मातृभूमिप्रतिको समर्पण

- जीवा लामिछाने

विदेशमा बस्ने नेपाली समुदाय छोटो अवधिमै डायस्पोराको रूपमा विकसित भइसकेको छ । ब्रिटिस गोर्खामा भर्ती हुने परम्परा करिब २ सय वर्षअगाडि नै सुरु भए पनि विदेसिने नेपालीको संख्या निकै सीमित थियो । ०४६ को परिवर्तनपछि मात्र ठूलो संख्यामा नेपाली विदेश जान थालेका हुन् । विविध कारणबाट आफ्नो थातथलो छाडेर विदेशलाई पहिले कर्मभूमि र पछि स्थायी बासस्थान बनाए पनि मूल देश त सधैँ तिनको मातृभूमि नै हुने रहेछ । र, उनीहरू मूल देशसँग जोडिएको जरालाई अझ सुदृढ बनाउन चाहने रहेछन् । त्यसैले आफ्नो मातृभूमिको सामाजिक र आर्थिक रुपान्तरणमा विशेष योगदान पुर्‍याउने चाहना संसारभरिका डायस्पोराको समान चरित्र हो । मूल देशको समग्र उन्नतिका आधारमा विदेशमा आफ्नो मूल्यांकन हुने भएकाले मातृभूमिको शान्ति, समृद्धि र विकासमा योगदान दिनुलाई संसारका प्राय: सबै डायस्पोराहरू आफ्नो कर्तव्य ठान्छन् । विदेशमा बस्ने नेपाली समुदाय पनि नेपालको समृद्धि र प्रगतिप्रति समर्पित र संगठित भएर लागेका छन् ।

गैरआवासीय नागरिकले आफ्नो मूल देशलाई अप्ठेरो पर्दा गर्न सक्ने योगदान सम्बन्धमा एउटा उदाहरण प्रस्तुत गर्न चाहन्छु ! सन् १९९८ मा भारतले पोखरणमा दोस्रो आणविक परीक्षण गरेपछि अमेरिकालगायत पश्चिमा राष्ट्रहरूले भारतविरुद्ध आर्थिक नाकाबन्दी लगाउने घोषणा गरे । यो घोषणासँगै केन्द्रीय बैंकमा वैदेशिक मुद्रा सञ्चिति घट्दै जान थाल्यो । यस असहज परिस्थितिलाई दृष्टिगत गरी स्टेट बैंक अफ इन्डियाले प्रवासी भारतीयलाई लक्षित गरेर २ अर्ब डलर बराबरको रिसर्जेन्ट इन्डिया बन्ड (आरआईबी) जारी गर्ने घोषणा गर्‍यो । प्रवासी भारतीयले सरकारले जारी गरेभन्दा दोब्बर बन्ड खरिद गर्न आवेदन दिएर संकटको त्यस घडीमा भारत सरकारको मनोबल उच्च बनाइदिएका थिए । तेलको मूल्यमा हुने फेरबदल, भारतीय मुद्राको स्थिरता र अर्थतन्त्रलाई दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्ने उद्देश्यले रिजर्भ बैंक अफ इन्डियाले प्रवासी भारतीयलाई लक्षित गरी सन् २०१९ सम्ममा ३० देखि ३५ अर्ब डलरसम्मको एनआरआई बन्ड जारी गर्ने तयारी गरिरहेको छ । यहाँ यो उदाहरण प्रस्तुत गर्नुको उद्देश्य ४–५ पुस्तादेखि विदेशमा स्थापित भइसकेको प्रवासी भारतीय समुदायभैँm हामी पनि स्रोतसम्पन्न छौँ भन्न खोजिएको कदापि होइन । तर, देशलाई अप्ठेरो पर्दा क्षमता अनुरूप केही गर्नुपर्छ भन्ने भावना प्रवासी नेपाली समुदायमा पनि उच्च छ भन्न खोजिएको हो । विश्वको जुनसुकै कुनामा रहे पनि आ–आफ्नो क्षमता अनुसार केही योगदान गर्नुपर्छ भन्ने सकारात्मक सोच सबै नेपालीमा समान रूपमा रहिआएको छ ।

