्यापनमा हुन्छन् ।

आफूले पाउने तलबबाट बचाएर वर्षमा कम्तीमा दुईपटक राजधानीबाहिरका स्वास्थ्यकर्मीलाई हाडजोर्नी सम्बन्धी प्रशिक्षण सञ्चालन गर्छन् । राजधानीबाहिर जाँदा उनी निजी खर्चमै बिरामीको उपचार गर्न भ्याउँछन् । केसी देशका ७७ जिल्ला घुमिसकेका चिकित्सक हुन् । उनले आफ्नो लगानीमा ५५ भन्दा बढी जिल्लामा स्वास्थ्य शिविर तथा प्रशिक्षण सञ्चालन गरिसकेका छन् । यो सबै काम उनी व्यक्तिगत सन्तोषका लागि गर्छन् ।

स्वयंसेवक चिकित्सकका रुपमा केसीले बिरामीको सेवा देशभित्र मात्र गरेका छैनन् । उनले प्राकृतिक प्रकोपबाट मानवीय संकट आउँदा भारत, इन्डोनेसिया, म्यानमार, हाइटीलगायतका देशमा पुगेर स्वयंसेवी चिकित्सकका रुपमा मानव सेवा गरेका छन् । देशले बिरलै पाउँछ यस्ता सत्कर्मी सत्याग्रही ।

प्रकाशित: श्रावण १८, २०७५

ट्याग: नोटबुक