मल्लिकाको दृष्टि

- नेपाल टिम

मल्लिका शाक्य, भारत

भारत, नयाँदिल्लीको साउथ एसियन विश्वविद्यालयको समाजशास्त्र संकायकी उपप्राध्यापक हुन्, डा मल्लिका शाक्य, ४५ । विशेषज्ञताले उनी समाजशास्त्री मात्र नभएर मानवशास्त्री पनि हुन् । उनले त्यहाँ प्राध्यापन गर्न थालेकै करिब ६ वर्ष पुग्न लाग्यो ।

हालै उनको डेथ अफ एन इन्डस्ट्री : कल्चरल पोलिटिक्स अफ गार्मेन्ट म्यानुफ्याक्चरिङ डिउरिङ माओइस्ट रिभोलुसन इन नेपाल  शीर्षकको पुस्तक पनि प्रकाशित भएको छ । यस पुस्तक उनको पीएचडी थेसिसकै विषयमा आधारित छ । औद्योगिकीकरणलाई मानवीय परिप्रेक्ष्यबाट हेर्ने प्रयासले पुस्तकाकार लिएको उनी बताउँछिन् । भन्छिन्, “सात वर्षसम्म विश्व बैंकमा काम गरेको अनुभवले पनि मलाई सघायो ।”

विश्व बैंक मात्र होइन, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थामा आबद्ध भएर काम गरिसकेको अनुभव शाक्यसँग छ । आर्थिक मुद्दामा मानवीय पक्ष केलाउने पहिलेदेखिको लालसाले उनलाई अध्ययन र जागिरका लागि स्कट्ल्यान्ड, अक्सफोर्ड, प्रिटोरिया, वासिङ्टन डिसी र नयाँदिल्ली पुर्‍यायो । विदेशमा केही समय बिताएपछि उनको एउटै इच्छा थियो, घर फर्कने । तर, विदेशी जीवनशैली त्यागेर घरको बाटो रोज्न सोचेभन्दा गाह्रो भयो । भन्छिन्, “अझै स्वअध्ययन गर्दै, आफूले रोजेको क्षेत्रमा दक्षता हासिल गर्दै जानु थियो । घर फर्किएको भए निकै गाह्रो हुन्थ्यो ।”

दक्षिण अफ्रिकाको राजधानी प्रिटोरियामा कार्यरत रहँदा उनलाई त्यही ठाउँ नै आफ्नो घरजस्तो लाग्थ्यो । एसियाली र अफ्रिकी परिवेशमा उनले खासै भिन्नता पाइनन् । तर, त्यहाँबाट नेपाल आवतजावत गर्न भने समस्या हुने । त्यसैले अहिले नयाँदिल्ली नै उनको घर हो । सुनाउँछिन्, “धेरै नेपाली छन् यहाँ, भारतमा बसेजस्तो ‘फिल’ नै हुँदैन ।”

संस्कृति, भाषा, रहनसहन उस्तै, त्यसमाथि आवतजावत गर्न भिसा नचाहिने । दिल्ली र आफ्नो जन्मथलो पाटन उनलाई उस्तै–उस्तै लाग्छन् । सोमबार र मंगलबार दुई–दुई घन्टा पढाउँछिन् । बाँकी समय अध्ययन र आफैँले सञ्चालन गरेको गल्र्स होस्टलको व्यवस्थापनमै बित्छ । भन्छिन्, “अझ अहिले छोरी हुर्कंदै गएपछि भारतीय विद्यालयका विभिन्न शैक्षिक र मानवीय पक्ष पनि अध्ययन गर्न थालेकी छु ।”

भारतका विद्यालयले विद्यार्थीलाई सानै उमेरदेखि पाठ्यक्रमका अतिरिक्त व्यावहारिक पक्ष पनि सिकाउने गरेको उनले पाएकी छन्, जसको अनुसरण उनी नेपालमा पनि भएको देख्न चाहन्छिन् । संक्रमणकालीन अवस्थाबाट नेपाल तंग्रिन थालेको धेरै भएको छैन । “यसै क्रममा आर्थिक उन्नतिका बहस चलिरहँदा मैले पनि त्यो डिस्कोर्स पछ्याएकी हुँ,” उनले सुनाइन् । नेपालको औद्योगिक क्षेत्र अधोगतितर्फ लाग्दा त्यसले असर पारेको मानवीय पक्षमा धेरै अध्ययन–अनुसन्धान नभएकाले पनि यस विषयमा हात हालेको उनी बताउँछिन् ।

नेपालमा भएका महिला मानवशास्त्री र समाजशास्त्रीको सानो संख्यामा आफू पनि अटाएको पाउँदा उनी हर्षित छिन् । नेपालका औद्योगिक क्षेत्रमा आबद्ध भएका कारिन्दाका पारिवारिक तथा सामाजिक पृष्ठभूमिले उद्योग, व्यवसायमा के–कस्तो भूमिका खेल्छ भन्ने विषयमा आधारित भई उनले पुस्तक त तयार पारिन् । तर, सबै तथ्य केलाउन अझै बाँकी रहेको उनलाई लाग्छ । यसमा थप अध्ययन–अनुसन्धान गर्दै जाने लक्ष्य उनको छ ।

प्रकाशित: श्रावण १७, २०७५