पहिलो पुस्ता भए पनि नेपाली डायस्पोराले छोटो समयमा गरेको प्रगतिलाई कम आँक्न मिल्दैन । कतिपय बहुउद्देश्यीय कम्पनीका उच्च तहमा अहिले नेपालीलाई भेट्न सकिन्छ । त्यसैगरी विश्वका प्रतिष्ठित विश्वविद्यालय र अनुसन्धान प्रतिष्ठानहरूमा नेपाली समुदायको गर्विलो उपस्थिति देखिइसकेको छ । केही समययता व्यापार, व्यवसायमा उल्लेख्य प्रगति गर्ने नेपालीको संख्यामा व्यापक वृद्धि हुँदैछ । केही अग्रज नेपालीको सफलताको कथाले अरू नेपालीलाई पनि आफ्नो क्षमताले केही सुरुआत गर्नुपर्ने रहेछ भन्ने भावना जगाइदिएको छ । जोखिम लिनुको सट्टा जागिर खाएर ढुक्कको जीवन गुजार्ने मानसिकतालाई अलिकति जोखिम होस् तर उद्यमी नै बन्नुपर्छ भन्ने भावनाले विस्थापित गर्दैछ ।

अहिले नै नेपालमा धेरै काम गरिरहेको गैरआवासीय नेपाली समुदाय संख्यात्मक र गुणात्मक रूपमा यसरी बढ्दै जाँदा आगामी १०–१५ वर्षभित्र नेपालमा अझ महत्त्वपूर्ण योगदान गर्ने हैसियत बनाउन सक्ने अनुमान सहजै गर्न सकिन्छ । यसरी उदीयमान भएर आइरहेको नेपाली समुदायलाई नेपालको उन्नतिमा आबद्ध गर्न सकिए नेपालको आर्थिक रुपान्तरण सहज र चाँडो हुनेमा कुनै सन्देह छैन । विदेशमा विभिन्न व्यवसायमा संलग्न हुने नेपालीको संख्यामा निरन्तर वृद्धि हुनुले डायस्पोरा अब नयाँ उचाइतिर उन्मुख भएको इंगित गर्छ । आफ्नो मातृभूमिको समृद्धिमा ठूलो योगदान दिइरहेका विश्वका अन्य डायस्पोराहरूको विकास पनि यसरी नै भएको इतिहास भएकाले नेपाली डायस्पोराको उज्ज्वल भविष्यलाई अहिले नै आँकलन गर्न सकिन्छ ।

वैदेशिक रोजगारीले मुलुकको अर्थतन्त्रमा पुर्‍याएको योगदान अतुलनीय त छँदै छ । अमेरिका, बेलायत, जापान, अस्ट्रेलिया र युरोपका विभिन्न मुलुकमा बसोबास गर्ने नेपाली समुदायले आफ्ना घरपरिवार र आफन्तजनलाई सहयोगस्वरूप पठाएको रकमले पनि उनीहरूको जीवनस्तरमा फड्को मारेको छ । देशमा विद्यमान बेरोजगारीलाई न्यूनीकरण गर्न बहुआयामिक उपाय अझै अपनाउन सकिएको छैन । हजारौँको संख्यामा मुलुकको युवाशक्ति रोजगारीका लागि विदेसिँदा राष्ट्रको आर्थिक विकासमा प्रतिकूल असर पर्नु स्वाभाविक भए पनि देशको कुनै लगानीबिना तिनले विदेशमा सिकेको ज्ञान, सीप, प्रविधि र प्रस्फुटनलाई सही ढंगले सदुपयोग गर्न सके समृद्ध नेपालको परिकल्पना साकार पार्न धेरै सहज हुनेछ । दोस्रो पुस्ताको नेपाली समुदाय अझ सशक्त रूपमा देखा पर्दै गएको छ । यो पुस्ताले विदेशमा पहिलो पुस्ताभन्दा बढी अवसर प्राप्त गरेकाले उनीहरूले आफ्ना मातापिताको जन्मभूमिप्रति गर्न सक्ने योगदान अझै बढी हुने निर्विवादित छ ।

लामिछाने गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष हुन् ।

प्रकाशित: श्रावण १७, २०७५