नीति निर्माण तहमा

- नेपाल टिम

द्रोणप्रकाश रसाली, क्यानडा

क्यानडाको रोजाइना विश्वविद्यालयका आमन्त्रित प्राध्यापक हुन्, डा द्रोणप्रकाश रसाली । त्यहाँ उनी मानव स्वास्थ्यको अनुसन्धानबाट फेला परेका नयाँ तथ्य विद्यार्थीसमक्ष बाँड्छन् । रसालीको मूल काम नै नसर्ने रोगहरूको अवस्था अध्ययन गरी त्यसबाट फेला परेका तथ्यका आधारमा निराकरणको उयाय पत्ता लगाउन क्यानडेली सरकारलाई सघाउने हो । यो विषयमा क्यानडेली सरकारको नीति निर्माण तहमा पुग्ने उनी पहिलो नेपाली हुन् ।

उनी अहिले क्यानडाको ब्रिटिस कोलम्बिया राज्यस्थित स्वास्थ्य सेवा प्राधिकरणको निर्देशक छन् । ६ वर्षअघि खुल्ला प्रतिस्पर्धाबाट रसाली त्यो पदमा पुगेका हुन् । यो पद क्यानडा सरकारको सहसचिव सरहको पद हो । त्यसअघि उनी क्यानडाकै स्वास्थ्य मन्त्रालयको प्रादेशिक दीर्घरोग अन्वेषक थिए । त्यतिबेला पनि उनले मुख्य गरी दीर्घ रोगले जनस्वास्थ्यमा पारेको असर र परिणामको अन्वेषण गरेर समाधानको बाटो पहिल्याउन प्रादेशिक स्तरमा महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

यतिबेला संसारभरि नै नसर्ने रोगको जोखिम बढ्दै गएको छ । धूमपान, मद्यपान तथा नसालु पदार्थको सेवन, शारीरिक निष्क्रियता, मोटोपन, फलफूल र तरकारीको कम सेवन तथा खाद्य असुरक्षाले नसर्ने रोगको जोखिम संसारभरि नै भयावह भएको रसाली बताउँछन् । त्यसैले उनको अन्वेषणको क्षेत्र महत्त्वपूर्ण छ ।

०४६ सालमा नेपाल सरकारको वरिष्ठ वैज्ञानिक पद छाडेर क्यानडा हानिएका रसालीले त्यहाँको म्यानिटोभा विश्वविद्यालयबाट चार वर्ष लगाएर जेनेटिक्स इपीडीमोलोजीमा विद्यावारिधि गरे । त्यसपछि उनले केही समय मानव र पशु स्वास्थ्यमा काम गरे । पछिल्लो समय रसालीको मुख्य काम नसर्ने रोगहरूको अध्ययनमै केन्द्रित छ । भन्छन्, “नसर्ने रोगहरूको कारण, परिणाम र समाधान पहिल्याउने अनि क्यानडा सरकारलाई नीति निर्माण गर्न सहयोग गर्छु । ”

नसर्ने रोगको अन्वेषणमा विशेषज्ञता हासिल गरेकै कारण रसालीलाई ६ वर्षअघि अमेरिकी कलेजले फेलो अफ इपिडियोमोलोजीको मानार्थ सम्मान दिएको छ । रसालीले पाएको सम्मानलाई विश्वमा उच्च पेसागत सम्मानको रूपमा लिने गरिएको छ ।

पाल्पाको दुर्गम गाउँ हुमिनमा जन्मेका रसाली सुरुदेखि नै प्रतिभावान छात्र थिए । प्राथमिक र माध्यमिक शिक्षा पाल्पाबाट पूरा गरेका उनी ०२८ मा एसएलसी बोर्ड प्रथम भए । भन्छन्, “एसएलसीमा प्रथम श्रेणी आउला भनेको त बोर्ड प्रथम नै भएँ । त्यो अनुमान नगरेको उपलब्धि थियो, राम्रो शैक्षिक वातावरणकै कारण मैले अहिलेको पेसागत उचाइ हासिल गरेको हुँ ।”

एसएलसीपछि उनले अमृत साइन्सबाट आईएस्सी गरे भने भारतको बेङलोरबाट भेटेनरीमा बीएस्सी गरे । त्यसपछि उनले फिलिपिन्सबाट फिजिओलोजी र एनिमल जेनेटिक्समा स्नातकोत्तर गरे । त्यसको केही समयपछि उनले अस्ट्ेरलियाबाट छोटो अवधिको तालिम पनि लिए । यी सबै प्राज्ञिक तथा सीप सम्बन्धी अध्यक्ष प्रशिक्षणले उनको पेसागत क्षमता विस्तार भयो । स्नातक र स्नातकोत्तरपछि भने रसालीले नेपालमै सुरुमा भेटेरिनरी चिकित्सक र पछि वरिष्ठ वैज्ञानिकको रूपमा १६ वर्ष सरकारी सेवा गरे ।

क्यानडामा अहिले नसर्ने रोगको अनुसन्धानमा केन्द्रित भए पनि रसालीको पुरानो परिचय भने भेटनरी चिकित्सक नै हो । त्यो पहिचान र उनको रुचिका कारण रसाली आठ वर्षअघिदेखि नेदरल्यान्डबाट प्रकाशित हुने स्मल रुमिनेन्ट रिसर्च जर्नलका अन्तर्राष्ट्रिय सम्पादक मण्डलका सदस्य छन् ।

कर्मथलो क्यानडा भए पनि रसालीको नेपाल नाता भने कायमै छ । उनले नेपालमा खुल्ला विश्वविद्यालयको स्थापना गर्न महत्त्वपूर्ण योगदान गरेका छन् । भन्छन्, “शिक्षामा आमूल परिवर्तन नै जरुरी छ भनेर हामीले नै नेपालमा खुल्ला विश्वविद्यालयको अवधारणा बनाउने गृहकार्य गरेका हौँ । त्यो अघि बढेकोमा खुसी छु ।”

प्रकाशित: श्रावण १७, २०७५